२७ हजारले लगाए खोप

कर्णाली प्रदेशमा करिब २७ हजारले कोरोनाविरुद्धको खोप लगाएका छन् । बिहीवारसम्ममा २६ हजार नौ सय ९० जनाले खोप लगाएका हुन् । पहिलो चरणमा पहिलो र दोस्रो प्राथमिकतामा परेकालाई खोप लगाउने काम सकिएको हो ।

पहिलो चरणको खोप प्राथमिकताका आधारमा दुई ‘सिफ्ट’ मा लगाइएको थियो । उक्त अभियानमा १० जिल्लाका स्वास्थ्यकर्मी, निजामती कर्मचारी, वित्तीय संस्थाका कर्मचारी, पत्रकारलगायतलाई खोप दिइएको हो ।

खोप अभियानको पहिलो प्राथकितामा परेकालाई माघ १४ देखि २४ सम्म र सोही चरण अन्तर्गत दोस्रो प्राथमिकतामा परेकालाई फागुन २ देखि १० गतेसम्म खोप लगाइएको थियो । दोस्रो चरणको खोप अभियान यही फागुन २३ गतेबाट सुरू हुने बताइएको छ । यो चरणमा शिक्षक ज्येष्ठ नागरिकलगायतलाई खोप लगाइनेछ ।

प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतमा सबैभन्दा बढी संख्याले खोप लगाएका छन् । यहाँ सात हजार चार सय ७५ जनालाई खोप दिइएको हो । यस्तै, दैलेखमा तीन हजार एक सय ८४, रुकुमपश्चिममा दुई हजार ६ सय ११, सल्यानमा दुई हजार पाँच सय ४१, जुम्लामा दुई हजार तीन सय ८४, कालीकोटमा दुई हजार पाँच सय ६३, जाजरकोटमा दुई हजार १४, हुम्लामा एक हजार ६ सय ५८ जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन् । मुगुमा एक हजार चार सय ७८ र डोल्पामा एक हजार ८२ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

कर्णालीमा पछिल्लो समय कोरोना संक्रमितको संख्या घटेको छ । बिहीवार प्रदेशमा सुर्खेतका दुई जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ । विगतभन्दा कोरोना संक्रमितको संख्या घट्दै गएको हो । यद्यपि पछिल्लो समय परीक्षणमा समेत कमी आएकाले संक्रमितको संख्या कम देखिएको स्वास्थ्यकर्मीहरूले बताएका छन् । हालसम्म प्रदेशमा ९७ हजार चार सय ६४ जनाले कोरोना परीक्षण गराउँदा सात हजार पाँच सय ६१ जनामा संक्रमण पुष्टि भएको थियो । प्रदेशका आठ जिल्लामा अहिले कोरोनाका सक्रिय संक्रमित छैनन् । सुर्खेत र जुम्लाबाहेक अन्य जिल्ला संक्रमणमुक्त भएको महाशाखाले जनाएको छ । हाल यी दुई जिल्लामा कोरोनाका २१ जना सक्रिय संक्रमित छन् । कोरोना संक्रमण देखिएका ३१ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा २२ पुरुष र नौ महिला हुन् ।

प्रकाशित मितिः   १४ फाल्गुन २०७७, शुक्रबार ०९:४८