अज्ञात रोगले थला परे विद्यार्थी

जुम्ला: जुम्लाको तातोपानी गाउँपालिका–७ ताम्तीमा अज्ञात रोग फैलिएको छ । अज्ञात रोगका कारण यहाँका केही विद्यार्थी र गाउँलेहरू थला परेका छन् । जनजागृति माध्यमिक विद्यालय ताम्तीका २६ जना छात्रछात्रामा एकैसाथ अज्ञात रोग देखिएको हो ।

विद्यालयमा वार्षिक परीक्षा दिइरहेका विद्यार्थीमा एकाएक टाउको दुख्ने, ज्वरो आउने र पेट दुख्ने लक्षण देखिएको विद्यालयका प्रधानाध्यापक जनक रावतले बताए । चैत २३ गते परीक्षामा अनुपस्थित छात्र २४ गते अचेत अवस्थामा भेटिएका थिए । त्यसपछि धमाधम अन्य विद्यार्थीमा पनि अज्ञात रोगको प्रकोप देखिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक रावतका अनुसार अहिले बिरामी विद्यार्थीलाई घरमै बस्न भनिएको छ । ‘निको नहुञ्जेल उनीहरूलाई विद्यालय नआउन भनेका छौं । अरु विद्यार्थीलाई रोग सर्ने जोखिम भएकाले घरमै बस्न भनिएको हो,’ उनले भने ।

विद्यार्थी र अभिभावकहरू बिरामी पर्न थालेपछि गाउँ नै त्रसित बनेको स्थानीयले बताएका छन् । समयमै रोगको पहिचान र निदान नभए भयावहस्थिति आउन सक्ने तातोपानी गाउँपालिका–७ का अध्यक्ष मक्करबहादुर रावतले बताए । गाउँमा स्वास्थ्य उपचारको प्रबन्ध समेत राम्रो नभएको उनले जनाए । ‘गाउँलेहरू अहिले निकै डराएका छन् । अज्ञात रोगले तीव्र रूपमा थला पार्न थालेको छ,’ उनले भने । लामो समय खडेरी पर्दा मौसमका कारण पनि विभिन्न स्वास्थ्य समस्या देखिन थालेको उनको भनाइ छ । ताम्तीको छिमेकी गाउँमा समेत यस्तो खालको स्वास्थ्य समस्या देखापर्न थालेको बताइएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रास भइरहेकाबेला यहाँका स्थानीयहरू अज्ञात रोगले थप सशंकित भएका छन् ।

प्रकाशित मितिः   १ बैशाख २०७८, बुधबार ०६:०३