महासंघद्वारा हमाल पुरस्कृत

साझा बिसौनी संवाददाता मुना हमाल पुरस्कृत भएकी छन् । नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनका अवसरमा बुधवार हमाललाई पुरस्कृत गरिएको छ । महासंघ केन्द्रीय समितिले १० हजार राशीको ‘गौरी कठायत स्मृति पत्रकारिता पुरस्कार–२०७७’ उनलाई प्रदान गरेको हो ।

विगत लामो समयदेखि सुर्खेतमा रहेर पत्रकारितामा सक्रिय हमाल साझा बिसौनी दैनिकलगायतका छापा तथा विद्युतीय सञ्चारमाध्यममा आवद्ध छन् । महासंघले औपचारिक कार्यक्रम आयोजना गरी विभिन्न विधामा कलम चलाउने पत्रकारहरूलाई पुरस्कृत तथा सम्मान गरेको छ ।

यस्तै, पत्रकार डा. सुरेश आचार्य कृष्णप्रसाद भट्टराई पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । महासंघले वर्षेनी वितरण गर्ने उक्त पुरस्कार एक लाख राशीको हो । यसवर्षको गोविन्द वियोगी राष्ट्रिय पत्रकारिता पुरस्कारबाट नेपाल टेलिभिजनका समाचार प्रस्तोता पुष्पहरि क्याम्पा राई पुरस्कृत भएका छन् । पुरस्कारको राशी ५० हजार रूपैयाँ छ । कृष्णसेन इच्छुक राष्ट्रिय पत्रकारिता पुरस्कार विनोद पहाडीलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशी पनि ५० हजार रूपैयाँ नै छ । यी सबै पुरस्कार महासंघको केन्द्रीय अधिवेशनमा वितरण गरिएको हो ।

प्रकाशित मितिः   ५ फाल्गुन २०७७, बुधबार २०:१२