खेलकुदलाई बेवास्ता

कर्णाली प्रदेशमा खेलकुदका लागि पर्याप्त पूर्वाधार छैनन् । उचित प्रशिक्षणको अभाव छ । राज्यको लगानी न्यून छ । सधैं उपेक्षामा पर्दै आएको छ । पूर्वाधार विकासदेखि खेलकुदका गतिविधि सञ्चालनमा बेवास्ता हुँदा कर्णालीले अपेक्षित उपलब्धि हासिल गर्न सकेको छैन । सरकारद्वारा खेलकुद क्षेत्र कतिसम्म उपेक्षित छ भने खेलकुद समितिका पदाधिकारी नियुक्त नगरिदिँदा लामो समयदेखि खेलकुदसँग सम्बन्धी निकाय नेतृत्वविहीन छन् । प्रदेशका आठ जिल्लामा अझै पनि जिल्ला खेलकुद समिति गठन हुन सकेका छैनन् । खेलकुद समिति गठनमा ढिलाइ हुँदा बजेट कार्यान्वयनमा समस्या हुने देखिएको छ । समिति नै नभएपछि जिल्लामा खेलकुद संरचना निर्माणका लागि विनियोजित रकम खर्च हुन सकेको छैन । कर्णाली प्रदेशमा लामो समयदेखि खेलकुदका गतिविधि हुन सकेका छैनन् । त्यसो त विगतमा कमै मात्र हुने गरेका थिए । त्यसमाथि जिल्ला खेलकुद समितिहरू पदाधिकारीविहीन हुँदा खेल गतिविधि र बजेट कार्यान्वयनमा समस्या भएको हो । अन्य क्षेत्रकाजस्तै खेलकुदका लागि छुट्याइएको बजेट खर्च पनि निराशाजनक छ । चालु आर्थिक वर्षको अन्तिम चौमासिक लागिसक्दा पनि खेलकुद क्षेत्रको बजेट कार्यान्वयनमा गएको छैन ।

निकै ढिलो गरे प्रदेश खेलकुद परिषद् गठन भयो । तर त्यसलाई बजेट अख्तियारी दिइएको छैन । जसले गर्दा खेलकुदका काम अघि बढ्न नसकेका हुन् । गएको पुसमा प्रदेश खेलकुद परिषद् गठन भएको थियो । त्यसयता परिषद्ले कार्यालय स्थापनाबाहेक अन्य कुनै गतिविधि गरेको छैन । प्रदेश सरकार खेलकुदप्रति संवेदनशील नदेखिँदा समितिहरूले पूर्णता नपाएको र बजेट कार्यान्वयन हुन नसकेको खेलसम्बद्ध व्यक्तिहरू बताउँछन् । त्यसको असर समग्र खेल क्षेत्रमा पर्नुका साथै खेलाडीहरू निरुत्साहित हुने अवस्था देखिएको छ । विनियोजित बजेट खर्च हुन नसकेर बर्सेनि फिर्ता हुन्छ । गत वर्ष संरचना र पदाधिकारी नहुँदा खेलकुदको बजेट फ्रिज गएको थियो । चालु आर्थिक वर्षको यो अवधिसम्म कुनै गतिविधि अघि नबढ्दा यस वर्ष पनि बजेट फ्रिज हुने सम्भावना बढेको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रममा भने खेलसँग सम्बन्धित लोकप्रिय योजना र कार्यक्रम समावेश गरिएको छ । यद्यपि कार्यान्वयनमा भने बेवास्ता गरिएको छ । प्रदेश सरकारले ल्याएको प्रदेशस्तरीय रंगशाला, एक स्थानीय तह एक खेलकुद मैदान, साहसिक खेल मैदानलगायतका खेलकुद पूर्वाधारका काम अघि बढाउने भने पनि यी कामको सुरूवात भएको छैन । प्रदेश रंगशालाका लागि दुई करोड बजेट विनियोजन भएको छ । त्यस्तै, प्रत्येक स्थानीय तहमा एक खेल मैदान निर्माणका लागि सात करोड ९० लाख बजेट विनियोजन गरिएको छ ।

कर्णालीमा आगामी तीन वर्षपछि दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । त्यसका लागि खेलकुदका पूर्वाधार निर्माणमा समेत जोड दिनुपर्ने छ । तर समितिहरू पदाधिकारीविहीन हुँदा बजेट कार्यान्वयन हुुन सकेको छैन भने खेल गतिविधि समेत प्रभावित हुँदै आएका छन् । अहिलेदेखि नै संरचना निर्माण सँगसँगै अन्य गतिविधिहरू सञ्चालनतर्फ ध्यान नदिने हो भने राष्ट्रिय प्रतियोगिता आयोजनाको अवसर समेत कर्णालीले गुमाउन सक्दछ ।

प्रकाशित मितिः   २२ चैत्र २०७७, आईतवार ०८:२१