समायोजनको प्रभाव

विद्यालयमा बालबालिका नियमित

समायोजनको प्रभाव


वीरेन्द्रनगर–११ को झुप्रा खोलास्थित शान्तिपुरमा नवजीवन प्राथमिक विद्यालय सञ्चालनमा थियो । गत माघ महिनामा यो विद्यालयलाई शिव माध्यमिक विद्यालय धुलियाविटमा समायोजन (मर्ज) गरियो । वादी समुदायका बालबालिका मात्र अध्ययन गर्ने नवजीवनलाई धुलियाविटमा गाभ्नुको कारण थियो, शैक्षिक गुणस्तर सुधार्नु । नवजीवनमा पढ्ने अधिकांश विद्यार्थीहरू नियमित विद्यालय जान्थेनन् । विद्यालय जानेहरू पनि आधा समय मात्र बस्थे । विपन्न तथा सीमान्तकृत समुदायका विद्यार्थी भएकाले उनीहरू खोलामा बालुवा चाल्ने, ट्याक्टरमा बालुवा भर्ने लगायतका काममा लाग्थे ।

विद्यालयमा भौतिक संरचना र जनशक्तिको अभाव उस्तै थियो । विद्यार्थी मात्र होइन शिक्षक पनि नियमित थिएनन् । शिव माविमा गाभ्दा नवजीवनमा २२ जना विद्यार्थी र राहत दरबन्दीमा दुई जना शिक्षक थिए । कक्षा पाँचसम्म उक्त विद्यालय पढेपछि धुलियाविटमा नै पढ्न आउनुपथ्र्यो । झुप्रा खोलाबाट शिव मावि धुलियाविटको दूरी नौ किलोमिटरको छ । बीचमा घना जंगल । सहज यातायातको पहुँच नहुँदा पनि विद्यार्थी नियमित विद्यालय आउन पाउँदैन्थे । जसले गर्दा बीचमै पढाइ छोड्ने विद्यार्थीहरूको दर उच्च थियो ।

बालबालिकाहरू नियमित विद्यालयमा नहुने र बीचमै पढाइ छोड्ने समस्या बढ्दै गएपछि दुई विद्यालय समायोजन गरिएको हो । हाल विद्यालयमा विद्यार्थी नियमित हुुन थालेको र शैक्षिक गुणस्तरमा पनि सुधारका संकेतहरू देखिएको शिव माविका प्रधानाध्यापक पूर्णप्रसाद पौडेलले बताए । सीमान्तकृत बालबालिकाको शिक्षामा पहुँच बढाउन वडा कार्यालयले उल्लेख्य काम गरेको उनले जनाए । दुई विद्यालय मर्ज भएसँगै गुणस्तर शिक्षा प्रदान गर्न भौतिक संरचना तथा शैक्षिक वातावरणमा पनि जोड दिइएको छ । शान्तिपुरबाट विद्यार्थीलाई आउन जान बसको व्यवस्था गरिएको प्रधानाध्यापक पौडेलले बताए ।

कक्षा ५ मा अध्ययनरत छात्रा विनिता वादीले शिव माविमा पढ्न पाउँदा खुसी लागेको बताइन् । ‘गाउँकै विद्यालयमा सुरूमा कक्षा पाँचमा पढ्दा नौ जना साथी मात्र थियौं । पाँच जनाले बीचमै पढाइ छोडे । पछि तीन जना मात्र भयौं । विद्यालयमा पढ्ने र खेल्ने वातावरण पनि थिएन । यहाँ आएपछि साथीहरू पनि धेरै छन् । सबै विषय नियमित पढाइ हुन्छन्,’ विनिताले भनिन् ।

शिव माविमै कक्षा १० मा अध्ययनरत शान्तिपुरकी अरुणा वादीले स्कुल बस भएकाले आउँजाऊ गर्न सहज भएको बताइन् । यसअघि घरबाट विद्यालय आउन हिँडेरै सम्भव नभएपछि उनीसहित अन्य विद्यार्थीहरू टिप्पर, ट्याक्टर र अन्य सार्वजनिक यातायात चढ्न बाध्य थिए । सवारी साधन नपाएका दिन विद्यालय छुट्थ्यो । अहिले नियमित विद्यालय आइरहेको अरुणाले बताइन् ।

शान्तिपुरमा रहेको वादी समुदायमा बीचमै पढाइ छोड्ने विद्यार्थीको दर निकै धेरै छ । कलिलै उमेरदेखि गाडी लाइनमा लाग्ने, कमाउन भारत जाने र बालविवाह गर्ने चलन बढी छ । गत वर्ष नवजीवन प्राविमा ३८ विद्यार्थी भर्ना भएकोमा १६ जनाले बीचमै विद्यालय छोडेका थिए । पढाइ छाडेका विद्यार्थीलाई पुनः विद्यालयमा नियमित गराउने पहल थालिएको प्रधानाध्यापक पौडेल बताउँछन् ।

वडा नं. ११ का अध्यक्ष नन्दलाल शर्माले विद्यालयको शैक्षिक अवस्था सुधार्न थुप्रै प्रयासहरू थालिएको बताएका छन् । उनले वडा कार्यालयले एक गैरसरकारी संस्थाको सहयोगमा विद्यार्थीहरूका लागि स्कुल बसको व्यवस्था गरेको जनाए । ‘विद्यार्थी ओसार्न बस भाडामा लिइएको छ,’ उनले भने, ‘बस सञ्चालनलगायतका कामका लागि मासिक एक लाख ४५ हजार खर्च वडा कार्यालय र लब एण्ड होप संस्थाले बेहोरिरहेका छौं ।’ अध्यक्ष शर्माले वादी समुदायका बालबालिकालाई सहज शिक्षाको पहुँचमा पु¥याउन सुधारका कामहरू थालिएको बताए । ‘त्यहाँ (नवजीवन) विद्यालयको अवस्था एकदमै नाजुक थियो । विद्यालय छोड्ने संख्या अधिक थियो,’ उनी भन्छन्, ‘यो समस्या अभिभावकहरूलाई बुझाएर विद्यालय गाभेका हौं । अहिले अभिभावकहरू पनि खुसी हुनुुहुन्छ ।’ शिव माविले आफ्नै बस किन्न पहल पनि थालेको छ । त्यसका लागि प्रदेश सरकारसँग अनुरोध गरिएको बताइएको छ ।

सरकारले कम विद्यार्थी भएका विद्यालय समायोजन गर्ने प्रयास थालेको झण्डै सात वर्ष भए पनि स्थानीय सरकारहरू बनेपछि मात्रै यसको कार्यान्वयनले गति लिएको छ । पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारका लागि विद्यालय समायोजनलाई स्थानीय तहहरूले प्राथमिकतामा राखेका छन् । सरकारले वि.सं.२०७० सालमा विद्यालय समायोजनका लागि निर्देशिका तयार पारेको थियो । सोहीअनुसार सुर्खेतका स्थानीय तहहरू विद्यालय गाभ्ने अभियानमा जुटेका हुन् । विद्यार्थी कम र शिक्षक धेरै भएपछि नजिकको दूरीमा रहेका विद्यालय मर्ज गर्न थालिएको हो । सुर्खेतमा हालसम्म ५९ वटा विद्यालय समायोजन भइसकेका छन् ।

प्रकाशित मितिः   १४ चैत्र २०७७, शनिबार ०६:००