ठूला जहाज परीक्षण उडानमै सीमित

सुर्खेत विमानस्थलमा ठूलो जहाजले उडान गर्ने भनिए पनि अहिलेसम्म टुङ्गो लागेको छैन । माघ २६ गते श्री एयरलाइन्सले ८० सीटे जहाजको काठमाडौं–सुर्खेत सफल परीक्षण गरेको थियो । त्यतिबेला प्राविधिक टोलीले सुर्खेत विमानस्थल ठूलो सीट क्षमताको उडानका लागि उपयुक्त भएको समेत बताएका थिए । थप प्राविधिक अध्ययन गरेर नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरे पछि मात्रै नियमित उडान हुने भनिएको थियो ।

यसअघि पनि विभिन्न एयरलाइन्स कम्पनीले पटक–पटक यस्ता परीक्षण उडान गर्ने गरेका थिए । तर, ती उडानहरू नियमित भने हुन सकेनन् । श्री एयरले यस पटक परीक्षण उडान गर्दा पनि स्थानीयले नियमित उडान हुनेमा आशंका गरेका थिए । जहाजले कति यात्रु बोकेर टेकअफ गर्न सक्छ भन्ने अध्ययन गरी त्यसपछि मात्र नियमित उडान भर्ने श्री एयरले बताएको थियो ।

नियमित उडानका लागि १५ देखि २१ दिनभित्र टुङ्गो लाग्ने भनिएकोमा डेढ महिनाभन्दा बढी समय बितिसकेको छ । प्राविधिक रिपोर्ट भने आएको छैन । जसका कारण उडान अनिश्चित बनेको हो । श्री एयर लाइन्सको जहाज उडानको विषयमा अहिलेसम्म कुनै जानकारी नआएको नागरिक उड्डयन प्राधिकरण सुर्खेत स्रोतले जनाएको छ । हाल सुर्खेत–काठमाडौं दैनिक एउटा मात्र उडान हुने गरेको छ । बुद्ध एयरले नियमित उडान गर्दै आएको हो । बुद्धको ४७ सीटे जहाजले उडान भर्ने गरेको छ । एयरलाइन्स कम्पनीबीच प्रतिस्पर्धा नहुँदा यहाँका यात्रुहरू चर्को भाडा तिर्न बाध्य छन् ।

सुर्खेत–काठमाडौं सात हजार पाँच सयदेखि १० हजार दुई सयसम्म भाडा लिने गरिएको छ । यहाँबाट जाँदा महङ्गो भाडा हुने हुँदा यात्रुहरू नेपालगन्ज भएर काठमाडौं जाने गर्दछन् । श्रीएयरले नियमित उडान गरेमा भाडादर घट्ने र सजिलै काठमाडौं जान आउन सकिने अपेक्षा गरिएको थियो । श्रीएयर लाइन्सका निर्देशक अनिल मानन्धरले उडान नियमित गर्ने वा नगर्नेबारे टुङ्गो लागिनसकेको बताए । ‘परीक्षण सफल भए पनि अन्य प्राविधिक कारणले ढिलाइ भएको हो,’ उनले भने, ‘उडानका लागि प्राविधिक हिसाबले ठीक छ भनेर नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति पाए पछि मात्रै उडान हुन्छ ।’ यसअघि प्राविधिकहरूले अध्ययन भएर अनुमति पाउन तीन साताजति समय लाग्ने बताएका थिए ।

विस्तार अन्योल

सुर्खेत विमानस्थलको विस्तार कार्य अझै पनि अनिश्चित छ । विमानस्थल विस्तारमा स्थानीय नागरिकहरूले सहमति दिएका छैनन् भने वीरेन्द्रनगर नगरपालिका समेत विस्तारको पक्षमा देखिएको छैन । विमानस्थल विस्तार गरे पनि दिगो नहुने र यसले बस्ती मात्रै मास्ने भन्दै स्थानीयले सरकारलाई विकल्प खोज्न भनिरहेका हुन् । अहिले सुर्खेत विमानस्थलको धावनमार्ग एक हजार दुई सय ५५ मिटर रहेको छ । यसमा तीन सय मिटर बढाएर एक हजार पाँच सय मिटर पु¥याउने गरी प्रक्रिया अघि बढाइएको थियो । संघीय सरकार र प्रदेश सरकारबीच समझदारी भइ अघि बढाइएको प्रक्रिया स्थानीयको अवरोधका कारण रोकिएको हो ।

प्रभावित क्षेत्रका बासिन्दाहरूले गठन गरेको नागरिक सरोकार समितिका संयोजक टीकाराम आचार्यले आफूहरू विमानस्थल विस्तार गर्ने पक्षमा नरहेको बताए । ‘सहमति भएको भनेर हल्लाहरू चलाइएको छ । हामी अहिलेकै अवस्थामा विस्तारको पक्षमा छैनौं,’ उनी भन्छन्, ‘स्थानीयको उचित व्यवस्थापनविना सहमति हुन सक्दैन ।’ केही दिन पहिले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले उत्तर र पश्चिमतर्फ मात्रै विस्तार गर्ने भने पनि आफूहरू त्यसमा सहमत नभएको उनले आचार्यले बताए । बैठकमा सहभागी सरोकार समितिका सदस्य पूर्णप्रसाद पौडेलले आफूहरूले विमानस्थलको विकल्प खोज्न आग्रह गरेको बताए । ‘बैठकमा विमानस्थल विस्तार गर्नुपर्छ । सहयोग गर्नुस् भनेर भन्नु भएको थियो । हामीले दिगो हुने आधार केही देखिएन । विकल्प खोज्नुस् भनेका थियौं,’ उनले भने ।

फागुन २८ गते बसेको बैठकले विमानस्थलको उत्तर र पश्चिमतर्फ मात्रै विमानस्थल विस्तार गर्ने र एक महिनाभित्र लगत संकलनको लागि सूचना निकालेर काम अघि बढाउने निर्णय भएको विमानस्थलका प्रमुख उमेशकुमार पन्थीले जानकारी दिए । तर बैठक बसेको आधा महिना बितिसक्दा पनि काम अघि बढाइएको छैन । विमानस्थल विस्तारका लागि मुुख्यमन्त्री शाहीको संयोजकत्वमा सहजीकरण समिति बनाइएको छ । उक्त समितिले लगत संकलन तथा बस्ती व्यवस्थापन गर्नेलगायतका विषयमा सहजीकरण गर्ने भनिएको छ । स्थानीय अझै पनि सहमत नभएकाले नागरिक उड्डयन प्राधिकरण सुर्खेतले विस्तारको काम अघि बढाएको छैन । विमानस्थल विस्तारको काममा अहिलेसम्म कुनै प्रगति नभएको विमानस्थल प्रमुख पन्थी बताउँछन् ।

प्रकाशित मितिः   १६ चैत्र २०७७, सोमबार ०६:००