२१ सय हेक्टरमा लगाइएको हिउँदेबाली सुक्यो
जुम्ला: जुम्लाको चन्दननाथ नगरपालिका–१ ठिन्केदेखि कोटाभिरसम्मको सडक निर्माणका क्रममा सिंचाइ कुलो अवरुद्ध भएपछि झण्डै ६ सय घरधुरी मर्कामा परेका छन् । ठेकेदार कम्पनीले कुलो मर्मतमा बेवास्ता गर्दा २१ सय हेक्टर जमिनमा सिँचाइ पूर्ण रूपमा प्रभावित भएको छ ।
स्थानीय परशुराम आचार्यले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको बताए । स्थानीय किसानहरूले वडा कार्यालय र पूर्वाधार विकास कार्यालयमा कुलो सुचारु गरिदिन निवेदन दिएका हुन् । ‘यो वर्ष न हिउँ पर्यो, न त सिँचाइ नै गर्न सकियो । हिउँदेबाली खडेरीले खाने भयो ।’ उनले भने ।
पूर्वाधार कार्यालय र किसानबीच यसअघि कुलो मर्मत तथा सफाइ गरी सुचारु गर्ने मौखिक सहमति भएको थियो । स्थानीय भन्छन्, ‘पूर्वाधार कार्यालय ठेकेदारले सफाइ गर्छ भनेर पन्छिन्छ । ठेकेदारले पूर्वाधार कार्यालयले गर्छ भन्छ । हामी किसानलाई अलमलमा पार्ने काम मात्र भइरहेको छ ।’ गत वर्षसमेत कुलो अवरुद्ध हुँदा मार्सी धानको रोपाइँ प्रभावित बनेको थियो ।
यहाँका किसानले हरेक वर्ष मंसिरमा सिँचाइ गरेर जौं छर्ने गर्छन् । सुख्खा खेतमा बाली लगाएकाले यस पटक जौंका बोट सुकिसकेको किसानहरूले बताएका छन् । चन्दननाथ नगरपालिकाका वडा नम्बर १, २, ३ र ५ का किसानको अधिकांश जमिन यतिबेला सिँचाइ अभावमा सुख्खा बनेको छ । अझै पनि कुलो मर्मत नगरे आन्दोलित हुने किसानहरूको चेतावनी छ ।
यता पूर्वाधार विकास कार्यालयका प्रमुख रूपबहादुर रावलले कुलो सफाइ गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिइसकेको जनाएका छन् । सडक निर्माणको जिम्मा लिएको बानियाँ निर्माण सेवालाई जतिसक्दो छिटो कुलो मर्मत तथा सफाइ गरी सुचार गर्न निर्देशन दिइसकिएको प्रमुख रावलले बताए । बानियाँ निर्माण सेवाका प्रतिनिधि सुवास महतले आउँदो शनिवारबाट कुलो सफाइ गर्ने बताएका छन् । ‘हामीले जानाजान कुलो अवरुद्ध पारेका होइनौं । सकेसम्म कुलो बचाउने गरी काम गरिएको हो । किसानको हिउँदेबाली सिँचाइ गर्न समस्या भयो । अब छिट्टै कुलो मर्मत गर्छौं,’ उनले भने । पर्याप्त जनशक्ति परिचालन गरेर एक हप्ताभित्र कुलो मर्मत गरिसक्ने उनको दाबी छ ।
प्रकाशित मितिः २० फाल्गुन २०७७, बिहीबार १२:०९
साझा बिसौनी ।