सहज कर्जाले उद्यमी उत्साहित
वीरेन्द्रनगर–११ गाग्रेतालका खड्ककुमार भट्टराईको मसला उद्योग छ । १४ वर्षदेखि मसला उद्योग सञ्चालन गर्दै आएका उनले थुप्रै पटक बैंकसँग कारोबार गरे । उद्योगमा लगानी बढाउन बैंकसँग कारोबार गरिरहनुपर्ने उनलाई बैंकिङ्ग प्रक्रिया निकै झन्झटिलो लाग्थ्यो । महिनौं लगाएर कागजपत्र मिलाए पनि भनेजति र जसरी ऋण पाउन मुस्किल हुन्थ्यो । ‘बैंककको झमेलाले यसअघि लगानीमा उत्साह नै जाग्दैनथ्यो,’ भट्टराई भन्छन् । व्यवसायमा ठूलो लगानी गर्न चाहे पनि उनले बैंकले मूल्याङ्कन गर्ने न्यून ऋण लिएर चित्त बुझाउनुपथ्र्यो ।
सरकारका सानातिना कार्यक्रमका अनुदानबाहेकका अन्य सुविधा भट्टराईले लिन पाएका पनि थिएनन् । तर अहिले उनलाई कर्णाली प्रदेश सरकारको ब्याज अनुदान कार्यक्रमले लगानीमा हौसला बढाएको छ । सहज कर्जा पाएपछि उनी मात्र होइन धेरै उद्यमीहरू उत्साहित बनेका छन् । भट्टराईले अहिले व्यवसायमा लगानी गर्न कृषि विकास बैंकबाट एक करोड रूपैयाँ ऋण पाएका छन् । कर्णाली प्रदेश सरकारको ब्याज अनुदानमा कार्यक्रम अन्तर्गत उनले बैंकबाट सहज कर्जा पाएका हुन् ।
‘प्रदेश सरकारको ब्याज अनुदान कार्यक्रमले सहज भयो,’ उनले भने, ‘सरकारको ब्याज अनुदान कार्यक्रम नभएको भए बैंकको प्रक्रिया पु¥याउनै समस्या हुन्थ्यो ।’
व्यावसायिक रूपमा उद्यम गरिरहेका उद्यमीलाई सरकारले ल्याएको कार्यक्रमबाट सहजता भएको उनले बताए । सरकारले ७ प्रतिशत ब्याज तिरिदिने भएपछि उद्यमीलाई ब्याजको भार समेत कम भएको उनी बताउँछन् ।
प्रदेश सरकारले दिएको ब्याज अनुदानको सुविधा लिने अर्का व्यवसायी हुन् वीरेन्द्रनगर नगरपालिका–९ का राजबहादुर शाह । उनले एक करोड लगानी गरी अर्गानिक कृषि फर्म सञ्चालन गरेका छन् । शुभकालिका अर्गानिक कृषि फर्ममा उनले कुखुरा, माछा र तरकारी उत्पादन गर्छन् । लामो समयदेखि कृषि क्षेत्रमा संलग्न शाहले पनि बैंकसँग धेरै पटक कारोबार गरे । थुप्रै पटक ऋण लिएर लगानी गरे । तर, यो पटक भने उनले सहज रूपमा ऋण पाएको बताए ।
प्रदेश सरकारको ब्याज अनुदान कार्यक्रमबाट ५० लाख रूपैयाँ लिएका उनलाई बल्ल यो कार्यक्रम किसान तथा उद्यमीमैत्री लागेको छ । मझौला किसानलाई लक्षित गरी ल्याइएको कार्यक्रमले किसानलाई लगानीमा प्रोत्साहन गरेकी उनी बताउँछन् । बैंकबाट छिटो र सहज काम हुँदा उद्यमीहरूको लगानीमा आकर्षण बढ्ने बताए । ब्याज अनुदान ऋण पाएका उनले हाल लोकल कुखुरा, बट्टाई, लौकाट जातका कुखुराका चल्ला उत्पादनको काम पनि सुरू गरेका हुन् ।
प्रदेश सरकारले बैंकसँग सम्झौता गरेपश्चात मंसिर महिनादेखि उद्यमीहरूले ऋण लिन सुरु गरेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी रामभक्त अधिकारीले बताए । उनका अनुसार हालसम्म प्रदेशभर ३० जना उद्यमीले ब्याज अनुदान अन्तर्गत ऋण प्राप्त गरिसकेका छन् । जसका लागि मन्त्रालयले आठ लाख २८ हजार दुई सय १५ रूपैयाँ ब्याज बैंकलाई भुक्तानी गरिसकेको छ । ब्याज अनुदान दुई लाख ७८ हजार दुई सय १५ र सेवा शुल्क पाँच लाख ७५ हजार भुक्तानी गरिएको हो । मन्त्रालयका अनुसार सुर्खेत, जाजरकोट, कालीकोट, दैलेख र सुर्खेतका उद्यमीहरूले व्यवसायमा लगानी बढाउन ब्याज अनुदानमा ऋण लिएका हुन् ।
प्रदेश सरकारले व्यावसायिक कृषि तथा पशुपंक्षीपालन व्यवसायका लागि ब्याज अनुदान कार्यक्रम कार्यविधि २०७६ बमोजिम उद्यमीलाई ऋण प्रवाह गर्दै आएको छ । कर्णालीमा उद्यम गर्न चाहनेले वार्षिक २ प्रतिशत ब्याजदरमा एक करोडसम्म ऋण प्रवाह गर्ने गरी राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक लिमिटेड प्रदेश कार्यालयबीच प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सम्झौता गरेको छ । सम्झौता अनुसार व्यवसायी वा कृषकले एक करोडको ऋणमा वार्षिक दुई प्रतिशत भने आफैं ब्याज तिर्नुपर्ने हुन्छ । ७ प्रतिशत ब्याज सरकारले तिर्ने व्यवस्था मिलाइएको छ ।
यो सुविधा अन्तर्गत उद्यमीलाई व्यवसायको प्रकृति र कार्ययोजना हेरेर एक लाखदेखि एक करोडसम्म ऋण दिने गरिएको छ । ऋण लिनका लागि धितो भने अनिवार्य गरिएको छ । ब्याज अनुदान कार्यक्रम प्रदेशका १० वटै जिल्लाका १८ वटा कृषि विकास बैंकका शाखाबाट कार्यान्वयन गरिनेछ ।
साझा बिसौनी ।