विपद्को उच्च जोखिममा वीरेन्द्रनगर

६१ प्रतिशत घरधुरी असुरक्षित

वीरेन्द्रनगर नगरपालिका प्राकृतिक विपद्को उच्च जोखिममा रहेको पाइएको छ । नगरपालिकाले निर्माण गरेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको अध्ययन प्रतिवेदनमा यहाँका करिब ६१ प्रतिशत घरधुरी जोखिममा रहेको औंल्याइएको हो । नगरमा १६ वटै वडामा रहेका २९ हजार दुई सय १६ घरधुरी मध्ये १७ हजार नौ सय ४२ घरधुरी प्राकृतिक प्रकोपको जोखिममा देखिएका हुन् ।

नगरका सबै वडा कुनै न कुनै प्राकृतिक प्रकोपको जोखिमा भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । नगरका कतिपय वडामा पहिरो र केहीमा बाढी तथा डुवानलगायतको जोखिम उच्च रहेको छ । नगरको वडा नं. १२ को खोरिया, १३ को अधिकांश भू–भाग, १४ र १५ को सबै क्षेत्र पहिरोको जोखिममा छ । उक्त वडाहरूमा बसोबास गर्ने एक हजार तीन सय ३५ घरधुरीमध्ये ६ सय ६७ घर पहिरोका कारण पूर्ण क्षति हुन सक्ने प्रतिवेदनले औल्याएको छ । ती वडाका ६ सय ६८ घरधुरीमा आंशिक क्षति पुग्न सक्ने अध्ययनले देखाएको छ ।

वीरेन्द्रनगर नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत प्रकाश पौडेलकाअनुसार नगरका १ देखि ८ र १२ नम्बर वडा बाढीको जोखिममा छन् । त्यस्तै, वडा नं. ९ र १० डुबानको उच्च जोखिममा रहेका छन् । बाढी र डुुबानबाट आंशिक र पूर्णरूपमा गरी एक हजार दुई सय बढी घरधुरी प्रभावित हुने देखिएको छ ।

वीरेन्द्रनगरका कतिपय बस्तीमा आगलागीको समेत जोखिम छ । नगरका दुई सय २५ घरधुरी आगलागीको जोखिममा छन् । नगरले तयार पारेको यो प्रतिवेदन विपद्को अनुमानित अवस्थाको अध्ययन भएको पौडेलले बताए ।

वीरेन्द्रनगर भुकम्पको समेत जोखिममा रहेको छ । भुकम्प गए यहाँका पाँच हजार आठ सय ४३ घरधुरी पूर्ण र १५ हजार एक सय ९२ घरधुरीमा आंशिक क्षति पुग्ने अनुमान गरिएको छ । जनसंख्यालाई आधार मान्दा ६२ प्रतिशत मानवस्रोत जोखिममा रहेको अनुमान गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाको पछिल्लो तथ्याङ्कअनुसार हाल नगरमा एक लाख १५ हजार बढीको बसोबास छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम नगरको आगामी योजना तर्जुमा गर्दा यो अध्ययन प्रभावकारी हुने नगरप्रमुख देवकुमार सुवेदीले बताए । उनले नगर विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७६ को अधिकार क्षेत्रभित्र रहेर नगर विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गरिएको जनाए । ‘यसले कार्यक्रम तथा बजेट निर्माणका साथै सम्भावित जोखिमका क्षेत्र पहिल्याउन र सोहीअनुसार न्यूनीकरण कार्य गर्न मद्दत पुग्ने अपेक्षा छ,’ नगर प्रमुख सुवेदीले भने ।

प्रकाशित मितिः   १३ फाल्गुन २०७७, बिहीबार ११:२७