‘अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कनू’

स्थानीय प्रशासनले अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन नागरिकलाई आग्रह गरेको छ । वायु प्रदूषण बढ्दै गएकोले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको हो ।

मंगलवार एक विज्ञप्तिमार्फत बालबालिका, वृद्धवृद्धाहरूको विशेष ख्याल गर्न समेत आग्रह गरिएको छ । पछिल्लो समय वायु प्रदूषणको दर बढेको कारण सास फेर्न समस्या हुने, आँखा पोल्ने, नाक सुख्खा हुने लगायतका समस्या देखिएकोले त्यसबाट बच्न चिकित्सकहरूले समेत आग्रह गरेका छन् । प्रदूषणबाट बच्नको लागि सकेसम्म घरभित्रै बस्ने, खानपिनमा ध्यान दिने, केटाकेटी र ज्येष्ठ नागरिकको विशेष ख्याल गर्नको लागि प्रशासनले आग्रह गरेको हो । त्यस्तै पछिल्लो समय आगलागीका घटनाहरू समेत बढेकोले यस्ता कार्य नगर्न र नगराउनको लागि प्रशासनले विज्ञप्तीमार्फत आग्रह गरेको छ ।

यसैबीच मंगलवार नै जिल्ला कोरोना विपद् व्यवस्थापन केन्द्र सुर्खेतको बैठक बसेको छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा बसेको बैठकले सीमा नाकाहरूमा कडाई गर्ने, मेला, महोत्सव, वार्षिकोत्सव जस्ता भेला नगर्नेे, चाडपर्वमा भिडभाड नगर्ने, कोरोना भाईरसको संक्रमण रोकथामका लागि सचेतनामूलक सूचनाहरू सञ्चारमाध्यमबाट प्रशारण गर्ने लगायतका निर्णय गरेको हो । त्यस्तै सार्वजनिक यातायातमा सीट क्षमताभन्दा बढी यात्रु नराख्ने, अनिवार्य मास्क र स्यानिटाईजरको प्रयोग गर्ने, भारतलगायतका तेस्रो मुलुकबाट आएका नागरिकहरूलाई अनिवार्य १० दिन होम क्वारेन्टाईनमा बस्नुपर्ने लगायतका निर्णय
गरेको हो ।

प्रकाशित मितिः   २५ चैत्र २०७७, बुधबार ०६:००