युवा सहभागितामा खोजी
जगत खत्री सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को मिडिया सहजकर्ता हुन् । भोलेन्टियरी सर्भिस ओभरसिस (भीएसओ) को मिडिया भोलेन्टेयरको रूपमा काम गर्दै आएका उनले एक कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीसँग युवाको सहभागिताबारे प्रश्न उठाए । ‘विपद् व्यवस्थापनका नीति तथा योजना निर्माणमा युवाको सहभागिता खोइ ?,’ उनले भने, ‘युवा सहभागिता नभएको क्षेत्रमा दिगो विकासको परिकल्पना गर्न सकिदैन ।’ भीएसओ नेपालले वीरेन्द्रनगरमा आयोजना गरेको कार्यशालामा गोष्ठीमा उनले यस्तो प्रश्न गरेका हुन् ।
सरकारी निकायले गर्ने सार्वजनिक सुनुवाइ, सामाजिक लेखा परीक्षण लगायतका कार्यक्रममा समेत युवाहरूको सहभागिता नदेखिएका खत्रीले बताए । युवा संस्थाका प्रतिनिधि प्रेम वलीलेसमेत युवाहरूको सहभागिता सबै क्षेत्रमा सुनिश्चित हुनुपर्ने औंल्याए । युवा नीति निर्माण गरी राज्यले उनीहरूको क्षमतालाई प्रयोग गर्नुपर्ने भन्दै उनले सरकारी निकायले यसमा बेवास्ता गर्न नहुने धारणा राखे ।
विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन अनुकूलन परियोजना (प्रयास) का कार्यक्रम संयोजक पूजा श्रेष्ठले युवासँग मिलेर सुर्खेतका तीन वटा स्थानीय तहमा विपद् व्यवस्थापन सम्बन्धी काम गरिरहेको जानकारी दिइन् । भीएसओ तथा युवाहरूको लागि युवा संस्था (आयोन) अन्तर्गत सञ्चालित विपद् व्यवस्थापनका क्षेत्रमा काम गर्दै आएको प्रयास परियोजनाको अनुगमन गर्ने विषयमा प्रभाव मापन गोष्ठीको आयोजना गरिएको थियो । सिकाइ तथा सशक्तीकरणका लागि आयोजना गरिएको गोष्ठीमा भेरीगंगा नगरपालिका, वीरेन्द्रनगर नगरपालिका र लेकवेशी नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।
प्रकाशित मितिः २२ फाल्गुन २०७७, शनिबार १०:४१
साझा बिसौनी ।