सुर्खेतसहित १४ जिल्ला कोरोनाको उच्च जोखिममा

विद्यालय नजान सरकारको अपील

सुर्खेतसहित १४ जिल्ला कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिममा रहेको पाइएको छ । यी जिल्ला संक्रमणबाट अति प्रभावित क्षेत्रमा परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुर्खेत, बाँके, दाङ, काठमाडौं, ललितपुर, कास्की, रूपन्देही, चितवन, पर्सा, भक्तपुर, कैलाली, मोरङ, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको हो ।

कोरोना संक्रमण तीव्र गतिमा बढेका कारण यी जिल्लालाई सरकारले अति प्रभावित क्षेत्रमा राखिएको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीकाअनुसार मन्त्रालयले यस क्षेत्रमा बालबालिकालाई विद्यालय नपठाउन समेत अपिल गरेको छ । अति प्रभावित भनी वर्गीकरण गरेका जिल्लाहरूमा बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरू अविलम्ब बन्द गर्नुपर्ने मन्त्रालयले जनाएको हो ।

‘विद्यालय, रात्री व्यवसाय, ७ बजेपछि सबै रेष्टुरेण्ट तथा क्लबहरू, खेलकुद, जीम, सार्वजनिक पूजाआजा तथा जात्राहरू, सभा सम्मेलन, बैठक तथा भेलाहरू, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थानमा सहभागी नभइदिन मन्त्रालयले आग्रह गरेको छ । स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले सबै अस्पतालमा फिवर क्लिनिक सञ्चालन गर्न समेत भनेको छ । सरकारी अस्पताललाई कम्तीमा ५० प्रतिशत वेड कोभिड–१९ का लागि छुट्याउने र निःशुल्क उपचार सेवा प्रवाह गर्न निर्देशन दिएको छ ।

प्रकाशित मितिः   ३ बैशाख २०७८, शुक्रबार ०९:२०