इतिहासको संरक्षण
इतिहासको संरक्षण गर्ने थलो हो, संग्रहालय । कर्णालीको मौलिक इतिहास संरक्षण, प्रवद्र्धन र प्रदर्शनका लागि वीरेन्द्रनगरमा पनि संग्रहालय स्थापना गरिएको छ । साविकको क्षेत्रीय संग्रहालय अहिले प्रादेशिक बनेको छ । यसको मुख्य उद्देश्य कर्णाली प्रदेशको मौलिकता जोगाउनु हो । त्यसैले उक्त संग्रहालयमा ऐतिहासिक एवम् पुरातात्विक सामग्रीहरू राखिएको छ । यहाँको मौलिक भेषभूषा, जनजीवन, सामाजिक तथा सांस्कृतिक पक्ष झल्काउने वस्तुहरू छन् । आधुनिकताले विगतको मौलिकता लोप हुँदै गइरहेको बेला तिनको संरक्षण जरुरी छ । संरक्षणको दायित्व राज्यको हो, जस अनुसार संग्रहालय निर्माण गरिएको छ ।
कर्णाली विविधतायुक्त भूगोल हो । यहाँ भौगोलिक विविधताका साथै सांस्कृतिक तथा सामाजिक विविधताले पनि भरीपूर्ण छ । जात, धर्म वा संस्कारमा हुने फरकपन अनुसार जीवनशैली पनि फरक छ । सांस्कृतिक पहिचान झल्काउने अलग अलग सामग्रीहरू छन् । मगर समुदायको सामाजिक तथा सांस्कृतिक पक्ष होस् या विश्वकै लोपोन्मुख राउटे जातिको । ती अलग–अलग पहिचान दिने सामग्रीहरू आजका लागि मात्रै होइन भोलि आउने पुस्ताका लागि खोज र अनुसन्धानका विषय हुन सक्दछन् । यसकारण पनि तिनको संरक्षण अपरिहार्य छ । कर्णालीमा प्रदेशस्तरको संग्रहालय त छ, तर त्यसको सुधार र स्तरोन्नति जरुरी भइसकेको छ । भौतिक संरचना, आवश्यक जनशक्ति, पर्यटक तथा अनुसन्धानकर्ताहरूलाई आकर्षित गर्ने ऐतिहासिक तथा पुराताŒिवक वस्तुहरू थोरै मात्र प्रदर्शनीमा राखिएका छन् । संग्रहालयमा कर्णाली प्रदेशको मौलिकतालाई झल्काउने प्रयास त गरिएको छ तर अपेक्षाकृत रूपमा छैनन् । लोप भएका तर कर्णालीको मौलिक पहिचान झल्काउने सामग्री, तस्विर, पोशाक, विभिन्न ऐतिहासिक वस्तुहरूलाई प्राथमिकता दिएर प्रदर्शन कक्षमा राखिएको छ । पुराना तथा लोप भइसकेका भेषभूषा, गरगहना, भाँडाकुडा, पानीघडी, ढिकी लगायतका सामग्री छन् । मगर, थारु, राउटे, कुमाल, लामा जातिका समुदायको कला, संस्कृति झल्काउने सामग्री पनि यहाँ प्रदर्शनीमा राखिएको छ । यस्तै, संग्रहालय पुग्नेहरूले पहिले सुर्खेत उपत्यका कस्तो थियो भन्नेबारे आधा घण्टाको ‘भिडियो डकुमेन्ट्री’ समेत हेर्न पाउँछन् ।
इतिहास संरक्षणको अपरिहार्यतालाई संग्रहालयले केही रूपमा भए पनि ग्रहण गरेको छ । तर थप सुधारको जरुरी छ । पछिल्लो समय सुधारको प्रयास भने भएका छन् । कर्णालीको कला, संस्कृति र इतिहासलाई प्राथमिकता दिएर संग्रहालयको स्वरूप बदल्ने काम सुरू भएको छ । सामग्रीहरू राख्ने ग्यालरी, सीसी क्यामेरा, गार्डेनको राम्रो व्यवस्थापन गरिएको छ । रंगरोगन गरेर आकर्षित बनाइएको छ । पुस्तकालय समेत बनाइँदै छ । पुस्तकालयमा विभिन्न ऐतिहासिक, धार्मिक, कला, साहित्य तथा सूचना प्रविधिलगायतका पुस्तक एवम् पाठ्य सामग्रीहरू राखिने छ । संग्रहालय र अभिलेखालयका लागि अर्को नयाँ भवन निर्माणाधीन अवस्थामा छ । जुन अवस्थामा संग्रहालय छ त्यसलाई संरक्षण, सुधार र स्तरोन्नति गर्न सकेमा यसले इतिहासको संरक्षण गर्न त सघाउँछ नै साथसाथै आर्थिक लाभ पनि दिलाउँछ । संग्रहालय पर्यटकीय स्थल पनि हो । आन्तरिक तथा बाह्य पर्यटकहरू आकर्षित गर्न सकेमा पर्यटन क्षेत्रको विकासमा समेत टेवा पुग्दछ ।
प्रकाशित मितिः २८ फाल्गुन २०७७, शुक्रबार ०६:००
साझा बिसौनी ।