आफुखुसी मासुको मूल्य वृद्धि
सुर्खेत, १२ मसिर । यहाँका व्यवसायीहरुले आफूखुसी मासुको मूल्यवृद्धि गरेका छन् । प्रति केजी पाँच सयमा बिक्री हुँदै आएको खुसीको मासुको मूल्य वृद्धि गरी ६ सय रुपैयाँ बनाइएको हो ।
स्थानीय प्रशासनसँग भएको सहमतिविपरीत सुर्खेतका व्यवसायीले खसीको मासुको मूल्य बृद्धि गरेका छन् । झन्डै दुई महिनाअघि राष्ट्रिय उपभोक्ता मञ्च, व्यवसायी, प्रहरी र जिल्ला प्रशासन कार्यालयबीचको सहमतिमा मूल्य निर्धारण गर्ने भनिएको थियो । व्यवसायीले गत मंगलबारदेखि प्रतिकिलो एक सय रुपैयाँ बढाएर ६ सय पु¥याएका छन् ।
सुर्खेतका निमित्त प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले कुनै पनि व्यापारीले आफूखुसी मूल्य बृद्धि गर्न नपाईने बताए । उनले वस्तुको मूल्य बजारको माग र आपूर्तिमा निर्भर गरेपनि मासुको मूल्य बृद्धि गर्न आवश्यक छ, छैन छिट्टै सरोकारवाला र मासु व्यवसायीसँग छलफल गर्ने उल्लेख गरे ।
जिल्लाबाट बुटवल, भैरहवा, पोखरा, काठमाडौं जस्ता ठूला शहरमा खसी, बोका निर्वाधरुपमा बाहिरीन थालेपछि मासुको मूल्य बढाइएको सुर्खेत मासु व्यवसाय संघले जनाएको छ । किसानबाट बढीमूल्य दिएर बाहिरी जिल्लाका व्यापारीले खसीबोका खरिद गरेपछि मूल्य बढाउनु परेको संघका अध्यक्ष जनक थापाले जनाए । तीन महिना अघि प्रतिकिलो तीन सय ३० रुपैयाँमा खरिदविक्री भएको जिउँदो खसी अहिले बढेर तीन सय ६० प्रतिकिलो खरिद गर्नु पर्दा मूल्य बढाउन बाध्य हुनु परेको उनले बताए । उनका अनुसार मूल्य समायोजनका लागि अब खसीबोकाको मासु प्रतिकिलो ६ सय रुपैयाँमा विक्री वितरण हुने छ ।
मासु व्यवसायीले आफूखुसी मूल्य बृद्धि गरी मंसिर ७ गते देखि प्रतिकिलो ६ सय रुपैयाँमा विक्री वितरण गरिरहेका छन् । जिल्लाका सबै सरोकारवाला तथा उपभोक्तालाई पूर्व जानकारी गराएर खसीको मासुको मूल्य बृद्धि गरिएको संघले जनाएको छ ।
प्रकाशित मितिः १२ मंसिर २०७३, आईतवार १८:४५
साझा बिसौनी ।