नेपालमा कोरोनाको नयाँ भाइरस

नेपालमा कोरोनाको नयाँ भाइरस फैलिँदो क्रममा रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखा प्रमुख डा. कृष्ण पौडेलले केही दिनयता कोरोनाको संक्रमण संख्या बढ्नुमा नयाँ भेरियन्ट जिम्मेवार रहेको संकेत गरे ।

स्वास्थ्य मन्त्रालयको प्रेस बिफिङमा डा. पौडेलले ‘युके भेरियन्ट’ नेपालमा देखिसकेको पुष्टि गरे । ‘नमुना परीक्षणमा युके भेरिन्यटसँग मिल्दोजुल्दो भाइरस देखिएका छन् । यसले ६ हप्ताभित्र संक्रमण संख्या बढ्ने निश्चित छ,’ डा. पौडेलले भने । हाल विश्वभर तीन प्रकारका कोरोनाका प्रकार चर्चामा छन् । बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा देखिएका भाइरस बढी संक्रामक रहेको पाइएको छ । तिनै भेरिन्यट भारतमा फैलिएको हुँदा नेपालमा पनि थप जोखिम रहेको डा. पौडेलले बताए । ‘यी भाइरसले छिट्टो संक्रमण फैलाउँछ । कम उमेरका व्यक्तिमा पनि बढी जटिलता हुने देखिएको छ,’ डा. पौडेलले भने, ‘जसले गर्दा अस्पतालमा भर्ना हुने दर बढी हुने र अक्सिजन आवश्यकता बढी हुने देखिएको छ ।’ डा. पौडेलले सामाजिक दूरी प्रयोग, व्यक्तिगत सरसफाइ तथा मास्कको प्रयोग गर्न सर्वसाधारणलाई अनुरोध गरे ।

समयमै भिडभाड हुने ठाउँमा कडाइ गर्न सकेनौ भने भोलि स्थिति विकराल बन्दै गएपछि लकडाउन गर्नुको विकल्प छैन,’ डा. पौडेलले भने, ‘त्यसैले जनस्वास्थ्यको मापदण्ड सबैले पालना गरौँ ।’ पछिल्लो हप्तामा विद्यालय जाने उमेरका विद्यार्थीमा संक्रमण भइ अस्पताल भर्ना भएको उनले बताए । विद्यालय तथा भिडभाड हुने ठाउँमा संक्रमण बढ्दो छ । बेलैदेखि नै जनस्वास्थ्य मापदण्ड नअपनाउने हो भने संक्रमण विकराल हुने डा. पौडेलले बताए ।

यसैबीच नेपालमा दुई सय ९८ जना कोरोना संक्रमित थपिएका छन् । हजार एक सय पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । बुधवार थपिएका संक्रमितसँगै नेपालमा संक्रमितको संख्या दुई लाख ७८ हजार सात सय ६८ पुगेको छ ।

बुधवार नै ७४ जना कोरोनामुक्त भएका छन् । हालसम्म दुई लाख ७३ हजार पाँच सय २९ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या तीन हजार ३८ छ ।

त्यस्तै दुई हजार दुई सय एक जना आइसोलेसनमा र ६५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २२ लाख ९८ हजार एक सय ६७ पीसीआर परीक्षण भएका छन् ।

प्रकाशित मितिः   २६ चैत्र २०७७, बिहीबार ०६:००