लक्षित वर्गकै बजेट फ्रिज

मुगुको छायाँनाथ रारा नगरपालिकामा आर्थिक वर्ष २०७६÷०७७ मा कार्यान्वयन गरिसक्ने गरी मुख्यमन्त्री दलित महिला आय–आर्जन कार्यक्रमको बजेट गयो । नगरपालिकाले असार मसान्त सकिन १६ दिन अघि मात्र बजेट पायो । मेसिनरी सामान खरिदमा ६ लाख ७३ हजार आठ सय ८८ र पूर्वाधारतर्फ ६ लाख ७३ हजार आठ सय रूपैयाँ खर्च गर्नुपर्ने थियो । कार्यक्रम कार्यान्वयन गर्न विभिन्न प्रक्रिया अपनाउनुपर्ने हुँदा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट पठाइएको उक्त बजेट खर्च हुन सकेन । बजेटबाट दलित महिलाका समूहलाई प्रस्ताव आह्वान गरेर भवन निर्माणको जिम्मा दिनुपर्ने लगायतका काम थिए । नगरपालिकाले उक्त कार्यक्रम १६ दिनमा गर्न सकेन । बजेट फ्रिज गयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीप्रसाद शर्मा वाग्लेले बजेट ढिला गरी प्राप्त भएकाले कार्यान्वयन गर्न नसकिएको बताए । ‘असार मसान्त घर्किनै लाग्दा बजेट आयो,’ उनले भने, ‘खर्च गर्न सक्ने अवस्था नै थिएन ।’

सुर्खेतको चौकुने गाउँपालिकामा सोही शीर्षकको कार्यक्रमका लागि बजेट गयो । २२ लाख ७९ हजार आठ सय ३७ रूपैयाँ पाएको गाउँपालिकाले पनि बजेट खर्च गर्न सकेन । कारण उही थियो, बजेट आर्थिक वर्षको मसान्तमा पठाउनु । गाउँपालिकाका कार्यालयका लेखा प्रमुख नारायण बास्कोटा भन्छन्, ‘बजेट ढिलागरी आएका कारण कार्यान्वयन गर्न सकिएन ।’

त्यस्तै, सोही कार्यक्रमका लागि जुम्लाको सिंजा गाउँपालिकामा पाँच लाख ४६ हजार ६ सय बजेट गए पनि खर्च गर्न नसकिएको पालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाहीले बजेट खर्च गर्न पर्याप्त समय नहुँदा फ्रिज भएको बताए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको उक्त बजेट तथा कार्यक्रम स्थानीय तहबाट कार्यान्वयन गराउन पठाइएको थियो । तर, समयमै बजेट अख्तियारी नदिँदा खर्च हुन नसकेको हो ।

यस्ता थुप्रै स्थानीय तहमा मसान्तमा पठाइएका विभिन्न शीर्षकका बजेट खर्च नभइ फ्रिज हुने गरेका छन् । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष सकिनै लाग्दा मात्र बजेट कार्यान्वयनमा पठाउँदा खर्च नहुने गरेको हो ।

प्रदेशका ७९ वटै स्थानीय तहमा दलित महिला आय–आर्जन कार्यक्रमका लागि बजेट विनियोजन गरिएको थियो । उक्त कार्यक्रम कार्यान्वयनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १० करोड रूपैयाँ पठाएको हो । तर, अधिकांश स्थानीय तहले भने लक्षित सीमान्तकृत वर्गको लागि पठाइएको बजेट पनि खर्च गर्न नसकेका हुन् ।

एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गतको १० करोड रकमान्तर गरी दलित महिला आय–आर्जन कार्यक्रमका लागि पठाइए पनि कार्यान्वयन हुन नसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

कार्यक्रम कार्यान्वयनका लागि कालीकोटका नौ वटा स्थानीय तहलाई एक करोड दुई लाख ६१ हजार पाँच सय रूपैयाँ पठाइएको थियो । त्यस्तै, जाजरकोटका सात वटा स्थानीय तहमा एक करोड ३९ लाख ९८ हजार, जुम्लाका आठ वटा स्थानीय तहमा ५१ लाख ९९ हजार चार सय रूपैयाँ दलित महिला आय–आर्जन कार्यक्रमका लागि गएको हो । प्रदेश सरकारले डोल्पाका पाँच वटा स्थानीय तहमा गरी १३ लाख ५८ हजार नौ सय, दैलेखका १० वटा तहमा एक करोड ८८ लाख ६८ हजार आठ सय र मुगुका चार वटा तहमा २९ लाख ४९ हजार एक सय रूपैयाँ बजेट दिएको थियो ।
यस्तै, रुकुम–पश्चिमका ६ वटा स्थानीय तहमा ८५ लाख ५४ हजार ६ सय, सल्यानका १० तहमा ८५ लाख ५४ हजार ६ सय, सुर्खेतका नौ वटा तहमा दुई करोड ५७ लाख ८२ हजार एक सय, हुम्लाका ६ वटा तहमा २१ लाख ४१ हजार पाँच सय ७८ रूपैयाँ बजेट विनियोजन गरिएको थियो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव आनन्द सारुले रकमान्तर गर्नुपरेकाले बजेट ढिला पठाइएको बताए । ‘रकमान्तर गर्ने राजनीतिक निर्णय थियो । हरेक वर्ष डल्लो बजेट आउँछ,’ उनले भने, ‘वार्षिक बजेट ल्याउँदा नै योजनागत रूपमा छुट्याएको भए कार्यान्वयन नहुने प्रश्न नै आउँदैनथ्यो ।’ यसरी बजेट फ्रिज हुनुमा कार्यान्वयन गर्ने निकायको दोषभन्दा पनि डल्लो बजेट राख्ने प्रवृत्तिले समस्या हुने गरेको उनी बताउँछन् ।

गत आर्थिक वर्षमा मुख्यमन्त्री कार्यालयबाट असार मसान्तमा ठूलो रकम अख्तियारी गएको हो । जसको कार्यान्वयन तथा पारदर्शीताबारे प्रदेशसभाको लेखा समितिले समेत चासो देखाएको थियो । उक्त वर्ष मुख्यमन्त्री कार्यालयबाट मात्र झण्डै ४० करोड रूपैयाँ मसान्तमा अख्तियारी गएको समितिले जनाएको थियो । आर्थिक वर्षको अन्त्यमा ठूला भौतिक संरचना निर्माण गर्न सम्भव नभएको र यस्तो बेला ठूलो रकम अख्तियारी दिइँदा बजेट सदुपयोग हुने लेखा समितिले औल्याएको हो । मुख्यमन्त्री कार्यालयबाट असार ९ र १० गते दुई दिनमा रोजगार कार्यक्रमको ३० करोड र दलित महिला आय–आर्जन कार्यक्रमको १० करोड रूपैयाँ स्थानीय तहलाई बाँडफाँट गर्दै निकासा गरिएको थियो । बजेट निकासा समयमा नहुँदा लक्षित वर्ग नै यी दुवै कार्यक्रमबाट लाभान्वित भने हुन सकेनन् ।

प्रकाशित मितिः   १८ फाल्गुन २०७७, मंगलवार ०९:०५