बाल विवाह रोक्न किशोरीलाई परामर्श

बाल विवाहविरुद्धको एक दिने परामर्श कार्यक्रम सम्पन्न भएको छ । १११औं अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भ पारेर आवाज संस्थाको समन्वयमा सामाजिक विकास मन्त्रालय र एसओएस बालग्राम सुर्खेतले किशोरीहरूका लागि परामर्श कार्यक्रम गरेका हुन् ।

कर्णाली प्रदेशमा बाल विवाहका कारणले महिलाहरूको समग्र विकासमा नकारात्मक प्रभाव परेको कार्यक्रमका सहभागीले जनाएका छन् । कम उमेरमा विवाह गर्ने प्रचलन अझै पनि व्याप्त रहेको भन्दै यसको न्यूनीकरणका लागि सरोकारवालालाई परामर्श दिइएको आयोजक संस्थाले जनाएका छन् । एसओएस बालग्राम सुर्खेतका निर्देशक मुकुन्दकुमार गिरीले विद्यालय उमेरका किशोर किशोरीलाई कलिलो उमेरमा विवाह गर्दा हुने जोखिम र कानुनी व्यवस्थाबारे जानकारी गराउनु आवश्यक रहेको बताए ।

कार्यक्रममा सुर्खेत र दैलेखका विभिन्न निजी तथा सामुदायिक विद्यालयका ४४ जना किशोरीहरूको सहभागिता थियो । किशोरीहरूलाई विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाका प्रतिनिधि, कानुन व्यवसायी, जनप्रतिनिधि, चिकित्सक र मनोविमर्शकर्ताहरूले सुझाव तथा परामर्श दिएका थिए ।

कर्णालीमा बाल विवाह न्यूनीकरणका लागि भएका प्रयास, बाल विवाहका कारण तथा असर, यौन दुव्र्यवहार, वालविवाह सम्बन्धी कानुनी प्रावधान र मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग सम्बन्धी विषयमा सहजीकरण गरिएको थियो ।

प्रकाशित मितिः   २ चैत्र २०७७, सोमबार ०६:००