खानेपानी आपूर्तिमा चुनौती

सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले १९औं साधारणसभा सम्पन्न गरेको छ । संस्थाले वीरेन्द्रनगरमा शनिवार साधारणसभा गरेको हो । बढ्दो सहरीकरणसँगै वीरेन्द्रनगरमा खानेपानी आपूर्ति गर्न चुनौती भएको संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष कुलमणि देवकोटाले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै खानेपानीका संरचना र स्रोतको पहिचान गरी सुधार विस्तार गरिँदै लगिए पनि मागअनुसारको आपूर्ति गर्न कठिनाइ परिरहेको बताए । उनले उपत्यकामा खानेपानीको दीर्घकालीन समस्या समाधान गर्न सात अर्ब रूपैयाँभन्दा बढी लगानीको बृहत् भेरी पम्पिङ आयोजना सञ्चालनको काम अघि बढाइएको बताएका छन् ।

सेवा क्षेत्रभित्र अव्यवस्थित बस्ती भएकाले पनि वितरण प्रणालीमा असहजता भएको अध्यक्ष देवकोटाले जनाए । सेवालाई प्रभावकारी बनाउन पञ्चवर्षीय योजना बनाइएको, पानीका संरचना थप्ने तथा चुहावट नियन्त्रण, पानी पोखरीहरू निर्माण गरी सञ्चालनमा ल्याइएकोे लगायतका कार्य संस्थाले गरेको प्रगति प्रतिवेदनमा उल्लेख छ । नेकपा एमालेका कर्णाली प्रदेश कमिटी इन्जार्ज एवम् प्रदेशसभा सदस्य यामलाल कंडेलको प्रमुख आतिथ्यतामा भएको सभामा प्रदेशसभा सदस्यद्वय सीता नेपाली र पद्मा खड्का सहभागि थिए । संस्थाका संस्थापक अध्यक्ष बालाराम शर्मा, मूल उपभोक्त समिति, विभिन्न स्किमका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा साधारण सभा सम्पन्न भएको हो ।

प्रकाशित मितिः   १५ चैत्र २०७७, आईतवार ०६:००