सक्षम अभिभावकत्व र सिकाइको सम्बन्ध

हाम्रो प्रवृत्तीः
हामी सबै सक्षम अभिभावक बन्न चाहान्छौं । छोरा–छोरीलाई पढ–पढमात्र भनिरहन्छौं । पढमात्र भन्यो भन्यो भने आफू असल र सक्षम अभिभावक होइन्छ भन्ने हाम्रो मनस्थिति हुन्छ । भारतीय शिक्षा विद् गिजु भाइले लेखेको एउटा कुरा याद आउँछ, ‘म खेल्छु नखेल भन्छन्, उफ्रन्छु नउफ्र भन्छन्, म गीत गाउँछु नगाउ भन्छन् । म के गरु, कहाँ जाउँ ।’ एउटा बालकको पीडा हो । वास्तबमा बालबालिका स्वतः स्फूर्त रूपमा सिक्न चाहान्छन् । आमाले चुल्होमा रोटी हाल्दै गर्दा छोरीले पनि अलिकति पीठो तानेर रोटी हाल्ने अभ्यास गरिरहँदा आमाले यसो नगर, बाहीर जाउ भनेर गाली गरेको वा चड्कन हानेको घटना त हामीले देखेका हौंला या सुनेका वा भोगेका हौंला ।
हाम्रो समाज यस्तै छ । हामी हाम्रा बच्चालाई स्वतः स्र्फूतरूपमा केही पनि गर्न दिँदैनौं । धुलोमा खेल्यो भनेः ‘धुलोमा नखेल । कपडा फोहोर हुन्छ । हात–खुट्टा फोहोर हुन्छ । हामी रोगी हुन्छौं । आदि इत्यादि ।’ उपदेश दिन्छौं तर उनीहरूकोलागि योजना बनाउँदैनौं ।
सिकाइको परिभाषाः सिकाइ एक स्थायी प्रकारको व्यवहार परिवर्तन हो । यो शिक्षा, ज्ञान ग्रहण र तालिमबाट प्राप्त हुनछ । त्यस्तै स्टेफेन रोबिन्सनले भनेका छनः सिकाइ एउटा सम्भवतः स्थायीरूपमा व्यवहारमा हुने परिवर्तन हो जुन अनुभवबाट प्राप्त हुन्छ ।
सिकाइका तत्वहरूः
सिकाइले राम्रो वा नराम्रो दुवै परिवर्तन ल्याउन सक्छ ।
सिकाइ जहिलेपनि स्थायी प्रकृतिको हुन्छ ।
यो अनुभवबाट प्राप्त हुन्छ ।
सिकाइका लागि अनुभव आवश्यक पर्दछ ।
सिकाइ जीवन पर्यन्त हुन्छ ।
सिकाइ जहिले पनि व्यवहार परिवर्तन सँग सम्बन्धित हुन्छ ।
सिकाइका लागि वातावरण आवश्यक पर्दछ ।
१. अमेरिकन मनोविज्ञ थर्नडाईकले आधारभूत सिकाइ सिद्दान्तमा सर्वप्रथम प्रभावको नियम व्याख्या गरेका छन् । उनले भनेका छन् सबैभन्दा पहिले बच्चामा वस्तुको प्रभाव पर्नु पर्दछ । त्यसपछि ऊ सिक्नका लागि तयार हुनु पर्दछ । त्यसपिछ उसले आफ्नो जीवनमा प्रयोग गर्न सक्नुपर्दछ, र उसको सिकाइको पहिलो प्रकृया पूरा हुन्छ ।
२. रशियन मनोविज्ञ ईभान प्याभलवले भनेका छन् सिक्नका लागि उत्तप्रेणा आवश्यक पर्दछ । अर्थात् उत्प्रेणा र प्रतिक्रिया । उनले कुकुरमा प्रयोग गरेका थिए । घण्टी अर्थात् स्टीम्युली बजाएपछि खाना आउने र कुकुरको मुखमा ¥याल आउने । त्यसपछि घण्टीमात्र बजाउँदा कुकुरको मुखमा ¥याल आउने प्रकृया सुरु भयो ।
३. स्किनरले अन्तरदृष्टिबाट सिकाइ हुन्छ भनेका छन् ।
४. अल्फ्रेड बाण्डुराले सामाजिक अन्र्तक्रियाबाट सिकाइ हुन्छ भनेका छन् ।
अभिभावकका प्रकारहरूः
- अधिकारवादी (Authoritarian): यस प्रकारको अभिभावकत्वमा अभिभावकले बच्चाबाट धेरै ठूलो आशा÷अपेक्षा राखेको हुन्छ । मैले भनेको कुरा किन भएन ?, तिमिले राम्रो गर्न किन सकेनौं ? भनेर आशा गर्ने र उक्त आशा पूरा गर्न नसकेमा बच्चालाई कमजोर मान्ने प्रवृत्ती हुन्छ । बच्चालाई स्वतन्त्रता पनि कम हुन्छ । बच्चाले के गरिराखेको छ ? भन्नेकुरामा निगरानी धेरै गरिएको हुन्छ । यस प्रकारको अभिभावकत्वमा हुर्किएका बालबालिका समाजमा धेरै घुलमिल हुन नसक्ने खालका हुन्छन् । किन भने उनीहरू कम स्वतन्त्र हुन्छन् । जहिले पनि अभिभावकको कडा निगरानीमा बस्नुपर्ने हुनाले उनीहरूले स्वतन्त्र भएर सोच्न र कार्य गर्न धेरै सक्दैनन् । अध्ययनहरूले भनेको छ कि यो प्रकारको अभिभाभकत्व सानो कक्षामा धेरै उपयोगी हुनसक्छ तर आफ्ना बालबालिका ठूलो हुँदैजाँदा अथवा किशोर अवस्थामा प्रवेश गर्दैगर्दा यो प्रकारको अभिभाकत्व त्यति सान्र्दभिक हुदैन । यस प्रकारको अभिभावकत्वमा हुर्किएका बालबालिकाहरू निराश हुने, के पुगेन, के कमी भयो जस्तो हुनेहुनाले कुलतमा फस्ने समस्या पनि बढी हुन सक्छ ।
- अधिकारपूर्ण (Authoritative): यो प्रकारको अभिभावकत्व पनि अभिकारवादी अभिभावकत्व सँग मिल्दोजुल्दो अभिभाकत्व हो तर यसमा आफ्ना बालबालिकासँग आशा बढी भएता पनि केही हदसम्म भएता पनि उनीहरूको आवश्यक्ता प्रति सहयोग र सहानुभूति हुन्छ । राम्रो कामका लागि पुरस्कृत पनि गरिन्छ ।यसले गर्दा बच्चा अभिभावकहरूसँग कम डराउँछन् । र केही हदसम्म स्वतन्त्र पनि हुन्छ । जसले गर्दा उनीहरूमा सिर्जनशीलता पनि अलि बढी हुन्छ । बच्चाबच्चीले आफ्ना अभिभावकहरूसँग प्रश्न सोध्ने र अभिभावकले पनि त्यसको दायित्व बहन गर्ने वातावरण हुन्छ । यस प्रकारको अभिभाकत्वमा हुर्किएका बाल बालिकाहरू अभिभावकहरूसँग नजिक हुनेहुनाले रक्सी, गााँजा, ड्रग्स र अन्य कुलतमा फस्ने सम्भावना कम हुन्छ । किन भने उसले अभिभावकसँग सबैकुरा खुलारूपमा सोध्छ । राम्रो नराम्रो सबै कुराको परामर्श पनि हुन्छ ।
- कृपालु (Permissive): यो अभिभावकत्व पनि अधिकारपूर्ण अभिभाकत्वसँग अलिअलि मिल्दोजुल्दो अभिभाकत्व हो तर यसमा कुनैपनि लक्ष तोकिएको हुदैन । बच्चाको भावनात्मक आवश्यक्ता पूरा गर्ने खालको हुन्छ । यसमा बच्चा र म एकै हौं । ऊसमा पनि म जस्तै स्वतन्त्र हुन पाउने हक छ । म सँगसँगै खान पिउन सक्छ भनेर अभिभावकले स्वीकारउक्ती दिएको हुन्छ । उसले आफ्नो मनलागेको गरोस् भनेर सोच्ने गरिन्छ । तर धेरै जे पनि नराम्रो पनि गरिहालोस् भनेर स्वतन्त्रा भने दिइएको हुँदैन । किन भने अभिभावक सँगैसँगै भइ राखेको हुन्छ । स्वतन्त्रता बढी हुन्छ ।
- लापरबाही (Neglectful): यस प्रकारको अभिभावकत्वमा अभिभावकले आफ्ना बच्चाहरूलाई कुनै पनि प्रकारको नियम नियमन गर्न बाध्य पर्दैनन् । घर आउने र घरबाट बाहिर जाने निश्चित समय हुँदैन । धेरै लापरबाही प्रकारको अभिभावकत्व झल्कन्छ । कामको पूर्ण जिम्मा पनि हुँदैन । काम गरे पनि ठीक छ नगरेपनि ठीक तर धेरै समय बिति सकेपछि र काम धेरै बिग्री सकेपछी कहीँ भने बच्चालाई धेरै थुर्ने गरिन्छ । यसले गर्दा बच्चामा नैरास्यता आउने गर्दछ । बच्चा कुन धार तिर वा दिशा तर्फ गइरहेको छ ? भन्ने कुरा पनि अभिभावकलाई थाहा पत्तो हुँदैन । अभिभावत्वमध्य सबैभन्दा खराब प्रकारको अभिभावकत्वको श्रेणीमा पर्ने यो अभिभावकत्व वास्तवमा राम्रो हुँदैन । किनभने बच्चा जन्माइ सकेपछि केहीँ हदसम्म जिम्मेवारी अवश्य लिनु पर्दछ ।
माथि उल्लेखित अभिभाकत्वहरूको प्रकारहरू विष्लेषण गर्दा वास्तबमा असल वा सक्षम अभिभाकत्व वहन गर्न पक्कै पनि सजिलो भने छैन । पढेलेखेका र प्रतिष्ठित पदमा पुगेका अभिभावकहरूका बाल बच्चा पनि पछी गएर बिग्रिएको हामीले हाम्रो समाजमा देखेका छौं । कतिपय अवस्थामा बाबु डाक्टर थिए तर छोरो लफङ्गो भएर निक्लिएको पनि हामीले देखेका छौं । बाबु जमिनदार थिए तर छोराहरू जडियाँ भएर निक्लिएको पनि हामीले हाम्रो समाजमा देखेका छौं । तर, बाबु गरिब थिए छोरा छोरीले समाजमा प्रतिष्ठा कमाएको, समाजमा धनि मानिस भएर जीएको पनि देखेका छौं । यो केस छोराको लागि मात्र नभएर छोरीहरका लागि पनि लागू हुन्छ ।
वास्तविकता के हो?
हाम्रो समाज युरोप जस्तो एकरूपता भएको समाज होइन । त्यँहा धर्म एउटै हुने भएकाले सबैले एउटै प्रकारको संस्कार मान्ने गर्दछन् । तर, नेपालमा त्यस्तो एउटै संस्कार धर्म छैन । अधिकाँस हिन्दु धर्मावलम्बीहरू छन् तर हिन्दु भए पनि दलितहरूले हिन्दु धर्म मान्दछन् तर धर्मको मर्म अधिकांश दलितहरूलाई थाहा छैन । जस्तो दशैं, तिहार सबैले मनाउँछन् र दलितहरूले पनि मनाउँछन् तर उनीहरूले अरुले जे गर्दछन् त्यहीँ गर्दैआइरहेका छन् । उनीहरूलाई हिन्दु धर्मको मुलधारमा राखिएको छैन । मधेशीहरूको चाल चलन, भाषा र संस्कार फरक छ । शेर्पाहरूको फरक धर्म छ । राई, लिम्बु र मगरहरको धर्म र संस्कार पनि फरक तरिकाले मनाउने गरेको पाईन्छ । नेवारहरू र थारुहरूको फरक चलन र संस्कार छ । हामी शिक्षामा एउटै प्रकारको उपलब्धी देख्न चाहान्छौं । कसैको घरमा बाबुले मादक पदार्थ सेवन गर्ने गर्दछन भने कोही अभिभावक आफ्ना सन्ततिको प्रगतिमा र लालन पालनमा वास्ता नगरेको पाइन्छ । परिवारमा स्पष्ट योजना बनाएर कार्य गरेको पार्इंदैन । आफ्ना छोरा–छोरीलाई के विषय पढाउने, के बनाउने, कहाँ पढाउने र किन पढाउने जस्ता कार्य योजना नबनाएको पाइन्छ । नेपालका केही सम्रान्त परिवारहरूले भने आफ्ना छोरा–छोरीहरू भविष्यमा प्रतिष्ठीत पेशा गर्न सकुन भनेर सानैदेखि स्कुलिङ्ग गरिएको हुन्छ । यो फेरी परिवारबाट आएको संस्कार पनि हो ।
जस्तोः तŒकालीन राजा महाराजाहरू (शाह, राणा) को वर्ग छ । तराईका ब्राहमण समाज (झाँ, यादव, मिश्र… आदि), पहाडी समाजमा ब्राहमण (शर्मा, कोईराला, पौडेल, रेग्मी, ….) , क्षेत्री ( थापा, बस्न्यात, कुँवर, विष्ट… आदि) परिवारमा सुरुदेखि घरको संस्कार पनि राम्रो र उनीहरूले आफ्ना बालबालिकाहरू जे सुकै भए पनि प्रतिष्ठाको व्यावसाय वा पेसा गर्नु पर्दछ भनेर कर्मठ हुने हुनाले त्यहीअनुरूप आफ्ना बालबच्चामा लगानी लगाउने हुनाले उनीहरूको अवस्थामा फरक छ । तर, दलितहरूको अवस्था फरक छ ।, जनजातीहरूको पारिवारिक उद्देश्यहरू पनि फरक छ । जस्तो लाहुरे हुने वा अन्य फौजी जागिर खाने वा खुवाउने आदि इत्यादि……।
के गर्न सकिन्छ त?
वास्तवमा हाम्रो घरमा नीति, नियम र अनुशासन जस्ता संस्कारहरू कडाईकारूपमा लागू भएको अवस्थामा हुनु पर्दछ । मनोविज्ञ अल्बर्ट वान्डुरा (क्यानाडा)ले आफ्नो सामाजिक सिकाई सिद्धान्मा भनेकाछन कि ‘तपाईले जे गर्नुहुन्छ बच्चाले पनि त्यही गर्दछ ।’ त्यसकारण घरको संस्कार उधारणीय हुनु पर्दछ । तपाईं (अभिभावक)ले घरमा राम्रो संस्कार दिनुहुन्छ भने बच्चाले पनि त्यही अनुकरण गर्दछ । तपाईं घरको अभिभावक हुनुहुन्छ तपाईंले खाना खाइ सकेपछि आफ्नो भाँडा (थाल) माझ्नु हुन्छ, खाना पछि आफ्नो दाँत माझ्नु हुन्छ, भने तपाईंको बच्चाले पनि आफ्नो भाँडामाझ्न सिक्छ । खाना पछि दाँत माझ्न सिक्छ । तपाईंले कडा मेहेनेत गर्नुहुन्छ भने तपाईंको बच्चाले पनि कडा मेहेनत गर्न सिक्छ ।
त्यसैले अव, हामीले आफ्नो बच्चाको प्रगतिका लागि परिवारमा योजना बनाउने, शिक्षामा लगानी बढाउने, बाल बालिकाको शारीरिक, मानसिक, सामाजिक विकासका लागि सानै उमेरदेखि उचित रेखदेख र निगरानी गरेर उनीहरूको समग्र विकासमा जोड दिन सक्यौं भने हामीले चाहेको जस्तो विकास गर्न सक्छौं । र कालान्तरमा समृद समाज बनाउन सक्छौ ।
प्रकाशित मितिः १५ चैत्र २०७७, आईतवार ०६:००
साझा बिसौनी ।