बलात्कारको बर्बरता

महिलामाथि जघन्य प्रकारका अपराध भइरहेका छन् । हिंसाजन्य घटना नियन्त्रण हुन सकेको छैन । बलात्कारजस्ता बर्बर अपराध श्रृंखलाबद्ध रूपमा दिनप्रतिदिन बढ्दै गएका छन् । यस्ता घटनाले समाजलाई असुरक्षित बनाउँछ । महिला तथा बालिकाहरूले आफ्नै समाज सुरक्षित महसुस गर्न नसक्ने परिस्थितिको निर्माण हुँदैछ । महिलामाथि हुने हिंसाका प्रकृतिहरू फेरिँदै गएका छन् तर हिंसाको श्रृंखलामा भने कमी आउन सकेको छैन । हिंसाको रूप झन्झन् विकराल बन्दै गइरहेको छ । घरेलु हिंसाको चरम यातना खेप्दै आएका महिलाहरू पछिल्लो समय बलात्कार जस्तो जघन्य अपराधको सिकार बन्न थालेका छन् । दिन दहाडै बलात्कारको सिकार हुनु परिरहेको छ, त्यो पनि आफ्नै अभिभावक र साथीभाइबाट ।

मुलुकभर बलात्कारका घटना बढीरहँदा कर्णालीमा पनि भयावह अवस्था देखिएको छ । पछिल्लो तीन वर्षको अवधिमा कर्णालीका चार सय ३१ जना महिला र बालिका बलात्कृत भएका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार यस अवधिमा बलात्कृत हुनेमा १६ वर्षमुनिका एक सय ६ जना किशोरी हुन् । अझ डरलाग्दो कुरा त के छ भने आफन्त, चिनेजानेका र भरोशा गरिएका व्यक्तिबाटै अधिकांश महिलाहरू बलात्कृत हुने गरेका हुन् । प्रहरी अनुसन्धानले पनि महिलाहरू आफ्नैबाट असुरक्षित भएको देखिएको हो । परिवारका सदस्य र आफन्त तथा नातेदारबाटै युवती तथा बालिकाहरू बलात्कारको सिकार भएका घटना सार्वजनिक भइरहेका छन् । जसलाई धेरै विश्वास गरिन्छ उनीहरूबाटै बलात्कृत हुँदा महिलाहरूले घरभित्र र आफन्तबाटै असुरक्षित महसुस गर्नु परिरहेको छ । बलात्कारका घटना धेरै जसोे धाकधम्की र प्रभोलन देखाएर हुने गरेको छ । घटनाका प्रकृतिहरू हेर्दा बालिकाहरू एक्लै हिँडेका बेला धाकधम्की दिएर जबरजस्ती गरेको देखिन्छ भने अर्कोतिर आफ्नै साथीभाइ र आफन्तले विभिन्न लोभ र प्रलोभन देखाएर फसाउने गरेको पाइन्छ । बलात्कारको सिकार हुनेहरूमा बढीजसो २० वर्षमुनिका किशोरीहरू छन् ।

सरकारी र गैरसरकारी निकायबाट बलात्कारका घटना न्यूनीकरणका लागि थुप्रै प्रयास भए पनि प्रभावकारी बन्न सकेका छैनन् । कानुन कार्यान्वयनको अवस्था फितलो हुँदा बालिका र महिलामाथि बलात्कारका घटना बढ्दै गएका हुन् । पीडकबाट उल्टै धम्की आउँदा कतिपय घटना न्यायिक निकायसम्म पनि पुग्न सकेका छैनन् । बलाकारका घटना न्यूनीकरणमा सरकार उदासीन रहेको देखिन्छ । किनभने अपराधमा संलग्नहरू कारबाहीको भागिदार भएका घटना न्यून छन् । महिलाहरूमाथि बलात्कार मात्र नभइ उनीहरूको हत्यासमेत हुने गरेको छ । श्रृंखलाबद्ध भइरहेका यस्ता घटनामा संलग्न अपराधीसम्म भने अनुसन्धान पुग्न सकेको छैन । वर्षौंसम्म अपराधीलाई कानुनी दायरामा नल्याइँदा यस्ता घटनामा झनै बढोत्तरी हुने गरेको छ । उसो त बलात्कारका घटना बढ्दै जानु कमजोर कानुन र फितलो अनुसन्धान मात्र पनि होइन । नैतिक शिक्षाको कमी र सामाजिक संरक्षणजस्ता कारणले पनि घटना बढ्ने गरेका हुन् । आपराधिक मानसिकता, गरिबी, अशिक्षा र प्रहरी तथा कानुनको सहज पहुँच नहुँदा महिला तथा बालिकाहरू बलात्कारको सिकार बन्ने गरेका छन् ।

प्रकाशित मितिः   १२ फाल्गुन २०७७, बुधबार १०:२९