भारतबाट फर्किएका सीधै गाउँमा

भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दोस्रो लहर चलेपछि रोजगारीका लागि गएका नेपालीहरू धमाधम फर्किन थालेका छन् । कोरोनाको त्रास कम भएपछि भारत गएकाहरू फेरि घर फर्कन थालेका हुन् । केही दिनयता भारतबाट कर्णाली भित्रिनेको भिड लागेको छ । तीव्र संक्रमण फैलिएका भारतका विभिन्न सहरहरूबाट आएका उनीहरू सीधै गाउँ जाने गरेका छन् । यसरी विना सावधानी सयौंको संख्यामा संक्रमणका आशंकितहरू गाउँ गए पनि सावधानी भने अपनाइएको छैन । उनीहरूको कोरोना परीक्षण नै नगरी गाउँ पठाउने गरिएको हो । प्रदेश भित्रिने मुख्य नाकाहरूमा ज्वरो नाप्ने र विवरण राख्ने काम मात्रै हुने गरेको छ ।

जोखिमको आँकलन गर्दै गएको शुक्रवार बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले रोकथाम र नियन्त्रणका लागि विभिन्न निर्णयहरू गरेको थियो । केन्द्रको बैठकले सीमा नाकामा भारतबाट आउनेहरूको विवरण राख्ने, प्र्रत्येक पालिकामा कोभिड उपचार केन्द्र सञ्चालनमा ल्याउने, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउने, हटलाइन कल सेन्टरको व्यवस्था मिलाउने र सार्वजनिक यातायात क्षेत्रमा कडाइ गर्नेलगायतका निर्णय गरे पनि अधिकांश निर्णय कार्यान्वयन भएका छैनन् । भारतबाट फर्किएकाहरू निष्फिक्री गाउँघरमा घुमिरहेका छन् । सीमा नाका भएर आउने तथा संक्रमण पुष्टि भएका व्यक्तिहरूले अनिवार्य होमआइसोलेसनमा बस्नुपर्ने र त्यसको व्यवस्थापन सामाजिक विकास मन्त्रालयले मिलाउने बताइएको थियो ।

सोमवार एकैदिन भारतमा ६८ हजार जनामा संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतबाट आउनेहरू सीधै गाउँ जान थालेपछि स्थानीय तहहरूमा त्रास बढेको छ । यसरी आउनेलाई परीक्षण गर्ने, कोरोना नदेखिएकालाई घर पठाउने र उनीहरूलाई निश्चित समयसम्म होम क्वारेन्टाइन बस्न लगाउनुपर्ने व्यवस्था मिलाउन प्रदेश सरकारलाई स्थानीय तहहरूले अनुरोध गरेका छन् ।

चिकित्सकहरूले पनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन जोड दिएका छन् । चिकित्सकहरूले भारतबाट फर्किनेहरूको ‘¥यापिट टेष्ट’ गर्न सुझाएका हुन् । प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले सम्भव भएसम्म ‘¥यापिट टेष्ट’ गर्नुपर्ने बताए । ‘अहिले लक्षण देखिएकालाई मात्रै गर्ने भन्ने छ,’ उनले भने, ‘सकभर सबैको परीक्षण गर्न सके ढुक्क हुने अवस्था रहन्थ्यो ।’ उनले आफूहरूले सरकारलाई यही सुझाव दिएको बताए । डा. खड्काले यतिबेला स्थानीय तहले पनि निगरानी बढाउनुपर्ने जनाए ।

कोरोनाको जोखिम पुनः बढ्दै गएपछि प्रदेश सरकारले पूर्व सावधानी अपनाउन तयारी थालेको जनाएको छ । नाकामा राखिएका स्वास्थ्य सहायता कक्षमार्फत सामान्य स्वास्थ्य चेकजाँच थालिएको हो । कर्णाली भित्रिने मुख्य नाका बबईमा यही चैत ११ गतेदेखि ‘हेल्थ डेक्स’ सञ्चालनमा ल्याइएको छ । सुरक्षाकर्मीले संकलन गरेको तथ्यांकअनुसार शुक्रवारदेखि सोमवारसम्म बबई नाका भएर भारतबाट आएका मात्रै सात सय जना कर्णाली प्रवेश गरेका छन् ।

स्थानीय तहले पनि यसपटक कोरोना रोकथाममा तयारी गरेको पाइएको छैन । पालिकाहरूले संक्रमण जोखिमको बेवास्ता गरेका हुन् । पञ्चपुुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले प्रदेश सरकारले नाकामा क्वारेन्टाइन बनाएर राख्ने, परीक्षण गरेर संक्रमण नदेखिएकालाई मात्र गाउँ पठाउनुपर्ने बताए । अहिले गाउँका विद्यालयहरू सञ्चालन भइरहेकाले स्थानीय तहलाई क्वारेन्टाइन व्यवस्थापनमा कठिनाइ हुने उनको भनाइ छ ।

कर्णालीमा अघिल्ला महिनाहरू भन्दा कोरोनाको संक्रमणदर केही घटेको भए पनि दैनिक नयाँ संक्रमित पुष्टि हुने क्रम भने रोकिएको छैन । भारतमा संक्रमण बढेसँगै कर्णालीमा पनि पुनः जोखिम बढ्ने आकलन गरिएको छ । प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या सात हजार पाँच सय ८५ पुगेको छ । त्यसमध्ये सात हजार चार सय संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण ३२ जना भन्दा बढीको मृत्यु भएको छ ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्का प्रदेशले लक्षण देखिएकालाई मात्रै परीक्षण गर्ने र अन्यलाई होम क्वारेन्टाइनमा बस्ने गरी पठाउने निर्णय भएबमोजिम नै गरिएको बताए । आवश्यक परेको खण्डमा पालिकाहरूले क्वारेन्टाइन गराउने र राजधानीको हकमा प्रदेश सरकारले वीरेन्द्रनगरमा पनि क्वारेन्टाइन निर्माण गर्ने उनी बताउँछन् । पहिलेको जसरी सबैको परीक्षण गर्ने र विभिन्न स्थानमा क्वारेन्टाइन राख्ने नीति अहिले नभएको निर्देशक खड्काले बताए ।

पछिल्ला दिनहरूमा भारतमा कोरोनाको संक्रमणदर बढ्दै गएका बेला त्यसको प्रत्यक्ष असर कर्णालीमा पर्ने देखिएको छ । रोजगारीका लागि भारतमा जाने कर्णालीबासीको संख्या ठूलो छ । भारतमा संक्रमण बढेसँगै उनीहरू गत वर्ष पनि यसैगरी घर फर्किएका थिए । गत वर्ष करिब ६० हजार कर्णालीबासी भारतबाट फर्किएको सरकारी तथ्याङ्क छ । कर्णालीमा भारतबाटै आएका दैलेखका एक जना पुरुषमा पहिलो संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मितिः   १७ चैत्र २०७७, मंगलवार १०:३८