थप चार जनामा संक्रमण

कर्णाली प्रदेशमा चार जना कोरोना भाइरस ‐कोभिड–१९) का संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार बुधवार १६ जनाको परीक्षण गर्दा चार थप चार जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित सबै सुर्खेतका हुन ।

योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या सात हजार ६ सय ४४ पुगेको छ । सक्रिय संक्रमितको संख्या भने ४० जना रहेको छ । पछिल्ला दिनहरूमा कोरोना संक्रमणको दर बढेको निर्देशनालयले जनाएको छ ।

यस्तै, बुधवार देशभर नयाँ ६ सय तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चार हजार दुई सय ८९ जनाको पीसीआर परीक्षण गर्दा पाँच सय ८० जना र चार सय ५१ जनाको एन्टिजेन विधिबाट जाँच गर्दा २३ जना गरी सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो तथ्याङ्कअनुसार नेपालमा चार हजार ५६ जना सक्रिय संक्रमित छन् । तीमध्ये ८० जनाको आइसीयू र २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधवार तीन जनाको ज्यान गएसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या तीन हजार ६१ पुगेको छ ।

प्रकाशित मितिः   २ बैशाख २०७८, बिहीबार ०६:००