हुम्लामा पहिलो पटक बजार अनुुगमन

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले हुम्लामा पहिलो पटक बजार अनुगमन गरेको छ । कार्यालय स्थापना भएको तीन वर्षपछि हिमाली जिल्ला हुम्लामा खाद्य सामग्रीको अनुगमन गरिएको हो ।

सबै सामग्री एकै ठाउँमा राखेर बेच्ने, म्याद नाघेका खाद्य सामग्री बिक्री गर्ने र व्यवसाय नै दर्ता नगरेर सञ्चालन गरिएको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख भेषबहादुर थापाले हुम्लामा पहिलो पटक बजार अनुगमन गरिएको जानकारी दिए । उनकाअनुसार सदरमुकाम सिमिकोटमा १४ वटा खाद्य पसल र केही होटलहरूको अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको नेतृत्वमा स्थानीय प्रशासन, प्रहरी, उद्योग वाणिज्य संघ, पत्रकारलगायतको टोलीले बजार अनुगमन गरेको थियो ।

अनुगमनको क्रममा व्यवसायहरू दर्ता नगरेर सञ्चालन गरिएको पाइएको छ । साथै अधिकांश पसलमा म्याद गुज्रिएका सामग्री बिक्री गर्ने गरिएको भेटिएको कार्यालय प्रमुख थापाले जनाए । ‘बजार पनि सानो भएकाले सबै सामग्री एकै ठाउँमा राखेर बेच्ने, म्याद नाघेका खाद्य सामग्री बिक्री गर्ने र व्यवसाय नै दर्ता नगरेर सञ्चालन गरिएको देखियो,’ अनुगमनको क्रममा हुम्लामै रहेका उनले भने । कार्यालयले पहिलो पटक अनुगमन गरेकाले यस्ता लापरबाही र गल्तीहरू सुधार गर्न सुझाव दिइएको उनको भनाइ छ ।

संघीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय खाद्य तथा गुण नियन्त्रण विभाग अन्तर्गत २०७५ सालमा स्थापना भएको ६ जिल्ला हेर्नुपर्ने उक्त कार्यालय तीन वर्षदेखि एक जना कर्मचारीको भरमा छ । ६ जनाको दरबन्दी भएपनि कार्यालयमा एक जना कार्यालय प्रमुख र एक जना कार्यालय सहयोगी मात्रै कार्यरत छन् । कार्यालयको कामले प्रमुख बाहिर जाँदा कार्यालय सहयोगीको भरमा छोड्नुपर्छ ।

सुर्खेतसहित दैलेख, जाजरकोट, रुकुम–पश्चिम, हुम्ला र डोल्पामा कार्यक्षेत्र भएपनि कर्मचारी अभावले कार्यालयलाई एकसरो अनुगमन गर्न पनि हम्मेहम्मे पर्ने गरेको जनाइएको छ । कार्यालयले बजारको अनुगमन, उद्योग सञ्चालनका लागि अनुज्ञा–पत्र दिने, अन्य निकायसँग समन्वय गर्ने लगायतका काम गर्नुपर्ने हुन्छ ।

प्रकाशित मितिः   २ बैशाख २०७८, बिहीबार ०६:०१