नुनका लागि पनि सास्ती भोग्दै मुगुवासी

चामलका निम्ति खाद्य संस्थान गोदाममा लाइन बस्नुपर्ने बाध्यताजस्तै मुगुका स्थानीयले अहिले त्यही नियति नुन लिन भोगिरहेका छन् । साल्ट टेड्रिङले १० देखि दिउँसो ४ बजेसम्म नुन वितरण गर्ने गरेको छ ।

जिल्लाको रुगा ५, लुम गाउँका ६८ वर्षीय कमरसिंह खडकाले आइतबार डेढ घन्टा लाइन बसेर १० किलो नुन पाए । उनी नुन लिन लौरोको सहारामा ४ घण्टा हिँडेर गमगढी आएका हुन् । रोवा लुम्स गाउँका वीरबहादुर रोकाया पनि छोरीसँगै १ घण्टा लाइन बसेर १ बोरा नुन पाउँदा खुसी हुँदै फर्किए । साल्ट ट्ेरडिङ कार्यालयमा अहिले बालकदेखि वृद्धसम्म लाइन बसिरहेका छन् । नुन पाउन घण्टौं सकस झेल्नुपर्ने बाध्यता छ उनीहरूलाई ।

‘पहिले यसरी चामल गोदाममा लाइन बस्थ्यौं,’ कमरसिंहले भने ‘अब नुनका लागि बस्नुपर्ने अवस्था छ ।’ पूर्वी करान भेगका मुगु, डोल्फु, किम्री, माग्री र पुलु गाविसका स्थानीय नुन लिन दुई दिन हिँडेर गमगढी आउने गरेका छन् । पुलुमा नुन डिपो नहुँदा उनीहरू मर्कामा छन् ।

माथिल्लो मुगुमा भने स्थानीयले तिब्बतबाट ढिके नुन ल्याएर उपभोग गर्दै आएका छन् । सहजै आयोडिनयुक्त नुन नपाइने भएपछि ५ गाविसका स्थानीय तिब्बत जाने गरेका हुन् । साल्ट ट्रेडिङले भने गोदाम आइपुग्ने जोसुकैलाई आवश्यकताअनुसार नुन दिने गरिएको जनाएको छ । ‘नुन लिन गोदाम आइपुग्ने जो कोही व्यक्तिलाई आवश्यकताअनुसार दिने गरिएको छ,’ डिपो प्रमुख उपेन्द्र ठाकुरले भने, ‘गत वर्षको तुलनामा नुनको कोटा वृद्धि गरी कुपन प्रणाली हटाइएको छ ।’

जिल्लामा वार्षिक नुनको स्वीकृत कोटा ५ हजार ८ सय क्विन्टल छ । सोरु र खत्याड भेगका १४ गाविसका लागि ठेकेदारले साँफेबगरबाट नुन ढुवानी गर्ने गरेका छन् । सदरमुकाममा भने नेपालगन्जबाट गाडीमार्फत ढुवानी हुने गरेको छ ।

सोरु र खत्याड भेगका लागि नुन अझै पर्याप्त छैन । एक व्यक्तिलाई वार्षिक ५ किलो नुन भागमा पर्ने गरेको छ । सोरु र खत्याड भेगका लागि करिब १० हजार क्विन्टल नुन आवश्यक देखिएको छ । सोरु भेगका ७ गाविसका निम्ति ९ सय क्विन्टल पर्याप्त नहुँदा स्थानीय दुई दिन हिँडेर सदरमुकाम आई भेडा र खच्चरमा बोकाएर नुन लैजाने गरेका छन् । गमगढीमा पनि लामो समय पालो कुरेपछि मात्र नुन पाइन्छ ।

प्रकाशित मितिः   १४ मंसिर २०७३, मंगलवार १०:१३