एमालेमा जिम्मेवारी हेरफेर

कर्णाली इञ्जार्चमा कँडेल, मंसिरमा महाधिवेशन

सर्वोच्च अदालतको फैसलापछि केही दिन पहिले ब्युँतिएको नेकपा एमालेमा जिम्मेवारी हेरफेर गरिएको छ । एमाले ओली पक्षीय केन्द्रीय कमिटी बैठकले सात प्रदेशका इन्चार्जसहित पदाधिकारी तोकेको छ । शुक्रवार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले एमालेको विधानमा रहेको ‘बाधा अड्काउ फुकाउ’ को व्यवस्था प्रयोग गरेर सात प्रदेशका इञ्चार्ज र केहीमा पदाधिकारी परिवर्तन गरेको हो ।

एमालेले पार्टीका प्रदेश पदाधिकारी, कमिटी र विभागमा नयाँ जिम्मेवारी तोकेको छ । कर्णाली प्रदेशको इञ्चार्जबाट युवराज ज्ञवालीलाई हटाएर यामलाल कँडेललाई जिम्मेवारी दिइएको छ । कँडेल विघटित नेकपाको कर्णाली सह–इञ्चार्ज थिए भने त्यसभन्दा पहिले एमालेका पोलिटब्यूरो सदस्य हुन् ।

यस्तै, प्रदेश कमिटीमा सह–इञ्चार्ज गोरख बोगटीलाई बनाइएको छ । उनी यसअघि नेकपाको प्रदेश कमिटी अध्यक्ष थिए । एमाले प्रदेश अध्यक्षको जिम्मेवारी गुलाबजंग शाहलाई दिएको छ । शुक्रवार जिम्मेवारी पाउने सबै नेता एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली निकट हुन् । धर्मराज रेग्मी प्रदेश कमिटीको सचिव भएका छन् । उनी केही समय पहिले मात्र केपी ओली समूहमा भित्रिएका हुन् । रेग्मी माओवादी केन्द्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । एमाले र माओवादी केन्द्र एकीकरण भएपछि बनेको नेकपामा उनी ओली समूहमा लागेका थिए । माओवादी केन्द्रबाट प्रदेशसभामा निर्वाचित ठम्मर विष्ट पनि एमालेमा प्रवेश गरेका छन् । उनलाई एमालेले केन्द्रीय सदस्य बनाएको छ ।

एमाले अध्यक्ष ओलीले पार्टीको बैठक नै नराखी माधवकुमार नेपाल समूहका नेताहरूलाई जिम्मेवारीबाट हटाइएको छ । सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि ब्युँतिएको एमालेका अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक ७ चैतमा बोलाएका छन् । तर बैठकको एक साताअघि नै आफ्नो समूहको बैठक राखेर ओलीले महासचिवबाहेकका सबै पदाधिकारी हटाएका छन् । बैठकले साविकको नेकपा दुई खेमामा विभाजित हुँदा आफ्नो समूहले गरेको नियुक्तिलाई नै निरन्तरता दिने निर्णय गरेको छ ।

यस्तै, प्रदेश १ को इञ्चार्जमा भीम आचार्यलाई हटाएर सुवासचन्द्र नेम्वाङ, बाग्मती प्रदेशको इञ्चार्जमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापा बादल, सुदूरपश्चिम प्रदेशको इञ्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी तोकिएको छ । प्रदेश २ मा भने सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीमा शंकर पोखरेल कायमै छन् । उनीहरू ओली पक्षका नेताहरू हुन् । यस्तै विदेश विभाग प्रमुखमा माधवकुमार नेपाललाई हटाएर राजन भट्टराई तोकिएका छन् ।

एमाले र माओवादी केन्द्रबीच एकता हुनुपूर्व एमालेमा प्रदेश कमिटी नभएर अञ्चल कमिटी रहेको र त्यसलाई परिवर्तन गर्नका लागि विधानको बाधा अड्काउ फुकाउको व्यवस्था प्रयोग गरिएको ओली समूहका नेताहरूले बताएका छन् ।

त्यस्तै, केन्द्रीय महाधिवेशन आयोजक कमिटीमा रामबहादुर थापा पक्षका नेताहरूलाई मनोनयन गरिएको छ । जसमा रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, प्रभु साह, दावा लामा, टंक आङबुहाङ, पासाङ शेर्पा, छन् । यसैगरी, ज्वाला साह, टेकबहादुर बलामी, कमल जंग, मनोज थापा, विषमलाल अधिकारी, लिलाबहादुर थापा, दधिराम न्यौपाने, दिनेश पन्थी, नवीन रोका, धर्मराज रेग्मी, डम्बर विष्ट, गौरीशंकर थारु, झपट बोहरा, चन्द्रबहादुर खड्कालाई महाधिवेशन आयोजक कमिटीमा राखिएको छ । नेकपा एमालेको दशौं महाधिवेशन आउँदो मंसिर २ देखि ६ गतेसम्म हुने भएको छ । अध्यक्ष ओलीले आफू निकट नेताहरूको बैठक राखेर महाधिवेशनको मिति तोक्ने निर्णय गरेका हुन् ।

प्रकाशित मितिः   २९ फाल्गुन २०७७, शनिबार ०६:०१