प्रदेश लोक सेवामा पदाधिकारी नियुक्त
आयोगमा पदाधिकारी नियुक्तिसँगै प्रदेश सरकारलाई लोक सेवामार्फत कर्मचारी पदपूर्ति गर्ने बाटो खुलेको छ । प्रदेश सरकार गठन भएको तीन वर्ष पूरा भए पनि आवश्यक कर्मचारीको अभाव झेल्दै आएको छ।
कर्णाली प्रदेश लोक सेवा आयोगमा पदाधिकारी नियुक्त भएका छन् । आयोगको अध्यक्षमा रामप्रसाद उपाध्यायलाई नियुक्त गरिएको छ । उनी पूर्व क्षेत्रीय शिक्षा निर्देशक हुन् ।
आयोगको सदस्यमा भक्तबहादुर खड्का र बसन्तीकुमारी शाही नियुक्त भएका छन् । तीनै जनालाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बिहीवार पद तथा गोपनियताको सपथ खुवाएका छन् ।
प्रदेश लोक सेवा आयोगमा एक जना महिलासहित बढीमा तीन जना सदस्य रहने व्यवस्था छ । मुख्यमन्त्री, सभामुख र प्रमुख विपक्षी दलको नेता रहेको तीन सदस्यीय सिफारिस समितिले पदाधिकारीको नियुक्तिका लागि समावेशी सिद्धान्तको आधारमा प्रदेश प्रमुख समक्ष अध्यक्ष र सदस्य पदको नियुक्तिका लागि नाम सिफारिस गर्नुपर्ने हुन्छ । अध्यक्ष र सदस्यको पदावधि नियुक्ति भएको मितिले ६ वर्षको हुने तोकिएको छ ।
अध्यक्ष नियुक्त उपाध्याय सुर्खेतको वीरेन्द्रनगर निवासी हुन् । स्रोतका अनुसार उनले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कोटाबाट नियुक्ति पाएका हुन् । सदस्यमा नियुक्त खड्कालाई सभामुख राजबहादुर शाहीले सिफारिस गरेका हुन् भने सदस्यमै नियुक्त शाही प्रमुख विपक्षी दलका नेताको कोटाबाट सिफारिसमा परेकी हुन् । आयोगको महिला सदस्यमा नियुक्त शाही कर्णाली प्रदेशसभाका प्रमुख विपक्षी दलका नेता जीवनबहादुर शाहीकी श्रीमती हुन् ।
आयोगमा पदाधिकारी नियुक्तिसँगै प्रदेश सरकारलाई लोक सेवामार्फत कर्मचारी पदपूर्ति गर्ने बाटो खुलेको छ । प्रदेश सरकार गठन भएको तीन वर्ष पूरा भए पनि आवश्यक कर्मचारीको अभाव झेल्दै आएको छ ।
प्रकाशित मितिः ७ फाल्गुन २०७७, शुक्रबार ०९:५८
साझा बिसौनी ।