समयमै सतर्कता
कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण हुन सकेको छैन । रोकथामका प्रयासहरू भने भइरहेका छन् । कोरोना संक्रमणको जोखिम हिजो जति थियो आज पनि त्यति नै छ । यद्यपि बीचको समयमा संक्रमण शून्यमा झरेको थियो । त्यसैले नागरिकहरू खुलमखुल्ला स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा नगरी हिँड्न थाले । भिडभाड बढ्यो । यही बेवास्ता र लापरबाहीले फेरि संक्रमितको सख्या थपिन थालेको छ । अहिले दैनिक कोरोना पोजेटिभको संख्या बढ्दो छ । सुर्खेतमै मात्र पनि पछिल्ला समय दिनमा दुई÷तीन जना कोरोना भाइरस संक्रमित भेटिने गरेका छन् । यसले नागरिकलाई फेरि त्रसित बनाएको छ ।
कर्णाली प्रदेशको सिधा सम्पर्क भारतसँग छ । यहाँको ठूलो संख्या रोजगारीको शिलशिलामा भारत पस्छन् । भारत कोरोना संक्रमणको उच्च जोखिममा छ । अहिले पनि त्यहाँको संक्रमणदर उच्च छ । नेपालसँगको खुला सीमानाका कारण आउजाउ भइरन्छ । यसकारण पनि कर्णाली कोरोनाको थप जोखिममा छ । त्यसमाथि मानिसहरूको चहलपहल र भिडभाड बढी हुने भएकाले पनि जोखिम बढ्दो छ । पछिल्लो समय भारतमा कोरोना संक्रमणको दर बढेको छ । केही सहरमा लकडाउन नै भइसकेको छ । लकडाउन हुने डरले कमाइका लागि भारत गएकाहरू यतिबेला धमाधम स्वदेश फर्किन थालेका छन् । केही दिनयता सीमा नाकामा भारतबाट फर्किनेको भिड छ । कोरोनाले अघिल्लो वर्ष दिएको दुःख यस पटक फेरि उसैगरी फर्किएको छ । कोरोनाका कारण यो वर्ष पनि उही नियति दोहोरिएको हो । गत वर्ष कोरोना महामारीका समयमा कर्णाली प्रदेशका मात्र करिब ६० हजार नागरिक भारतबाट फर्किएका थिए । केही समयपछि तीमध्ये अधिकांश पुनः भारत गएका थिए । प्रदेश सरकारले यसरी फर्किएका नागरिकलाई गाउँमै रोजगारी दिने बताएको थियो । चालु आर्थिक वर्षको बजेट र नीतिमा रोजगारमूलक कार्यक्रमलाई प्राथमिकता समेत दिइएको थियो । तर, सरकारले त्यस्ता कार्यक्रम कार्यान्वयन गर्न नसक्दा नागरिकहरू पुनः भारतमै फर्किएका हुन् । यतिबेला भने जोखिम बढेपछि उनीहरू स्वदेश फर्किदैछन् ।
भारतमा कोरोना संक्रमणको दर बढेसँगै यसको प्रभाव कर्णालीमा पनि पर्ने देखिएको छ । यहाँ अधिकांश युवा रोजगारीका लागि भारत जाने गर्दछन् । संक्रमण त्रासले उनीहरू यस पटक पनि गत वर्ष झैं लर्को लागेर घर फर्किन थालेका छन् । भारतमा कोरोनाको दोस्रो लहर फैलिएसँगै कर्णाली फर्किनेहरूको संख्या दैनिक बढ्दै गएको हो । भारतबाट आउनेको संख्या दिन प्रतिदिन बढ्दै गएपछि पूर्व सावधानी अपनाउन थालिएको छ । कर्णाली प्रवेश गर्ने मुख्यद्वार बबई नाकामा रहेको हेल्थ डेक्स राखिएको छ । कर्णालीमा जोखिमको आँकलन गरेर सावधानीका अन्य उपाय पनि अवलम्बन गर्ने भनिएको छ । महामारीको जोखिमसँग लापरबाही गर्नु हुँदैन । बेवास्ता गर्नाले नोक्सान निम्त्याउँछ । त्यसकारण सीमा क्वारेन्टाइनको स्थापना र भारतबाट आउने नागरिकलाई अनिवार्य मापदण्डअनुसार क्वारेन्टाइनमा राख्नेतर्फ ढिलाइ गर्नु हुँदैन । यसले जोखिम न्यूनीकरण गर्न सहयोग पु¥याउनेछ ।
प्रकाशित मितिः १६ चैत्र २०७७, सोमबार ०६:००
साझा बिसौनी ।