भेडा चराउँदै गर्दा गोली प्रहार

सुर्खेत ५ चैत । अज्ञात समूहले जुम्लामा एक युवकमाथि गोली प्रहार गरेको छ । जिल्ला सदरमुकाम खलंगाबाट एक दिनको पैदल दुरीमा रहेको मालिकाठाटाँ–४ निवासी जैसिके बोहोरामाथि गोली प्रहार भएको हो । गोली प्रहारबाट घाइते भएका उनको अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल खलंगामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उनको बायाँ तिघ्राको दुई ठाउँमा गोली लागेको छ । ढिपु गाउँका उनी खोप्री गाउँमा रहेको आफ्ना काकाको घरमा गएका थिए । काकाको घरमा पाहुना गएका जैसिकेमाथि बिहीवार जंगलमा भेडा चराउन गएको बेलामा अनुहारमा नकावधारी दुई जनाले गोली हानेका थिए । गोली लागेपछि बेहोस भएका उनलाई गाउँलेहरुले उद्धार गरेर अस्पताल पु¥याएका हुन् । काका रतन बोहोराको भेडा चराउन गएका बेला जंगलमा नै उनीमाथि गोली प्रहार भएको आफन्तले बताएका छन् । प्रहरीका अनुसार घाइते बोहोराले आफूमाथि मुख छोपेका दुई जनाले गोली हानेर भागेको बताएका छन् ।
चिकित्सका अनुसार घाइते भएका बोहोराको अवस्था खतरामुक्त रहेको छ । उपचारमा संलग्न डाक्टर मधु चौधरीका अनुसार तिघ्राको एक ठाउँबाट गोली छेडेर बाहिर निस्केको छ भने चोट लागेको भाग सुन्निएकाले अर्को गोली भित्रै रहेको अनुमान गरिएको छ । एक्सरे गरेपछि मात्र गोली भित्र भए नभएको बारेमा एकिन हुने उनको भनाइ छ । अहिले उनको उपचार भइरहेको अस्पतालले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी विष्णुहरी कोइरालाले घटनाको बारेमा अनुसन्धान भइरहेको जानकारी दिए । उनका अनुसार अनुसन्धानका लागि प्रहरीलाई घटनास्थलतर्फ परिचालन गरिएको छ । साथै उनले गोली लागेको वा अन्य कुनै कारणले चोट लागेको भन्ने बारेमा आफूहरुले थप अनुसन्धान गरिरहेको बताए ।
मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका डीआईजी माधव नेपालले घटनाको बारेमा अनुसन्धान भइरहेको बताए । साथै उनले घटनामा संलग्नहरुको खोजी भइरहेको समेत जानकारी दिए । घाइतेका आफन्तहरुले भने गोली प्रहार हुनुको कारण थाहा नभएको बताएका छन् । साथै उनीहरुले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न समेत माग गरेका छन् । घटना बिहीवार विहानको भए पनि घटनास्थल सदरमुकामबाट टाढा भएका कारण शुक्रवार मात्र जानकारीमा आएको हो । 
प्रकाशित मितिः   ५ चैत्र २०७२, शुक्रबार ०७:३४