नौ जिल्लामा संक्रमण शून्य

कर्णाली प्रदेशका नौ जिल्ला कोरोना भाइरस ‐कोभिड–१९) को संक्रमणबाट मुक्त भएका छन् । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार ती जिल्लामा सोमवारसम्म संक्रमण शून्यमा झरेको हो । नौ जिल्लामा अहिले सक्रिय संक्रमित छैनन् । दैलेख, कालीकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा, रुकुम–पश्चिम, जाजरकोट र सल्यानमा कोरोना संक्रमित नभएका हुन् । सुर्खेतमा ११ जना सक्रिय संक्रमित छन् ।

हालसम्म सुर्खेतमा तीन हजार दुुई सय ६५ जनामा संक्रमण पुष्टि भएको छ । सोमवार सुर्खेतका थप दुई जनामा कोरोना पुष्टि भएको छ । दैलेखमा एक हजार ६ सय ८५, सल्यानमा ६ सय ९३, जुम्लामा चार सय २३, कालीकोटमा तीन सय ३३, रुकुम–पश्चिममा दुई सय ५७, जाजरकोटमा एक सय ५९, हुम्लामा ६१, मुगुमा ४१ र डोल्पाका ४४ जनामा संक्रमण देखिएको थियो । अन्य प्रदेशका पाँच सय ९८ तथा भारतका पाँच जनामा पनि कर्णालीमै कोरोना पुष्टि भएको हो ।

प्रदेशमा अहिलेसम्म सात हजार पाँच सय ५४ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये सात हजार तीन सय ८१ संक्रमणमुक्त भएका हुन् । कर्णालीमा संक्रमण देखिएका ३१ जनाको मृत्यु भएको छ ।

यस्तै, हालसम्म देशभर दुई लाख ७४ हजार दुई सय १६ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ७० हजार चार सय ७१ जना संक्रमणमुक्त भएका छन् । संक्रमित दुई हजार सात सय ७७ जनाको मृत्यु भएकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

प्रकाशित मितिः   १८ फाल्गुन २०७७, मंगलवार ०९:०३