अनुभूति

गृहभ्रमणको त्यो अनुभव

अनुभूति


भुपेन्द्र बिसी

वि.सं. २०७२ सालतिरको कुरा हो । हरेक दिनजस्तै त्यो दिन पनि दिउँसो चार बजे विद्यालय बिदाको जनाउ घण्टी बज्यो । अब सबैलाई हतारो थियो । कसैलाई घर पुग्नु थियो, कसैलाई ट्युसन पढाउन, कसैलाई ट्युसन पढ्न र मलाई पनि हतारो घर पुग्न नै थियो तर आफ्नो होइन विद्यार्थीको ।

गृहभ्रमणका फाइलहरू राखेँ । झोला बोकेँ । बाइक स्टार्ट गरेँ । बाटोभरी विद्यार्थी नै विद्यार्थी थिए । विद्यालयमा ६ देखि १० सम्म करिब एक हजार चार सय विद्यार्थी थिए । एकै पटक निस्कदा भिड नदेखिने कुरै भएन । त्यही भिडमै एकाएक विद्यार्थीको भागाभाग चल्यो । के भएछ भनि दौडिए गएँ । नजिकै पुग्दा थाहा भयो, एक जना युवकले जथाभावी अरुलाई कुटिरहेको रहेछ । उसले नशा सेवन गरेको थियो । मैले नजिकै रहेका विद्यार्थीहरूलाई सोधेँ, ‘कसैले त्यसलाई चिन्छौ ?’ जवाफ दिन कोही तयार भएनन् । सबै विद्यार्थीलाई आफ्नो घर जान अनुरोध गरेर आफ्नो काममा लागँे ।

म जुन विद्यार्थीको घर जानु पर्ने हो उनको अभिभावकलाई फोन गरेँ । आज पाँच जना विद्यार्थीको घर पुग्ने योजना बनाएको थिएँ । विद्यालयले हरेक वर्ष विद्यार्थीको गहृभ्रमण गर्ने कार्यक्रम राखेको थियो । जसअनुसार मलाई कक्षा १० का २३ जना विद्यार्थीको गृहभ्रमण गर्ने जिम्मा परेको थियो । फोन गरेँ । म आउँदै गरेका जानकारी दिएँ । विद्यालयबाट करिब डेढ किलोमिटर उत्तर–पश्चिम उनको घर थियो । गृहभ्रमणमा विद्यार्थी र उनका अभिभावकलाई सँगै राखेर उनको शैक्षिक अवस्था र समस्या समाधानका बारेमा कुराकानी गरी रेकर्ड राख्नु पर्ने थियो । म जुन विद्यार्थीका घरमा जाँदै थिएँ तिनलाई बाटोमा भेटेँ । उनलाई लिएरै घरमा पुगँे ।

उनलाई देख्दा मलाई एउटा अनुभूति भयो । पक्कै पनि यिनी सम्पन्न परिवारकै विद्यार्थी हुनुपर्छ । बोल्ने शैली, चिटिक्क मिलेको ड्रेस, पोलिस गरिएका नयाँ जुत्ता, राम्रो झोला आदिले मलाई अनुमान गर्ने आधार प्रदान गरेका थिए ।

घर पुगेपछि लाग्यो, परिवार त सम्पन्न नै रहेछ । मेरो अनुमान सही सावित भयो । चिया आयो । चिया पीउँदैै विद्यार्थीका बुवासँग कुराकानी हुुन सुरु भयो । उनले भनेका कुरा फारममा भर्दै गएँ । बुवाले उनलाई चार पटकसम्म बोलाउँदा पनि उनी आइनन् । अनि मैले बोलाएपछि कोठाबाट निस्किन् । उनी अलि डराएजस्तो लाग्यो । विद्यालय पोसाक परिवर्तन गरी आएकी थिइन् । त्यो पोसाकबाट मैले अर्काे अनुमान गरेँ । उनी पक्कै पनि घरमा काम गर्दिनन् । अनि सोधेँ, ‘तिमीले घरमा पढाइ बाहेक कुन–कुन काम गछ्र्यौ ?’ उनले कुनै पनि काम नगर्ने कुरा गरिन । त्यतिबेलै आमा आइपुगिन् । उनले भनिन्, ‘यसलाई हामीले कुनै पनि काम गर्न लगाउँदैनौँ । यसको काम त पढ्ने मात्र हो ।’

उनी अध्ययन गर्ने कोठामा गएँ । उनका लागि छुट्टै कोठाको व्यवस्था गरिएको रहेछ । कोठा सफासुग्घर अनि सुसज्जित थियो । कपडाहरू मिलाएर राखिएका थिए । किताब पनि मिलाएर राखिएका । सबै सन्दर्भ सामग्रीको उपलब्धता भएको । पढाइका लागि कुनै कमी देखिएन । तर नतिजा हेर्दा भने साह्रै कमजोर । नतिजा देखाउँदा बुवाआमा दुवै चकित भए । उनले विद्यालयको नतिजामा आफू उत्तीर्ण भएको कुरा गरेकी रहिछिन् तर नतिजा त्यस्तो थिएन । अघि डराउनुको कारण यही रहेछ । अभिभावकलाई विद्यालय पुगेर बेलाबेलामा छोरीको पढाइका बारेमा जानकारी लिन अनुरोध गरेँ यदि फुर्सद नभएमा कक्षा संयोजक शिक्षकलाई फोनबाट पनि सोध्न सकिने कुराको जानकारी गराउँदै उनको फोन नम्बर दिएँ ।

फारममा भर्ने कुरा सबै भरेपछि मैले उनलाई निकै सम्झाएँ । उनको रुचि सोधेँ । उनलाई नाच्न मन पर्दाे रहेछ । तर बुवाआमाले नाच्न नदिनु हुँदो रहेछ । मैले बुवाआमालाई यसका बारेमा कुरा गरेँ । अलिअलि सहमत भएजस्तो लाग्यो । विद्यालयमा हुने सांगीतिक कार्यक्रममा सहभागी हुन अनुरोध गरेपछि म त्यहाँबाट फर्किएँ ।

आज त ढिला भयो । अब दुई घरभन्दा अरु घरमा पुग्न सकिदैन झैँ लागेको थियो । यो काम निर्धारित समयमै सक्नु पर्ने थियो । छलफल–बैठकको समय नजिक भएकोले छिटो सक्नु पर्ने बाध्यता थियो । बाटैमा अर्का एकजना विद्यार्थीसँग भेट भयो । उसको घरमा जानुपर्ने थिएन मलाई । मेरो जिम्मामा ऊ पर्दैन्थ्यो । यसैबेला उसबाट मैले फाइदा लिने विचार गरेँ । फाइल निकालेर उसले चिनेका साथीको घर सोधेँ । उनले सबैभन्दा नजिकको घर देखाए । म त्यसै घरतिर लागँे । आखिर घर बाटोबाट ५० मिटर मात्रभित्र रहेछ । उनी नभेटिएको भए आज त्यो घर छुट्थ्यो । लिस्टमा अभिभावकको सम्पर्क नम्बरको महल पनि खाली थियो ।

जब म विद्यार्थीको घर पुगेँ । बेग्लै अनुभूति भयो । सम्बन्धित विद्यार्थीको नाम लिएर बोलाएँ । भित्रबाट उनकी आमा निस्किइन् । उनले आफै छोरीलाई बोलाइन् । बस्नलाई पुराना थैलाबाट बनाइएको चकटी थियो । म त्यसैमा बसेँ । आमासँग घरपरिवारको बारेमा सोधेँ । मलाई मनमा कताकता भिन्न अनुभूति भएको थियो, मन साह्रै खिन्न ।

परिवारमा जम्मा सात जना, घरको क्षेत्रफल लगभग २० वर्गफिट जति, उचाइ ६ फिट । बुवाको बारेमा सोधेँ उनका आँखामा आँसु र मेरो मनमा पीडा थपियो । भित्रबाट बिरामी हजुरबुवा खोक्दै थिए । बुवाको घर आउने समय भएकै थिएन । आमाले भित्र बोलाएर विस्तारै भनिन्, ‘सरसँग काम सकियो भने छिटो पठाइहाल पछि तेरा बा आएर कराउँछन् ।’ उनको झोला बाहिरबाटै प्रष्ट देखिन्थ्यो । र भान्सा पनि । गृहभ्रमणमा जाने शिक्षकले विद्यार्थीलाई खानेकुराका बारेमा पनि सम्झाउनु पर्ने थियो । नसोधूँझै लागेपनि सोधिहालेँ । खाना अनि नास्ताको बारेमा । घरमा गर्ने कामको बारेमा । ‘बिहानै उठेर दुई कठ्ठा गिट्टी कुटेर विद्यालय गइएन भने बेलुकी पेटमा भात पर्छ कि पर्दैन भन्ने थाहा हुँदैन । विद्यालयबाट आएर बिहानकै कार्य नगरे भोलि बिहानको छाक टार्न मुस्किल पर्छ । साना भाइबहिनी छन् ।
हजुरबुवा बिरामी । आमाले मात्र कति काम गर्न सक्नु । आमाले गरेको कामले मात्र खान पुग्ने कुरा नै भएन’ उनको जवाफले म पिरोलिएँ ।

म मौन थिएँ । मेरा कानले सुनिरहेका थिए । मन भारी भइरहेको थियो । आँखामा आँसु टिलपिल भइरहेका थिए । लाग्यो म पनि एक जीर्ण मानव हुँ । मसँगै तिनका समस्याको समाधान पनि थिएन । टुलुटुलु हेर्नुबाहेक अर्काे विकल्प पनि के नै थियो ? नास्ताका बारेमा अनायासै प्रश्न उब्जेछ । ‘सर मैले विद्यार्थी जीवनभर नास्ताको अनुभव लिएको छैन । विद्यालयमा पानी बाहेक अन्य नास्ता मुखमा परेका पनि छैन ।’

विगत दुई वर्षदेखि भात र दालबाहेक अरु अन्न पेटमा नपरेको कुरा कानले सुनिरहेका थिए । ती नाबालकका कलिला हातमा फलामका हथौडाले हिर्काएका ढुङ्गा छियाछिया भए जस्तै मेरो मन छियाछिया भएको थियो । कलम समाउने हातका ती हथौडाले जीवन रक्षा गरिरहेका थिए । उनमा एउटा अठोट थियो, ‘कुनै पनि हालतमा आफू आफ्ना भाइबहिनीलाई विद्यालयको पढाइ नछुटाउने ।’ यो सङ्कल्प कुनै महामानवको भन्दा कम थिएन । न मैले केही गर्न सक्छु भन्ने आभास दिलाउन सकेँ । न पढाइले जीवन राम्रो हुन्छ भन्ने कुरा सिकाउन सकेँ । केवल मैले एउटा जीवन देखेँ । जुन यो धर्तीमा सुहाउँदै सुहाउँदैन ।

मैले निकालेका फाइलतिर यसो नजर लगाएँ । फारममा नामबाहेक सबै खाली थियो । बुवाको पेसा, पढ्ने कोठा, खाजाको व्यवस्था, सन्दर्भ सामग्रीको उपलब्धता, वार्षिक आम्दानी, अभिभावकलाई सुझाव, विद्यार्थीलाई सुझाव, विद्यालयलाई सुझाव जस्ता फाराममा भर्नु पर्ने कुरा पूर्ण रूपमा अनुपयोगी लागे । म नेपालको भविष्यको खम्बा, राष्ट्र निर्माणका आधारमध्येको एउटा विद्यार्थीको जीवन देखेर आएँ । लाग्यो यहाँ जीवन होइन । नवजीवन चाहिएको छ । यहाँ धन होइन, माटो चाहिएको छ । यहाँ कलम त हुँदै होइन, पेटमा भात चाहिएको छ ।

प्रकाशित मितिः   ८ फाल्गुन २०७७, शनिबार ०९:१४