खेलकुद पूर्वाधारमा जोड

आगामी तीन वर्ष पछि हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा हुँदैछ । प्रतियोगिताको तयारीका लागि अहिलेदेखि नै खेलकुदका संरचनाहरूको निर्माणलाई तीव्रता दिइएको सम्बन्धित निकायहरूले बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश सिलवालले कर्णालीमा हुने राष्ट्रिय प्रतियोगितालाई लक्षित गरेर प्रदेशभर खेलकुदका पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको जनाए ।

शनिवार वीरेन्द्रनगरमा खेलकुद पत्रकार मञ्च सुर्खेतले आयोजना गरेको कार्यक्रममा बोल्दै सिलवालले कर्णालीमा राष्ट्रिय प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्नका लागि राष्ट्रिय खेलकुद परिषद् गम्भीर भएर लागेको बताए । उनले खेलकुुद प्रतियोगिता कर्णालीका सबै जिल्लामा गर्ने गरी पूर्वाधारका कामहरू अघि बढाइएको जानकारी दिए । ‘कर्णालीमा खेलकुुदको धेरै सम्भावना छ । राष्ट्रिय खेलकुदलाई मध्यनजर गरेर बनाइएका संरचनाले दीर्घकालीन रूपमा यहाँको खेल क्षेत्रमा सहयोग पुग्छ’ सिलवालले भने, ‘राखेपले यसमा सबैको साथ सहयोगको अपेक्षा गरेको छ ।’ खेल मैदान, कर्भडहललगायतका संरचना निर्माणका लागि बजेट पठाइएको र त्यसको कार्यान्वयनका लागि टेण्डर समेत भइसकेको उनको भनाइ छ ।

खेलकुदका संरचना निर्माणमा प्रदेश सरकारसँग पनि छलफल तथा समन्वय भइरहेको राखेपले जनाएको छ । राष्ट्रिय प्रतियोगितालाई केन्द्रित गरेर गाउँगाउँसम्म खेलाडीहरूका लागि प्रशिक्षणका कार्यक्रमहरू सञ्चालन हुुने बताइएको छ । कर्णाली प्रदेश खेलकुुद परिषद्का उपाध्यक्ष प्रमोद हमालले प्रदेश सरकारले बनाउने खेल संरचनाहरूलाई बहुवर्षीय योजनाका रूपमा अघि बढाउने तयारी भइरहेको जानकारी दिए । हमालकाअनुसार परिषद्ले खेल पूर्वाधार निर्माणका साथै खेलाडीहरूका लागि प्रशिक्षण तथा प्रोत्साहन कार्यक्रमहरूमा बढी जोड दिनेछ । खेल पूर्वाधारको अभावमा अहिलेसम्म कर्णालीमा बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताहरू आयोजना हुन सकेका छैनन् ।

प्रकाशित मितिः   १५ चैत्र २०७७, आईतवार ०६:००