आगलागीको जोखिम

कर्णाली प्रदेशका विभिन्न जिल्लामा बर्सेनि आगलागीका घटना हुन्छन् । सिङ्गो बस्ती नै जलेर सखाप हुने गरेका छन् । ठूलो जनधनको क्षति हुँदै आएको छ । विशेष गरेर माथिल्लो कर्णालीका बस्तीमा घटना दोहोरिरहन्छन् । यस वर्ष पनि केही बस्तीमा आगलागी भयो । सामान्यतया गर्मीयाममा आगलागीको जोखिम बढी हुने गरेको छ । तर हिउँदको समयमा पनि कर्णालीका बस्ती आगलागीबाट सखाप हुने घटनालाई गम्भिरतापूर्वक लिइएको छैन । यसलाई प्राकृतिक विपद् वा घटनाका रूपमा हेर्ने गरिएको छ । आगलागीको कारण र घटना दोहोरिन नदिन अपाउनुपर्ने सतर्कता भने अपनाइएको छैन । प्रायः आगलागीका घटना मानवीय त्रुटिले निम्तिने गरेका छन् । यसबाहेक कर्णालीका बस्ती तथा सामुदायिक वनमा आगलागी हुनुका अन्य कारण पनि छन् । खर तथा फुसका छाना, काठले बनाइएका कच्ची घर, वनजङ्गल नजिकै बस्ती जस्ता कारण आगलागीका घटना बढी हुने गरेका हुन् । हिमाली क्षेत्रमा घरहरू जोडेर बनाइने भएकाले एउटा घरमा आगो लाग्ने बित्तिकै अरु घरहरूसमेत जल्ने समस्या छ । भौगोलिक विकटता र पानीको सहज उपलब्धता नहुँदा आगो नियन्त्रणमा समेत कठिनाइ हुने गरेको छ ।

बस्तीमा आगलागी हुने घटना एकातिर छन् भने सामुदायिक वनमा पनि यसैगरी आगलागी हुने गरेको छ । आर्थिक वर्ष २०७३÷०७४ मा दुई सय २४ वटा आगलागीका घटना भएका थिए । ती घटनामा चार जनाको मृत्यु र सात जना घाइते भए । आर्थिक वर्ष २०७४÷०७५ मा एक सय ९१ आगलागीका घटना भएकोमा पाँच जनाको मृत्यु भयो भने १२ जना घाइते भए । आठ करोड ६६ लाख ६४ हजार सात सय बराबरको धनमालको क्षति भएको प्रहरीले जनाएको छ । यस्तै, आर्थिक वर्ष २०७५÷०७६ मा कर्णालीमा दुई सय आठ वटा आगलागीका घटना भए । यी घटनामा तीन जनाको मृत्यु भयो भने १० जना घाइते भएका थिए । सोही वर्ष चार करोड ६३ लाख ४२ हजार बराबरको भौतिक संरचनामा क्षति पुगेको प्रहरीले जनाएको छ । २०७६÷०७७ मा एक सय ६० वटा आगलागीका घटना भएका छन् । आगलागीमा परेर चार जनाको मृत्यु भएको छ । ८९ पशुचौपाया मरेका छन् । आगलागीका कारण एक अर्ब ५१ करोड ५६ लाख ४८ हजार बराबरको सम्पत्तिमा क्षति पुगेको छ । चालु आर्थिक वर्षको यो अवधिसम्म ४७ वटा आगलागीका घटना भइसकेका छन् । आगलागीबाट सात जनाको मृत्यु भएको छ भने नौ करोड ६४ लाख ७९ हजार रूपैयाँ बराबर क्षति भएको छ ।

उल्लेखित तथ्याङ्कले कर्णाली आगलागीको उच्च जोखिममा रहेको देखाउँछ । हरेक वर्ष आगलागी हुन्छ । सरकारका तर्फबाट तत्कालीन राहत घोषणा हुन्छ । पीडितहरूको उचित व्यवस्थापन हुन सकिरहेको छैन । अर्कोतर्फ यस्ता घटना दोहोरिन नदिन कुनै योजना पनि बनाइएको छैन । यही गैरजिम्मेवारीपनले क्षति बर्सेनि बढ्छ । नागरिक र राज्य दुवैपक्ष सचेत हुन जरुरी छ ।

प्रकाशित मितिः   ५ चैत्र २०७७, बिहीबार ०६:००