भूमिहीनको धर्नामा प्रहरीको दमन

 

खेतीयोग्य जमिनको माग राख्दै एक सातादेखि आन्दोलनरत वादी समुदायमाथि प्रहरीले लाठीचार्ज गरेको छ । कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडिको चौरमा शान्तिपूर्ण धर्नामा रहेका उनीहरूमाथि प्रहरीले धरपकड गरेको हो । सरकारले आफ्ना मागप्रति सुनुवाइ नगरेको भन्दै उनीहरूले आइतवार दिउँसो केहीबेर नाराबाजी गरेका थिए । सोही क्रममा वादी समुदायमाथि प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीको लाठीचार्जबाट केही आन्दोलनकारी घाइते भएका छन् ।

कर्णालीका अधिकांश जिल्लाका वादी समुदायका सयौं परिवार खेतीयोग्य जमिनको माग राखी आन्दोलित भएका छन् । प्रदेश सरकारले भने जग्गा उपलब्ध गराउने विषय आफ्नो क्षेत्राधिकारमा नपर्ने बताएको छ । प्रदेश सरकार जिम्मेवारीबाट पन्छिन खोजेको वादी समुदायको आरोप छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले क्षेत्राधिकारभित्र नपर्ने भएकाले जमिन दिन नसकिने बताइसकेका छन् ।

वादी समुदायले भने सरकारले आफूहरूको शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गरेको बताएका छन् । दुल्लू नगरपालिका–१ की मानकुमारी वादीले प्रहरीले अन्धाधुन्ध लाठीचार्ज गर्दा आफ्नो हातमा चोट लागेको बताइन् । यस्तै, आन्दोलनरत चामुण्डाविन्द्रासैनी नगरपालिकाकी जानकी वादी पनि घाइते भएकी छन् । कमाइ गरेर खान्छौं, खेती गर्ने जमिन देऊँ भन्दा सरकारले प्रहरी लाएर कुटेको उनले बताइन् । परम्परागत पेसासमेत संकटमा परेकोले भन्दै हातपाखुरा चलाएर जीविकोपार्जन गर्ने वातावरण मिलाइदिन वादी समुदायले सरकारसँग माग गरेको छ । झण्डै २० हजारको हाराहारी जनसंख्या रहेको सीमान्तकृत वादी समुदायको बसोबास कर्णालीका १० वटै जिल्लामा छ ।

मागहरूको सुनुवाइ नभएसम्म आन्दोलन जारी राख्ने अडानमा वादी समुदाय छ । धर्नामा बालबालिकादेखि वृद्धसम्म सहभागी छन् । उनीहरू खुला आकाशमुनी कष्टकर दैनिकी बिताइरहेका छन् । वृद्धवृद्धा तथा बालबालिकाहरू बिरामीसमेत पर्न थालेका छन् ।

उता प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले वादी समुदाय आवेगमा आएर मुख्यमन्त्री कार्यालयभित्र प्रवेश गर्न खोजेपछि झडपको स्थिति आएको बताए । आन्दोलनकारीलाई गेटमै रोक्न खोज्दा पनि नमानेपछि स्थिति सामान्य गराउन प्रहरीले लाठीचार्ज गर्नुपरेको उनको भनाइ छ ।

प्रकाशित मितिः   १७ फाल्गुन २०७७, सोमबार ०८:३१