कोरोनाविरुद्धको खोपमा शिक्षकलाई बेवास्ता
सरकारले देशैभर कोरोना भाइरस ‐कोभिड–१९) विरुद्धको खोप अभियान सञ्चालन गरेको छ । खोप लगाउन जोखिम समूहको वर्गीकरण गरी प्राथमिकता निर्धारण गरिएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मीहरूलाई दिइएको खोप दोस्रो चरणमा सार्वजनिक सेवा प्रवाहमा खटिएका सबैजसो निकायका कर्मचारीलाई दिइँदै छ । तर, लामो समयदेखि संक्रमणको उच्च जोखिमकाबीच विद्यालय सञ्चालन गरिरहेका शिक्षकहरूले भने खोप लगाउन पाएका छैनन् । शैक्षिक संस्थाहरूलाई सरकारले बेवास्ता गरेको उनीहरूको गुनासो छ । शिक्षक र विद्यार्थीलाई जोखिम समूहमा राखेर खोपको प्राथमिकतामा नपारेको भन्दै उनीहरूले असन्तुष्टि जनाएका हुन् ।
समुदायको ठूलो हिस्सा विद्यालयसँग प्रत्यक्ष सम्पर्कमा रहन्छ । जनसम्पर्क बढी हुने क्षेत्रमध्येको एक हो, विद्यालय । दोस्रो चरणको अभियान चलिरहँदा समेत कुनै पनि तहका शिक्षक तथा विद्यार्थी खोपको प्राथमिकतामा भने परेका छैनन् ।
संक्रमणको सुरुवाती चरणमा शैक्षिक संस्थामा कोरोना संक्रमणको जोखिम उच्च देखेको सरकारले झण्डै नौ महिना विद्यालय बन्द गरेको थियो । त्यसबीचमा केही विद्यालयले भर्चूअल माध्यमबाट आंशिकरूपमा पठनपाठन सञ्चालन गरेपनि अधिकांश विद्यालय ठप्प थिए । तर, कोरोनाविरुद्धको खोप उपलब्ध भएपछि तीनै विद्यालयका शिक्षक र विद्यार्थीप्रति सरकारले बेवास्ता गरेको हो । स्वास्थ्य, सुरक्षा, सरकारी, सञ्चार र वित्तीयलगायतका क्षेत्रका कर्मचारीलाई खोप लगाइँदा पनि शिक्षा क्षेत्र प्राथमिकतामा परेको छैन ।
सरकारले देशैभर प्राथमिकीकरणको आधारमा खोप अभियान सञ्चालन गरिरहेको छ । विद्यालयहरू सरकारको नजरमा नपेरेको र आफूहरूलाई उपेक्षित गरिएको शिक्षकहरूले बताएका छन् । वीरेन्द्रनगरस्थित श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालयका प्रधानाध्यापक यामलाल घिमिरेले दैनिक हजारौं विद्यार्थीसँग प्रत्यक्ष सम्पर्कमा रहने शिक्षकहरूलाई खोपको प्राथमिकतामा नराखिनु सरकारको कमजोरी भएको बताए । ‘शिक्षा क्षेत्रलाई राज्यले सधैं उपेक्षा गर्दै आएको छ,’ उनले भने, ‘कोरोना महामारीमा पनि शिक्षा क्षेत्रप्रति सरकार उदासिन देखियो ।’ अत्याधिक भिडभाडका बीच अध्ययन–अध्यापन गराइरहेका विद्यालयको जोखिम सरकारले आँकलन गर्न नसकेको उनले बताए । जोखिम मोलेरै विद्यालय सञ्चालन गर्दा थुप्रै विद्यार्थी र शिक्षकहरू समेत संक्रमित हुनुपरेको प्रधानाध्यापक घिमिरेले जनाए । उनले कोरोनाविरुद्धको खोप लगाउने सवालमा शिक्षक र मापदण्डभित्र परेका विद्यार्थीहरूलाई छुटाउनै नहुने तर्क गरे ।
पहिलो चरणमा स्वास्थ्य तथा सरसफाइ, एम्बुलेन्स चालक, शववाहन चालक, तथा शव व्यवस्थापनमा खटिने कर्मचारीहरूलाई खोप दिइएको थियो । दोस्रो चरणको खोपको लागि सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी, जनपद प्रहरी, निजामती कर्मचारी, बैंक तथा वित्तीय संस्था, जनप्रतिनिधि तथा सञ्चारकर्मीहरू प्राथमिकतामा परेका छन् । यही प्राथमिकताका आधारमा कर्णाली प्रदेशमा पनि खोप अभियान सञ्चालन गरिएको छ । दोस्रो चरणमा समेत पालो नआएपछि शिक्षकहरूले असन्तुष्टि पोखेका हुन् ।
श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा अध्ययनरत आशुतोष भट्टराईले आफूहरू भौतिक रूपमै विद्यालयमा उपस्थित भइ अध्ययन गर्ने हुनाले कोरोनाको जोखिममा रहेको बताए । ‘विद्यालयमा चाहेर पनि दूरी कायम गर्न सक्ने अवस्था हुँदैन । खोप त विद्यार्थीलाई पनि लगाउनुपर्ने हो,’ उनले भने, ‘खोइ हामीलाई किन बेवास्ता गरिएको हो ?’ सरकारले विद्यालयलाई खोपको प्राथमिकतामा नराख्दा समुदाय खतरामुक्त हुन नसक्ने उनले बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १८ वर्ष मुनीको उमेर समूहलाई कोरोनाविरुद्धको खोप दिन नमिल्ने जनाएको छ । जसका कारण विद्यार्थीहरू खोपको प्राथमिकतामा नपरेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव लोकनाथ पौड्याल बताउँछन् । ‘१८ वर्ष मुनीका व्यक्तिलाई खोप लगाउन नमिल्ने भएकाले विद्यार्थीहरू खोपको प्राथमिकतामा नपरेका हुन्,’ उनले भने, ‘शिक्षकको हकमा खोप लगाउनेबारे गृहकार्य भइरहेको छ ।’ उच्च शिक्षा तथा विश्वविद्यालयहरूमा अध्यनरत विद्यार्थीका लागि सरकारले खोपको तयारी गरिरहेको उनले जनाए । बालबालिकामा खोपको प्रभावकारिता र सुरक्षाको अनुसन्धान भइरहेकोले उक्त उमेर समूहलाई हाल यो खोप नदिइएको बताइएको छ ।
नेपाल राष्ट्रिय माध्यमिक विद्यालय वीरेन्द्रनगर–६ का प्रधानाध्यापक गणेशकुमार न्यौपानेले विद्यालयका शिक्षकलाई जोखिम समूहमा राखेर खोपमा प्राथमिकता दिइनुपर्ने जनाए । शिक्षकहरूलाई खोप दिइँदा कम्तीमा विद्यार्थीहरू पनि कोरोना त्रासबाट मुक्त हुने अवस्था आउने उनको भनाइ छ ।
सरकारले जोखिम समूहको वर्गीकरण गरी क्रमशः सबै नागरिकहरूमा खोप सेवा पु¥याउने बताएको छ । सर्वसाधारणहरूमा उमेर र स्वास्थ्य अवस्था हेरी खोप दिने तयारी सरकारको छ । पहिलो प्राथमिकतामा ७५ वर्षभन्दा माथि र त्यसपछि मात्र ५४ देखि ७४ वर्ष उमेरका नागरिकलाई खोप दिइने बताइएको छ । जोखिमकाबीच विद्यालय सञ्चालन गरिरहेका शिक्षकहरूलाई भने छिट्टै खोप लगाउनेबारे कुनै तयारी गरिएको देखिएको छैन । शिक्षकहरूले कोरोना भाइरसविरुद्धको खोपबाट आफूहरूलाई वञ्चित गरिएको भन्दै गुनासो गरेका छन् ।
सबै नागरिकलाई पुग्ने गरी खोपको परिमाण एकै पटक उपलब्ध हुन नसक्ने भएकाले सरकारले कोरोनाविरुद्धको खोप प्राथमिकताका आधारमा चरणबद्ध रूपमा दिन थालेको सरकारी अधिकारीहरूको भनाइ छ । जोखिम वर्ग, संक्रमितहरूको मृत्युदर तथा सिकिस्त हुने दरका आधारमा खोप पाउने लक्षित समूहको प्राथमिकीकरण गरिएको हो ।
प्रकाशित मितिः ५ फाल्गुन २०७७, बुधबार ०७:३३
साझा बिसौनी ।