सत्ता समीकरणको सकस
प्रदेश प्रमुुखको भूमिकाप्रति माओवादी केन्द्रको आपत्ति, एमाले संसदीय दलको बैठक आज
कर्णाली प्रदेशमा नेकपा एमालेले माओवादी केन्दलाई दिएको समर्थन फिर्ता लिएको दुई साताभन्दा बढी भइसकेको छ । यही चैत ५ गतेदेखि लागु हुनेगरी एमालेले मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । एमालेले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शाही अल्पमतमा परिसकेका छन् । तर, मुख्यमन्त्री शाहीले आफू बहुमतमै रहेको दाबी गर्दै आएका छन् । एमालेको माधव नेपाल पक्षले साथ दिइरहेकाले आफ्नो सरकार बहुमतमै रहेको उनको जिकिर छ ।
माओवादी केन्द्रको शनिवार बसेको संसदीय दलको बैठकले अहिले नै विश्वासको मत लिन आवश्यक नरहेको निश्कर्ष समेत निकालेको छ । बैठकले परिवर्तित राजनीतिक अवस्थाका बारेमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूसँग भने छलफल थालिने बताएको छ ।
माओवादी केन्द्र कर्णाली प्रदेशसभा संसदीय दलका प्रमुुख सचेतक सीताकुमारी नेपालीले सरकारले अहिले नै राजीनामा दिने वा विश्वासको मत लिनुपर्ने अवस्था नरहेको बताइन् । एमाले माधव पक्षको साथ रहिरहेकाले सरकार बहुमतमै रहेको उनले बताइन् । प्रदेशसभामा एमालेका सभामुुखसहित २० जना सांसद् छन् । त्यसमध्ये १० जनाले मात्रै समर्थन फिर्ता लिने निर्णय गरेकाले यसले तत्काल सत्ता समीकरणमा खासै फरक नपर्ने माओवादी केन्द्रको दाबी छ ।
प्रदेशसभामा माओवादी केन्द्रका १३, कांग्रेसका ६ र राप्रपाका एक जना सांसद छन् । अहिलेको अवस्थामा एमालेलाई सरकार बनाउन एक जना सांसद आवश्यक पर्छ । माओवादी केन्द्रबाट निर्वाचित सांसद धर्मराज रेग्मी पनि एमालेमा प्रवेश गरेकाले माओवादी केन्द्रका सांसद अब १२ जना रहनेछन् ।
एमालेले आफ्नो एकल सरकार बनाउने कसरत थालेको छ भने माओवादी केन्द्र नेपाल पक्षको साथ लिएर सरकार टिकाइ राख्ने दाउमा देखिन्छ । तर, माधव पक्षका केही सांसदहरूले पनि सरकारलाई दिएको समर्थन फिर्ता हुने र अब एमालेको एकल सरकार गठन हुने सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् ।
सरकारको बहुमत नगुमेको भन्दै विश्वासको मत माग्नु नपर्ने निश्कर्ष निकालेको माओवादी केन्द्रले आज (आइतवार) बस्ने एमाले संसदीय दलको बैठकको निर्णय कुरेको छ । एमाले दलको बैठकपछि मात्र आफूहरूले थप रणनीति तय गर्ने माओवादी केन्द्रकी प्रमुख सचेतक नेपाली बताउँछिन् । ‘सरकार बहुमतमै छ भन्ने हाम्रो ठहर हो । अहिले विश्वासको मत लिन आवश्यक देखिएको छैन । एमाले दलको बैठकले गर्ने निर्णयले हामी कसरी अघि बढ्ने भन्ने निक्र्यौल हुन्छ ।’
यस्तै, माओवादी केन्द्रका सांसदहरूले प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीको भूमिकाप्रति असन्तुष्टि जनाएका छन् । प्रदेश प्रमुखले संविधानभन्दा बाहिर गएर भूमिका खेलेको उनीहरूको आरोप छ । प्रदेश प्रमुखले पटक–पटक विश्वासको मत लिन ताकेता गरेको भन्दै यो विषय उनको कार्य क्षेत्रमा नपर्ने माओवादी केन्द्रका नेताहरूको भनाइ छ । ‘हामीले पनि संविधान कानुन पढेका छौं । प्रदेश प्रमुख जस्तो व्यक्तिले आफ्नो अधिकारभन्दा बाहिर गएर यसो गर्न मिल्दैन । यो प्रदेश प्रमुखको अमर्यादित हस्तक्षेप हो । हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ प्रमुख सचेतक नेपालीले भनिन् ।
त्यस्तै, माओवादी केन्द्रको संसदीय दलको बैठकले सांसदहरूले १० प्रतिशत लेबी तिर्नुपर्ने निर्णय गरेको छ । प्रमुुख सचेतक नेपालीले सांसदहरूले पाउने तलबबाट आठ प्रतिशत पार्टीलाई र दुई प्रतिशत संसदीय दललाई बुझाउनुपर्ने निर्णय भएको बताइन् । यस्तै, बैठकले प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिमा रातो कामी र सीताकुमारी नेपालीलाई पठाउने निर्णय गरेको छ । बैठकले दलको विधान संशोधन गरेर पारित समेत गरेको छ । सांसद रेग्मी पार्टी त्याग गरेर एमालेमा प्रवेश गरेकाले पार्टीले कारबाही गरेको पत्र प्रदेशसभा सचिवालयमा पठाइएको माओवादी केन्द्रले जनाएको छ ।
यसैबीच, एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक आज (आइतवार) बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा नेपाल पक्षका सांसदहरू पनि सहभागी हुने बताइएको छ । एमालेले एक ढिक्का भएर सरकार बनाउने गृहकार्यमा जुटेको नेताहरूले बताएका छन् । संसदीय दलको बैठकअघि नै मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा सहभागी एमालेका मन्त्रीहरूको राजीनामा आउने एमाले केपी शर्मा ओली पक्षीय नेताहरूको दाबी छ । अहिले एमालेका तीन जना मन्त्रीहरू सरकारमा सहभागी छन् । आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा एमालेका मन्त्री हुन् ।
माधव नेपाल पक्षका सांसद सुशील थापाले मन्त्रीहरूले राजीनामा दिने तयारी भइरहेको बताए । ‘आजको बैठकमा सहभागी हुने र सकेसम्म बैठकअघि नै उहाँहरूले राजीनामा दिनुहुन्छ’, उनले भने । उनले माधव पक्षले कायमै राखेको समर्थन पनि फिर्ता हुने बताए । उनी भन्छन्, ‘अब कर्णालीमा एमालेको एकल सरकार बन्छ ।’ एमालेका प्रमुख सचेतक गुलाबजंग शाहले पनि मन्त्रीहरूको राजीनामा आउने बताए । दलले सरकारलाई दिएको समर्थन फिर्ता लिइसक्दा पनि मन्त्री पदमा रहिरहन नैतिकताले नदिने भन्दै उनले मन्त्रीहरू फिर्ता हुने बताए ।
प्रकाशित मितिः २२ चैत्र २०७७, आईतवार ०८:२६
साझा बिसौनी ।