डायलाइसिस सेवा निःशुल्क

मिर्गौलाको डायलाइसिस गर्नुपर्ने बिरामीले अब जुनसुुकै समयमा पनि प्रदेश अस्पतालबाट निःशुल्क सेवा पाउने भएका छन् । अस्पतालले यस अघिसम्म कार्यालय बाहेकको अतिरिक्त समयमा दिने डायलाइसिस सेवामा शुुल्क लिने गरेको थियो । कार्यालय समयभन्दा अघि वा पछि सेवा लिन आउनेलाई डायलाइसिस गरेवापत पाँच हजार शुल्क लिने गरिएको थियो । मिर्गौलाको डायलाइसिस गर्ने जनशक्ति अभावमा शुल्क लिएर सेवा दिने गरिएको बताएको अस्पतालले अबदेखि भने जुनसुकै समयमा पनि बिरामीले सेवा लिँदा शुल्क तिर्नु नपर्ने बताएको छ ।

सामाजिक विकासमन्त्री दल रावलले अतिरिक्त समयमा लाग्ने शुल्क अब प्रदेश सरकारले व्यर्होने बताए । बुधवार प्रदेश अस्पतालको नयाँ भवनमा डायलाइसिस सेवाको उद्घाटन गर्दै मन्त्री रावलले नागरिकको सहजताका लागि प्रदेश सरकारले निःशुल्क सेवाको व्यवस्था गरेको जनाए । गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा प्रदेश सरकार प्रतिवद्ध रहेको उनको भनाइ थियो ।

प्रदेश अस्पतालमा सुरुमा तीन वटा मेसिनबाट थालिएको डायलाइसिस सेवा अहिले विस्तार गरिएको छ । बुधवारदेखि नयाँ भवनबाट सेवा सञ्चालन गरिएको हो । अस्पताल प्रशासनका अनुसार जनशक्ति, उपकरण र भौतिक पूर्वाधारको विस्तारसँगै अब एकै पटक धेरैलाई उपचार सेवा दिन सकिने छ । अस्पतालका निर्देशक डा. डम्बर खड्काले नयाँ भवनबाट सहज रूपमा सेवा प्रदान गरिने बताए । उनका अनुसार डायलाइसिसका लागि थप पाँच वटा उपकरण जडान गरिएको छ । दैनिक नौ जनाको डायलाइसिस हुँदै आएकोमा अब दैनिक १८ जनासम्मले सेवा लिन सक्नेछन् ।

प्रकाशित मितिः   १३ फाल्गुन २०७७, बिहीबार ११:२९