पठनपाठन प्रभावित

जुम्ला:  जुम्लाको तातोपानी गाउँपालिका–७ ताम्तीमा रहेको विद्यालयको छाना छैन । हावाहुरीले विद्यालयको छाना उडाएपछि पठनपाठन प्रभावित भएको छ । चैत १ गते बेलुकाको हावाहुरीले ताम्तीको जनजागृति माध्यमिक विद्यालयको छाना फालेको हो ।

कोरोना महामारीमा लामो समय बन्द भएको विद्यालयको पढाइ पुनः प्रभावित भएको छ । विद्यालयमा चार सय विद्यार्थी अध्ययनरत छन् । उनीहरूलाई खुला चौरमा राखेर पढाउने गरिएको प्रधानाध्यापक जनक रावतले बताए ।

‘हावाहुरीले छानो उडायो,’ उनी भन्छन्,‘ विद्यार्थीलाई बाहिरै राखेर पढाउने गरेका छौं । पठनपाठन निकै प्रभावित बनेको छ ।’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक रावतले दुईकोठे भवनको छाना हावाहुरीले उडाएको बताए । बाँकी भवनका भित्ता र छाना पनि जीर्ण भएको उनी बताउँछन् । विद्यार्थीहरूलाई सुरक्षित रूपमा पढाउन भवनहरू नहुँदा समस्या भएको अध्यक्ष रावतको भनाइ छ ।

भौतिक संरचना नहुँदा विद्यार्थीहरू घामपानी सहन बाध्य छन् । विद्यालयको छाना फेर्न आर्थिक स्रोत समेत जुटेको छैन । निजी स्रोतका शिक्षकहरूलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्ने विद्यालयलाई छाना फेर्न कठिनाइ भएको हो । विपद्ले पु¥याएको क्षतिको मूल्याङ्कन गरी विद्यालय मर्मतमा सघाउने तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपाने बताएका छन् ।

प्रकाशित मितिः   ९ चैत्र २०७७, सोमबार ०९:३२