विद्यालय बन्द गर्न सिफारिस
कोरोनाको दोस्रो लहर
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को नयाँ लहर फैलिएको बताएको छ । मन्त्रालयले शिक्षण संस्थाहरूको प्रत्यक्ष पठनपाठन, फिल्म हल र पार्टी प्यालेस बन्द गर्न सिफारिस गरेको हो ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकमा सिफारिसमाथि छलफल हुने बताए । मन्त्री त्रिपाठीका अनुसार नयाँ खाले युके भेरियन्टको असर युवाहरूमा देखिएको छ । ‘हामीले पठनपाठन भर्चूअल माध्यमबाट गरौं भनेर विद्यालयहरू बन्द गर्न सिफारिस गरेका छौं,’ मन्त्री त्रिपाठीले भने, ‘बालबालिकाहरूलाई कुनै जोखिम नहोस् भन्नेमा सरकार गम्भीर छ ।’
स्वास्थ्य मापदण्डमा सबै सचेत नहुने हो भने अवस्था फेरि भयावह हुने मन्त्रालयले जनाएको छ । कोभिड–१९ को प्रकोप पुनः बढ्दो क्रममा रहेकाले सरकारले सजकता अपनाउन अनुरोध गरेको छ । पछिल्लो समय भारतमा कोभिड संक्रमण दर बढ्दै गएको छ । खुला सीमानाका कारण नेपालमा पनि जोखिम बढेकोले सचेत हुनुपर्ने जनस्वास्थ्य विज्ञहरूले बताएका छन् ।
प्रकाशित मितिः २८ चैत्र २०७७, शनिबार ०६:००
साझा बिसौनी ।