बालखैमा टरेका बिहे

‘राम्रै घरबाट माग्न आएका छन् । बिहा गर्ने त होलिस् ।’ पहिलो पटक घरमा बिहेको कुरा चल्दा भावना सुनार भर्खर १३ वर्षमा टेक्दै थिइन् । उनका बुवाआमालाई भने बालखैमा छोरी अन्माउने हतारो भइगयो । ‘चलन नै त्यस्तै थियो,’ सामाजिक कुरीतिबारे भावना भन्छिन्, ‘गाउँमा मेरै उमेरका धेरै साथीहरूले भागी होस् या मागी विवाह गरिसकेका थिए ।’

भावना पढ्न चाहन्थिन् । पढेर जागिर खाने, आफ्नै खुट्टामा उभिने, असल मान्छे बन्ने…। यस्तै लक्ष्य थिए उनका । पहिलो पटक बुवाआमाले विवाह गरिदिन राखेको प्रस्ताव अस्वीकार गरेकी उनलाई केही महिनापछि फेरि दबाब आउन थाल्यो । उनी यसपटक पनि बिहे गर्न राजि भइनन् । बालखैमा विवाह ! कसैलाई रहर हुँदैन सायद । जुन भावनालाई पनि प्रिय थिएन ।

भावना सुनार

उनका लागि बिहेको कुरा चलाउनेहरू घरमा आइरहेकै थिए । ‘असल केटो छ, यसको विवाह गराइदिऔं,’ आफन्त र छिमेकीले बुवाआमालाई उकासीरहन्थे । धेरै पढेर उमेर पुगेपछि मात्र विवाह गर्ने अड्डी कसेकी उनलाई पारिवारिक दबाब यति बढ्यो कि, बुवाआमाले नै भन्न थाले बिहे गर, होइन भने जता जान्छेस् जा हामीलाई तेरो मतलब छैन । अभिभावकले नै भनिदिए, ‘आफ्नै जिद्दी गर्नेभए जे गर्छेस् गर, घरमा नबस् ।’ उनलाई धम्की दिइयो । उर्दी जारी गरियो ।

उनी जन्मे–हुर्केको समुदायमा उमेर नपुग्दै बिहे गर्ने चलन थियो । आज पनि अवस्था सुध्रिएको छैन । बालविवाह व्याप्त नै छ । २०५३ सालमा जन्मिएकी भावनालाई २०६७ साल नपुग्दै धेरै पटक बिहेका प्रस्ताव आए । अस्वीकार गरिरहिन् । सोधे सहमत नहुने भएपछि बुवाआमाले उनलाई थाहै नदिइ बिहेको कुरा चलाएछन् । बिहा गर्ने मितिसमेत ‘फिक्स’ भएछ, २०६७ भदौ ४ गते । दिन नजिकिँदै जाँदा बल्ल भावनाले चाल पाइन, लौ ! मेरो त बिहे पो गरिदिँदै रै’छन् ।

भावना आठ कक्षामा पढ्दै थिइन् । परिवारले विद्यालय जान रोके । अनि मात्र उनलाई बिहे गरिँदै छ भन्ने सुइँको चलेको हो । ‘त्यसबेला मलाई घरबाट कतै जान अनुमति थिएन,’ उनले भनिन् ।

यतिबेलासम्म बिहे कहिले गर्ने भन्नेबारे उनी बुझ्ने भइसकेकी थिइन् । यसपटक उनले अभिभावकलाई सम्झाइन् । बुवाआमालाई ‘कन्भिन्स’ गरिन् । आफ्नो बिहे आफैँ रोकिन् । उनको बिहा त यसपटक पनि नहुने भयो तर परिवारले अर्को सर्त तेस्र्याए, ‘अब तँलाई हामी पढाउन सक्दैनौं ।’ आफ्नै बालविवाह रोक्न परिवारभित्रै संघर्ष गरेकी उनलाई पढ्न नपाइने कुराले थप विद्रोही बनायो । ‘त्यसपछि म घरबाट भागेर सुर्खेत आएँ,’ भावनाले विगत सुनाइन्, ‘साउने झरी परिरहेको थियो । मैले राती २ बजे घर छोडेँ । चार घण्टा पैदल हिँडेपछि बस चढ्ने ठाउँसम्म आइपुगेँ ।’

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–२ की भावना अहिले उच्च शिक्षा अध्ययन गर्दैछिन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्नातक तहकी विद्यार्थी हुन् उनी । उमेर पुगेपछि भावनाले मन पराएकै व्यक्तिलाई जीवनसाथी बनाइन् । वीरेन्द्रनगर–१ ढोडेखालीमा उनको बिहे भयो । ‘गाउँमै रहेको मन्टेश्वरीमा पढाउँछु,’ उनी भन्छिन्, ‘अहिले त जिन्दगी सोचे झैं भएको छ ।’ उतिबेला सुर्खेत आउँदा उनलाई थुप्रै आफन्त र साथीसंगीले साथ दिए । सहयोग गरे । जसको सहारामा उनले उच्च शिक्षा पढ्ने धोको पूरा गरिन् ।

पार्वती विक

आफ्नो बिहे रोक्न विद्रोह गर्ने अर्की किशोरी हुन्, पार्वती विक । उनी चार वर्ष अगाडि कक्षा सातमा पढ्थिन् । पढेर सुरक्षा निकायमा जागिर गर्ने सोच थियो पार्वतीको । पार्वती भारतमा जन्मिएकी हुन् । उनका बुवाआमा मजदुरी गर्न भारत गएको समयमा उनको जन्म पनि उतै भयो । भारतमा कक्षा सातमा पढ्दै गरेकी उनी नेपाल आएर कक्षा आठमा भर्ना भइन् । स्कूल जान थालेको केही दिन मात्र भएको थियो, उनको पनि बिहेको कुरा चल्यो । पार्वतीको हातमाग्न केटा घरमै आए । उनी १४ वर्षकी थिइन् । ‘केटाको उम्मेर मभन्दा दोब्बर थियो,’ पार्वतीले भनिन्, ‘आमासँग कुरा भएछ । मेरो बिहेको मिति पक्का गरिएछ ।’

पार्वतीलाई बालविवाह र यसले पार्ने प्रभावकाबारे जानकारी थियो । उनले आमासँग बिहे नगरिदिन अनुनयविनय गरिन् । आमाको निर्णयका अगाडि उनको केही चलेन । विवाह गराइदिने पक्का–पक्की जस्तै भएपछि उनले घर छाडिन् । वीरेन्द्रनगर–१ की पार्वती भन्छिन्, ‘जसरी पनि बिहे गरिदिने भनेपछि म भागेँ । एक हप्ता घर आइन ।’ आमा त भइगइन्, मन पग्लिएछ । पार्वतीलाई घरमा बोलाइयो, विवाह नगरिदिने सर्तमा ।

वीरेन्द्रनगर–१ सुर्खेतमै सबैभन्दा बढी बालविवाह हुने वडा हो । गाउँघरमा बालविवाह गरेकाको अवस्थाबारे जानकार उनी त्यसपछि अरुको बालविवाह रोक्ने काममा समेत लागिन् । स्थानीय केही किशोरीहरूको समूह बन्यो । बालविवाह न्यूनीकरणका लागि किशोरीहरूबीच निरन्तर संवाद हुनथाल्यो । उनीहरूले धेरैको बालविवाह रोके ।

पार्वती १० कक्षामा पढ्दैछिन् । उनी भन्छिन्, ‘धेरै पढेर उमेर पुगेपछि मात्र बिहे गर्ने हो । अहिले विवाह गर्नका लागि परिवारबाट समेत कुनै किसिमको दबाब छैन ।’

पार्वती र भावना जस्तै आफ्नै विवाह रोक्ने आँटिली पात्र हुन् अञ्जना सुनार । वीरेन्द्रनगर–१ कै अञ्जनाको परिवारको असहमतिकाबीच पनि सानै उमेरमा उनलाई विवाहको प्रस्ताव आइरहे । हरेक पटक घरमा माग्न आउने र पढाइदिने लोभ देखाउनेहरूलाई अञ्जना र उनको परिवारले अस्वीकार गरिरहे । परिवार शिक्षित थियो, अञ्जना आँफैमा पनि बालविवाह न्यूनीकरणका अभियानहरूमा सक्रिय थिइन् । ‘म अरु साथीहरूलाई बालविवाह नगर्न सुझाउने मान्छे । कोही माग्न आउँदैमा आफैं बालविवाह गर्ने कुरै भएन,’ उनले भनिन् । हाल अञ्जना स्नातकोत्तरकी विद्यार्थी हुन् । मन्टेश्वरीमा पढाउँदै छिन् । भविष्यमा लेक्चर बन्ने धोको रहेको उनले बताइन् ।

अञ्जना सुनार

वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी हो । राजधानीकै नगरपालिकाको वडा नं. १ ढोडेखालीमा बालविवाहको अवस्था भयावह छ । यहाँ प्रायः दलित समुदायको बसोबास छ । बालविवाह, महिला हिंसाजस्ता समस्या घरैपिच्छे छन् ।

पछिल्लो समय केही संस्था र किशोर–किशोरीहरूको पहलमा हिंसाका घटनामा भने कमी आएको छ । बालविवाह न्यूनीकरण, बालिका सुरक्षा र महिला हिंसाको अन्त्यका लागि स्थानीय रचना सुनार पनि सक्रिय छिन् । आइडीया नेपालकी कार्यकारी निर्देशक रचना भन्छिन्, ‘केही दातृ निकायको सहयोग र किशोरी संवादलगायतका कार्यक्रम सञ्चालन भएपछि बालविवाह, महिला हिंसाजस्ता घटनामा कमी आएको छ ।’ बालविवाह निरुत्साहित गर्न सरकारी निकायले नै रणनीतिक योजना बनाएर अघि बढ्नुपर्ने उनले बताइन् । कम उमेरमा विवाह गर्नु कानुन विपरीत हो नै स्वास्थ्यका दृष्टिले पनि जोखिमपूर्ण मानिन्छ । बालविवाहले सवल, सक्षम र स्वाभिमानी बन्नमा समेत बाधा पु¥याउने जानकारहरू बताउँछन् ।

कर्णाली प्रदेशमा बालविवाहको अवस्था भयावह छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य सेवा महाशाखाले केही समय पहिले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यहाँ ५२ प्रतिशत बालविवाह हुने गरेको पाइएको छ । परिवारको राजिमा मागीभन्दा भागी बिहे गर्ने अत्याधिक छन् । बालविवाह गर्नेमध्ये ९८ प्रतिशत बालबालिकाले आफ्नै इच्छाले भागेर बिहे गर्ने गरेका हुन् ।

प्रकाशित मितिः   ८ फाल्गुन २०७७, शनिबार ०९:२८