बलात्कारको बढ्दो श्रृंखला

कर्णाली प्रदेशमा तीन वर्षको अवधिमा चार सय ३१ बलात्कारका घटना भएका छन् । बलात्कृत हुनेमा १६ वर्षमुनिका एक सय ६ जना किशोरी हुन् ।

कर्णाली प्रदेशमा तीन वर्षको अवधिमा चार सय ३१ बलात्कारका घटना भएका छन् । बलात्कृत हुनेमा १६ वर्षमुनिका एक सय ६ जना किशोरी हुन् ।


महिला तथा बालिकामाथि हुने हिंसाजन्य घटनामा वृद्धि भएको छ । जबरजस्ती करणी र बलात्कारलगायका घटनामा दिनप्रतिदिन बढ्दै गएका हुन् । कर्णालीमा तीन वर्षको अवधिमा चार सय ३१ जना महिला र बालिका बलात्कृत भएका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार यस अवधिमा बलात्कृत हुनेमा १६ वर्षमुनिका एक सय ६ जना किशोरी हुन् ।

कर्णालीमा आर्थिक वर्ष २०७४/०७५ मा ५८ जना बालिका र महिलामाथि बलात्कार भएको थियो । त्यसयता झनै यौनहिंसाका घटना बढ्दै गएको पाइएको छ । आर्थिक वर्ष २०७५/०७६ मा बलात्कारका घटना बढेर एक सय ४३ पुगेका थिए । उक्त वर्ष पनि नाबालिका, किशोरी र वृद्ध महिलासमेत बलात्कारको शिकार भएका थिए । गत आर्थिक वर्ष २०७६/७७ मा एक सय ४१ र चालु आर्थिक वर्षको यो अवधिमा महिला तथा बालिका गरी ८१ जना बलात्कृत भएका छन् । आफन्त, चिनेजानेका र भरोशा गरिएका व्यक्तिबाटै अधिकांश महिलाहरू बलात्कृत हुने गरेका हुन् । प्रहरी अनुसन्धानले पनि महिलाहरू आफ्नैबाट असुरक्षित भएको देखिएको हो ।

सरकारी र गैरसरकारी निकायबाट बलात्कारका घटना न्यूनीकरणका लागि थुप्रै प्रयास भए पनि प्रभावकारी बन्न सकेका छैनन् । अधिवक्ता गीता कोइराला कानुन कार्यान्वयनको अवस्था फितलो हुँदा बालिका र महिलामाथि बलात्कारका घटना बढ्दै गएको बताउँछिन् । पीडकबाट उल्टै धम्की आउँदा कतिपय घटना न्यायिक निकायसम्म पनि आइनपुग्ने गरेको उनले सुनाइन् ।

कडा कानुनको अभाव र भएको कानुनसमेत प्रभावकारी कार्यान्वयन नभएको भन्दै अधिकारकर्मीहरूले विरोध प्रदर्शनहरू जारी राखेका छन् । बलाकारका घटना न्यूनीकरणमा सरकार उदासीन रहेको उनीहरूको आरोप छ । महिलाहरूमाथि बलात्कार मात्र नभइ उनीहरूको हत्यासमेत हुने गरेको छ । श्रृंखलाबद्ध भइरहेका यस्ता घटनामा संलग्न अपराधीसम्म भने अनुसन्धान पुग्न सकेको छैन । वर्षौंसम्म अपराधीलाई कानुनी दायरामा नल्याइँदा यस्ता घटनामा झनै बढोत्तरी हुने गरेको छ । अधिवक्ता कोइरालाले अपराध गर्नेलाई कानुनी दायरामा ल्याउन ढिलाइ हुँदा यस्ता गतिविधिमा संलग्नलाई प्रश्रय मिल्ने गरेको बताइन् । उनका अनुसार यौनजन्य घटनाहरू विभिन्न प्रलोभनमा गाउँठाउँमै मिलापत्र गर्ने परिपाटीले पनि थप भयावह स्थिति बनेको हो ।

उसो त बलात्कारका घटना बढ्दै जानु कमजोर कानुन र फितलो अनुसन्धान मात्र नभएको अधिकारकर्मीहरू बताउँछन् । नैतिक शिक्षाको कमी र सामाजिक संरक्षणजस्ता कारणले पनि घटना बढ्ने गरेका हुन् । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले आपराधिक मानसिकता, गरिबी, अशिक्षा र प्रहरी तथा कानुनको सहज पहुँच नहुँदा महिला तथा बालिकाहरू बलात्कारको शिकार बन्ने गरेको बताए । ‘हाम्रो अनुसन्धानमा बलात्कारका अधिकांश घटना चिनजानको आफन्तबाट भएको पाइएको छ,’ उनले भने, ‘आदर गर्नुपर्ने मान्छेले नै अपराध गरिरहेका छन् । महिलाहरू आफ्नैबाट असुरक्षित छन् ।’ बलात्कारका घटना न्यूनीकरण गर्न कानुनको प्रभावकारी कार्यान्वयनसँगै सामाजिक चेतना र नैतिक शिक्षामा जोड दिइनुपर्ने बताए ।

बलात्कारका घटनामा परेका महिला र बालिकाहरू मानसिक तथा शारीरिक पीडामा हुने गरेका छन् । सामाजिक रूपमा बहिस्कार जस्ता विभेद पनि उनीहरू खेप्न बाध्य छन् । मनोविमर्शकर्ता निशा पौडेल भन्छिन्, ‘यस्ता घटनाका पीडितहरूलाई शारीरिकसँगै मानसिक रूपमा पनि दीर्घकालीन असर पर्छ ।’ समाजमा बढ्दो दण्डहिनताका कारण पनि बलात्कारका श्रृंखला नरोकिएको पौडेलको बुझाइ छ । जुनसुकै अपराध तथा हिंसालाई कम गर्न कडा कानुन बनेर मात्र नहुने भन्दै कार्यान्वयनको अवस्था बलियो हुनुपर्ने अधिकारकर्मीहरूको मत छ ।

नेपालमा सरदर दैनिक रूपमा ६ जना बलात्कार पीडितको केस प्रहरीमा दर्ता हुने गरेको तथ्याङ्क छ । जानकारहरूका अनुसार प्रहरीमा आउने घटना १० प्रतिशत मात्र हुन् । बाँकी सबै घटना डर, त्रास, धम्की र प्रभावका कारण गुपचुप पारिन्छन् । सरकारी तथा गैरसरकारी क्षेत्रबाट बलात्कार न्यूनीकरणमा विभिन्न अभियान चलिरहँदा तथा कानुनले दण्डित गर्दै गर्दा पनि यस्ता अपराधका घटनामा भने कमी आउन सकेको छैन ।

प्रकाशित मितिः   ११ फाल्गुन २०७७, मंगलवार ०९:११