नयाँ संकल्प
विक्रम संवत् अनुसार नयाँ वर्ष सुरु भएको छ । अर्थात् वैशाख १ गतेदेखि २०७७ सकिएर २०७८ प्रारम्भ भएको छ । नयाँ वर्षको सुरुवात तिथिमिति वा ऋतु परिवर्तनको प्रक्रिया मात्र होइन, योसँग धेरै कुरा जोडिएका छन् । किनभने नयाँ वर्षलाई उल्लासका साथ मनाउने गरिएको छ । विगतको समीक्षा र भविष्यका लागि नविन संकल्प गर्ने अवसरका रूपमा नयाँ वर्षको सुरुवात हुने गर्दछ । बितेको वर्ष सुखद् रहन सकेन । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९)को महामारीले नेपाल पनि आक्रान्त बन्यो । महामारी रोकथाम तथा नियन्त्रण गर्न लामो समय लकडाउन गर्नुप¥यो । जसका कारण सबैजसो क्षेत्र प्रभावित बने । शैक्षिक संस्था ठप्पप्रायः रहे भने लाखौं श्रमिकहरूले रोजगारी गुमाए । कोरोनाकै कारण शिक्षा, स्वास्थ्य, खेलकुद, व्यापार व्यवसाय, पर्यटन र समग्र विकासमै बाधा पुग्यो । यति मात्र होइन धेरैले ज्यान समेत गुमाए ।
कोरोना संक्रमणको जोखिम अझै टरेको छैन । दैनिक कोरोनाका नयाँ संक्रमित पुष्टि हुने गरेका छन् । एक वर्षभन्दा बढी समयदेखि जनजीवन प्रभावित छ । महामारीको त्रासले सबै क्षेत्र अस्तव्यस्त छन् । भर्खरै लयमा फर्किन थालेको जनजीवन पुनः प्रभावित बन्ने देखिएको छ । दोस्रो लहरको संक्रमण फैलिने जोखिम कायमै रहेको चिकित्सकहरूले औल्याएका छन् । सरकारले फेरि सतर्कता अपनाउन आग्रह गरिरहेको अवस्था छ । महामारीले त गत वर्ष पूर्ण रूपमा प्रभावित बन्यो नै अर्कोतर्फ नेपालको राजनीतिमा पनि अनेक उतारचढाप आए । राष्ट्रिय राजनीतिमा एकपछि अर्को तरङ्ग ल्याउने गतिविधि भइरहे । कतिसम्म भने कार्यकाल सकिन नपाउँदै प्रतिनिधिसभा विघटनसम्म पुग्यो । पाँच वर्षका लागि निर्वाचित प्रतिनिधिसभाको कार्यकाल दुई वर्ष बाँकी रहँदै प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरिदिएका थिए । यसले नेपालको राजनीतिमा नयाँ तरङ्ग ल्यायो । यद्यपि संसद् विघटन असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा पुनस्र्थापना गरिदियो । यसपछि पनि राजनीति सहज हुन सकेन । प्रतिनिधिसभा ब्यँुतिएसँगै सतारुढ दल नेकपाको कलह झनै चुलियो । दल आधिकारिताको विवाद अदालतसम्म पुग्यो । सर्वोच्चमा परेका रिटमाथि सुनुवाइ गर्दै अदालतले नेकपा एमाले र माओवादी केन्द्र एकता गरेर बनेको सत्तारुढ पार्टी नेकपा नै खारेज गरिदियो । सर्वोच्चको फैसलाले राजनीतिमा थप जटिलताहरू देखिए, त्यसको असर अहिले पनि परिरहेकै छ । अदालतले एमाले र माओवादी केन्द्रलाई पूर्ववत् रूपमै फर्काइदिएको छ ।
राजनीतिक अस्थिरता, अनिश्चययुक्त जीवनका साथ हामीले वि.सं. २०७७ लाई बिदा गरिसकेका छौं । अब अर्को वर्ष २०७८ सुरु भइसकेको छ । नयाँ वर्षमा नयाँ संकल्प गर्ने गरिन्छ । हरेक व्यक्तिले आफ्नो सुखद् जीवनका लागि यस्ता अनेक संकल्पन गर्ने गर्दछन् । यो अवसरमा अब सबैले मुलुकको सुरक्षित आगामी भविष्यका लागि पनि संकल्प गर्नुपर्ने भएको छ । पुनः फैलिन थालेको कोरोना महामारीसँग जुध्दै मुलुकलाई अस्थिरताबाट मुक्त गर्ने संकल्प र सोहीअनुसारको प्रयास अपरिहार्य छ ।
प्रकाशित मितिः २ बैशाख २०७८, बिहीबार ०६:००
साझा बिसौनी ।