प्रदूषण रोक्न अन्तरिम आदेश

वीरेन्द्रनगर उपत्यकामा बढ्दै गएको प्रदूषण रोक्न परेको रिटमा अदालतले अन्तरिम आदेश जारी गरेको छ । उपत्यकामा निर्माण भइरहेको सडकको धुलो र धुवाँले वातावरण प्रदूषण भइ जनस्वास्थ्यमा असर परेको भन्दै अधिवक्ता शेरबहादुर खत्रीले मंगलवार उच्च अदालत सुर्खेतमा रिट दर्ता गराएका थिए  । सोही रिटको सुनुवाइ गर्दै बुधवार न्यायाधीश राजेन्द्रप्रसाद खरेलको एकल इजलासले निर्माणाधीन सडकमा नियमित पानी हाल्न र वातावरणीय स्वच्छता कायम राख्ने मापदण्ड कार्यान्वयन गर्न अन्तरिम आदेश दिएको हो ।

नेपालको संविधानको धारा ३० (१) ले प्रत्येक नागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार प्रत्यायोजन गरे पनि वीरेन्द्रनगरका सडकको धुलो र धुवाँले नागरिकको स्वास्थ्यमा असर परेको कारण रिट हाल्न बाध्य भएको अधिवक्ता खत्रीले बताए । उनले आफूले मंगलवार हालेको रिटमा बुधवार अदालतले अन्तरिम आदेश गरेको जानकारी दिए । रिटमा कर्णाली प्रदेश सरकारलाई विपक्षी बनाएको थियो । अधिवक्ता खत्रीले मानवीय त्रुटीका कारण वातावरण तथा जनस्वास्थ्यमा परेको असरबाट बच्न पानी हालेर भए पनि धुलो धुवाँ नियन्त्रण गरीपाउँ भनी उच्च अदालत सुर्खेतमा रिट दायर गरेका थिए ।

वीरेन्द्रनगरमा दर्जनौँ सडक निर्माणका क्रममा छन् । सडक निर्माण गर्दा धुलो अत्यधिक बढेको छ । नागरिकहरूले समेत पटक–पटक निर्माण हुँदै गरेको सडकको धुलो मार्न पानी हाल्न सुझाई रहेका छन् । तर सम्बन्धित निकायले यसमा ध्यान दिएको देखिँदैन । वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ का अर्जुन चपाईंले समेत पटक–पटक वडा अध्यक्षलाई बाटोमा पानी हाल्न भन्दा पनि नमानेको बताए । उनले धुलोबाट बच्नको लागि बाटो नै बन्द गर्नुपर्ने परिस्थिति बनेको सुनाए ।

प्रकाशित मितिः   २६ चैत्र २०७७, बिहीबार ०६:००