कर्णालीमा चामलको मूल्य घट्यो, दैलेख र जाजरकोटमा पनि घटाउने तयारी

कर्णाली अञ्चलका जिल्लाहरुमा बिक्री हुने चामलको मूल्य घटेको छ ।  सहज रूपमा खाद्यान्न बिक्री गर्न खाद्य संस्थानले चामलको मूल्य घटाएको हो ।

तिहारअघि आपूर्तिमन्त्री दीपक बोहरा, पर्यटनमन्त्री जीवनबहादुर शाही र कर्णालीका सांसदहरूबीचको छलफलमा चामलको बिक्री सहज बनाउन मूल्य घटाउने निर्णय भएको थियो । संस्थानका बिक्री वितरण प्रमुख शंकर सापकोटाले कर्णालीका जिल्लाअनुसार प्रतिकिलो १० रुपैयाँ घटाएको बताए ।

‘मन्त्रालयको निर्देशनअनुसार संस्थानको सञ्चालक समितिले कात्तिक २३ मा करिब २५ प्रतिशतसम्म घटाउने निर्णय गरेको थियो,’ उनले भने, ‘सोही निर्णयअनुसार व्यवस्थापनले मूल्य समायोजन गरेको हो ।’ जिल्लाअनुसार चामलको मूल्य फरक रहेकाले सोहीअनुसार घटाएको उनले बताए ।

संस्थानका अनुसार हाल हुम्ला र डोल्पामा बंगलादेशी उसिना मोटा प्रतिकिलो ४१ रुपैयाँ पर्छ । मूल्य घटाएर ३५ रुपैयाँमा बिक्री गर्ने निर्णय भएको छ । जुम्ला सदरमुकाममा प्रतिकिलो ३९ र गाउँको डिपोमा प्रतिकिलो ४१ रुपैयाँ पर्छ ।

जुम्लामा प्रतिकिलो ३१ रुपैयाँमा बिक्री गर्ने निर्णय भएको सापकोटाले बताए । संस्थानका अनुसार मुगु सदरमुकामा प्रतिकिलो उसिना मोटा ३९ रुपैयाँ र गाउँका डिपोमा ४१ रुपैयाँ पर्छ । अब मुगुको सदरमुकाम र गाउँमा प्रतिकिलो ३२ रुपैयाँमै बिक्री हुनेछ । बाजुरा सदरमुकाममा प्रतिकिलो ३५ रुपैयाँ २० पैसा र बाजुरा गाउँको डिपोमा ३९ रुपैयाँ पर्छ । अब बाजुरामा प्रतिकिलो ३२ रुपैयाँमै बिक्री गरिने संस्थानले जनाएको छ ।

हाल दार्चुलामा प्रतिकिलो ३३ रुपैयाँ ५० पैसा र बैतडीमा ३३ रुपैयाँ ५० पैसामा बिक्री भइरहेको छ । अब दार्चुला र बैतडीमा प्रतिकिलो ३० रुपैयाँमै उपलब्ध हुनेछ । यस्तै कालिकोटमा प्रतिकिलो उसिना मोटा ३९ रुपैयाँमा बिक्री हुन्छ । कालिकोटामा प्रतिकिलो ३० रुपैयाँमा बिक्री गर्ने निर्णय भएको छ । बझाङमा प्रतिकिलो ३३ रुपैयाँ ५० पैसा र अछाममा ३५ रुपैयाँ २० पैसामा बिक्री हुन्छ । बझाङ र अछाममा प्रतिकिलो ३० रुपैयाँमा बिक्री गर्ने निर्णय भएको बिक्री वितरण प्रमुख सापकोटाले बताए ।

यस्तै कालिकोटमा प्रतिकिलो ३९ रुपैयाँ र गोर्खामा ४१ रुपैयाँमा बिक्री हुन्छ । अब कालिकोट र गोर्खामा पनि प्रतिकिलो ३० रुपैयाँमा बिक्री गर्ने निर्णय भएको संस्थानले जनाएको छ । नयाँ मूल्य दुईरतीन दिनभित्र कार्यान्वयन हुने सापकोटाले बताए । ‘नयाँ मूल्यबारे जिल्लामा चिठी पठाउँदै छौं,’ उनले भने, ‘जिल्लामा चामलको मौज्दातको अवस्था स्तरमा परिमाणित गरेपछि नयाँ मूल्य लागु हुन्छ ।’

कर्णालीका जिल्लामा ७ प्रकारका चामल बिक्री हुन्छ । ती चामलको नाम अदुवामोटा, अदुवा मध्यम, सोना मन्सुली, मकवानपुरे, जिरामसिनो, गोरखनाथ र बंगलादेशी हुन् । मन्त्रालयले ती ७ प्रकारकै मूल्य घटाइने जनाए पनि बंगलादेशी चामलको मूल्य मात्रै घटेको हो । संस्थानले भने जिल्लाको माग र प्रमुख जिल्ला अधिकारीको सिफारिसमा मूल्य घटाइरहेको दाबी गर्छ । अन्य चामलको हकमा एक पटकमा ५ प्रतिशतसम्म मूल्य घटाएको संस्थानले जनाएको छ ।

‘पहिलो चरणमा एउटाको मूल्य मात्रै घटाएका छौं,’ उनले भने, ‘माग र सिफारिस आधारमा अन्य चामलको मूल्य पनि घट्छ ।’ उनका अनुसार जाजरकोट, दैलेख र रोल्पमा पनि मूल्य घटाउने तयारी भएको छ । माग र आपूर्ति हेरेर ती जिल्लामा पनि नयाँ मूल्य लागु गरिने उनले बताए । ती जिल्लामा ढुवानी प्रभावकारी बनाउन मन्त्रालय र व्यवस्थापिका सासदले पटकपटक निर्देशन दिँदै आएका छन् । कर्णालीका जिल्ला र गोरखामा भोकमरी समस्या आउन नदिन ढुवानी चुस्त बनाउन निर्देशन दिएको हो ।