एसिया कपमा नेपाल आज श्रीलङ्कासँग खेल्दै
एसिया कप महिला टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गतको दोस्रो खेलमा नेपालले आज (सोमबार) श्रीलङकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार पौने एक बजेपछि थाइल्याण्डस्थित थाइ क्रिकेट स्टेडियमम सुरु हुनेछ ।
सोमबार दुवै टोली मैदान उत्रदा दुवै टोली पहिलो जितको खोजीमा हुनेछ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ९ विकेटले तथा श्रीलङ्का पनि पाकिस्तानसँग नै ८ विकेटले पराजित भएको थियो । नेपाल र श्रीलंकाको महिला टोली दोस्रो पटक आमने सामने हुन लागेको हो ।
यसअघि सन् २०१२ मा भएको खेलमा नेपाल श्रीलंकासँग २० रनले पराजित भएको थियो । नेपालको तुलनामा टेष्ट मान्यता प्राप्त श्रीलङ्काको महिला टोली बलियो देखिएको छ । तर, पहिलो खेलमा श्रीलङ्काले सोचेअनुरुप खेल्न सकेको थिएन । सन् १९९७ मा नेदरल्याण्डसँग खेल्दै एकदिवसीय क्रिकेटमा डेब्यु गरेको श्रीलंकाली महिला टोलीले त्यही वर्ष भारतमा भएको विश्वकप क्रिकेट खेलेको थियो ।
श्रीलङ्कालाई पराजित गर्न नेपालको ब्याटिङ र बलिङ दुवै चल्नुपर्ने हुन्छ । पाकिस्तानविरुद्धको पहिलो खेलमा नेपालको बलिङ केही राम्रो भएपनि ब्याटिङ चल्न नसक्दा नेपाल पराजित भएको थियो ।
एसिया कप महिला क्रिकेटमा आयोजक थाइल्याण्डसँगै नेपाल तथा एसियाका टेष्ट खेल्ने चार राष्ट्र भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशले प्रतिस्पर्धा गरिरहेको छ । राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा नेपालले तेस्रो खेलमा २९ मा बंगलादेश, डिसेम्बर १ मा थाइल्याण्ड र डिसेम्बर २ मा भारतसँग खेल्नेछ ।
प्रकाशित मितिः १३ मंसिर २०७३, सोमबार ११:५६
साझा बिसौनी ।