फर्कियो कहर, खोसियो रोजगारी

‘गतवर्ष पनि कमाइ राम्रो नहुँदै फर्किनु पर्‍यो । गाउँमा रोजगारी नपाएपछि फेरि भारत गयौं, कोरोनाको डरले फर्कियौं।’

‘गतवर्ष पनि कमाइ राम्रो नहुँदै फर्किनु पर्‍यो । गाउँमा रोजगारी नपाएपछि फेरि भारत गयौं, कोरोनाको डरले फर्कियौं।’


दैलेखको ठाँटीकाध गाउँपालिकाका रमित विक गएको मंसिरमा भारत गए । कोरोना संक्रमणको त्रास कम हुँदै गएपछि उनी कमाइका लागि फेरि भारत गएका थिए । रोजगारीका लागि भारत जाने आउने गरिरहने उनी त्यसअघि कोरोना त्रासकै कारण भारतबाट घर फर्किएका हुन् । गतवर्ष यही समयमा कोरोना संक्रमणको निकै त्रास थियो । सीमा नाकाहरूमा आउँ–जाउँमा कडाइ मात्र भएन सबै क्षेत्रमा बन्दाबन्दी नै भयो । कमाइका लागि विदेशीका हजारौं नेपालीले थुप्रै कष्ट बेहोर्नुप¥यो । सबैतिर लकडाउन भएसँगै रोजगारी गुमेपछि रमित भारतबाट अरु नेपाली झंै कष्टकर यात्रा गर्दै गएको जेठमा घर फर्किएका थिए ।

पोहोर साल नेपाल छिरेपछि उनी १४ दिन सीमा नाकामा बनाइएका क्वारेन्टाइनमा बसे । ‘घर आउन त्यसबेला भोगेको सास्ती भनिसाध्य छैन,’ रमितले भन्छन् । कोरोना कहर विस्तारै कम भएपछि उनी भारत गए । तर, भारतमा यसपटक पनि कोरोना संक्रमणको जोखिम बढ्दै गयो । रमित गतवर्ष झैं कोरोना त्रासका कारण शुक्रवार घर फर्किएका छन् । उनीसहित गाउँका १४ जना भारतबाट घर आएका हुन् ।

भारतकै कमाइले परिवारको गुजरा चलाउँदै आएका रमित गतवर्ष जसरी दुःख नहोस् भनेर यसपटक बेलैमा घर फर्किएको बताउँछन् । ‘पहिले पनि भर्खरै भारत गएको बेलामा कोरोनाका कारण लकडाउन भयो । कमाइ राम्रो नहुँदै फर्किनु प¥यो,’ उनले भने, ‘गाउँमा रोजगारी केही नपाएपछि फेरि भारत गएका थियौं । कोरोना संक्रमणणको डरले फर्कियौं ।’ पहिले भारतबाट यसरी नै आउँदा सरकारले रोजगार दिने भने पनि आश्वासन मात्रै पाएको उनले गुनासो गरे । ‘खेतीले वर्ष दिन पनि खान पुग्दैन् । भारत नगइ हामीलाई सुखै छैन । सरकार छ भन्नु मात्रै भयो । आफ्नै ठाउँमा रोजगारीका अवसर कहिल्यै पाइएन,’ रमितले भने ।

पछिल्लो समय भारतमा कोरोना संक्रमणको दर बढेको छ । केही सहरमा लकडाउन नै भइसकेको छ । लकडाउन हुने डरले कमाइका लागि भारत गएकाहरू यतिबेला धमाधम स्वदेश फर्किन थालेका छन् । केही दिनयता सीमा नाकामा भारतबाट फर्किनेको भिड छ । कोरोनाले अघिल्लो वर्ष दिएको दुःख यसपटक फेरि उसैगरी फर्किएको छ । कोरोनाका कारण यो वर्ष पनि उही नियति दोहोरिएको हो ।

कालीकोटको रास्कोट नगरपालिकाका नवराज शाही कोरोनाको जोखिम बढ्दै गएपछि भारत गएको दुई साता नहुँदै घर फर्किएका छन् । शाहीले आफूसहित तीन जना साथीहरू घर आएको बताए । ‘आफ्नै ठाउँमा रोजगारी भइदिए प्रत्येक वर्ष यसरी दुःख भोग्नु पर्थेन,’ उनले भने ।

गत वर्ष कोरोना महामारीका समयमा कर्णाली प्रदेशका मात्र करिब ६० हजार नागरिक भारतबाट फर्किएका थिए । केही समयपछि तीमध्ये अधिकांश पुनः भारत गएका थिए । प्रदेश सरकारले यसरी फर्किएका नागरिकलाई गाउँमै रोजगारी दिने बताएको थियो । चालु आर्थिक वर्षको बजेट र नीतिमा रोजगारमूलक कार्यक्रमलाई प्राथमिकता समेत दिइएको थियो । तर, सरकारले त्यस्ता कार्यक्रम कार्यान्वयन गर्न नसक्दा नागरिकहरू पुनः भारतमै फर्किका हुन् ।

सीमा नाकामा निगरानी

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार प्रदेशका नाकाहरूमा यही चैत ११ गतेदेखि हेल्थ डेक्सहरू सञ्चालनमा ल्याइएका छन् । संक्रमणको दोस्रो लहर आउनसक्ने आँकलन गर्दै रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेशमा पुनः पूर्वतयारी थालिएको हो । बबई, कुइँने, कपुरकोट र सुर्खेत विमानस्थलमा स्वास्थ्य सहायता कक्षहरू राखी यात्रुहरूको निगरानी गर्न थालिएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रबिन खड्काले हेल्थ डेक्समा भारतबाट आएकाहरूको ज्वरोलगायत सामान्य स्वास्थ्य जाँच हुने बताए । उनकाअनुसार भारतबाट आएकाहरूको सम्पर्क विवरण राखिएको छ भने सम्पर्कमा रहिरहन भनिएको छ ।

डा. खड्का भन्छन्, ‘नाकामा स्वास्थ्य सहायता कक्ष राखेर विशेष गरी भारतबाट आएकालाई निगरानी गरिरहेका छौं । अहिले ज्वरो नाप्ने गरेका छौं ।’ लक्षण देखिएकालाई होम आइसोलेसनमा बस्न र आवश्यक परे परीक्षण गर्ने भनिएको उनले बताए ।

सरकारले अहिले भारतबाट आउनेको संख्या दिन प्रतिदिन बढ्दै गए पछि पूर्व सावधानी अपनाउन थालेको छ । कर्णाली प्रवेश गर्ने मुख्यद्वार बबई नाकामा रहेको हेल्थ डेक्समा खटिएका स्वास्थ्यकर्मी गोपालबहादुर नेपालीका अनुसार यो नाका हुँदै पछिल्ला तीन दिनमा भारतबाट मात्र चार सय बढी नागरिक कर्णाली भित्रिएका छन् । शनिवार एक सय ४० जना भारतबाट फर्किएको उनले बताए । भारतमा कोरोना संक्रमणको दर बढसँगै यसको प्रभाव कर्णालीमा पनि पर्ने देखिएको छ । यहाँ अधिकांश युवा रोजगारीका लागि भारत जाने गर्दछन् । संक्रमण त्रासले उनीहरू यसपटक पनि गत वर्ष झैं लर्को लागेर घर फर्किन थालेका छन् । भारतमा कोरोनाको दोस्रो लहर फैलिएसँगै कर्णाली फर्कनेहरूको संख्या दैनिक बढ्दै गएको हो ।

कर्णालीमा हालसम्म कोरोना संक्रमितको संख्या सात हजार पाँच सय ८५ पुगेको छ । त्यसमध्ये सात हजार चार सय संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण ३२ जनाभन्दा बढीको मृत्यु भएको छ । अहिले प्रदेशमा ११ जना सक्रिय संक्रमित रहेको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पछिल्लो समय सुर्खेतबाहेक प्रदेशका अन्य नौ जिल्लामा कोरोना संक्रमण शून्यमा झरेको छ ।

प्रकाशित मितिः   १५ चैत्र २०७७, आईतवार ०६:००