आजदेखि दोस्रो चरणको खोप

कर्णाली प्रदेशमा कोरोना भाइरस ‐कोभिड–१९) विरुद्धको दोस्रो चरणको खोप लगाइँदै छ । पहिलो चरणमा स्वास्थ्यकर्मीलाई खोप लगाइसकिएपछि दोस्रो प्राथमिकतामा परेकाहरूलाई आजदेखि खोप दिन लागिएको हो ।

सरकारले यो चरणमा यसअघि छुटेका स्वास्थ्यकर्मीलगायतका अग्रपंक्तिमा खटिने व्यक्तिहरू, स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरू, निजामती कर्मचारी, जनपद प्रहरी, बोर्डरमा खटिने प्रहरी र बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीलाई खोप लगाउने जनाएको छ । यस्तै, प्राधिकरण तथा संस्थानमा कार्यरत कर्मचारी, अदालत, सरकारी वकिल कार्यालयमा कार्यरत र पत्रकारहरूलाई दोस्रो चरणको खोप लगाइनेछ । सरकारले लक्षित समूहलाई तोकिएको खोप केन्द्रमा गएर खोप लगाउन सूचना जारी गरेको छ ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार अहिले खोप लगाउने केहीको तथ्याङ्क संकलन भइरहेको छ । शनिवारसम्म २० हजारको तथ्याङ्क संकलन गरिएको र बाँकीको संकलन भइरहेको निर्देशनालयका स्वास्थ्य प्राविधिक बसन्त श्रेष्ठले जानकारी दिए । कर्णालीमा पहिलो चरणमा झण्डै नौ हजारले खोप लगाएका थिए । कोरोनाविरुद्धको खोप यही फागुन ८ गतेसम्म लगाइने छ ।

प्रदेशमा अहिलेसम्म कोरोना संक्रमण हुनेको संख्या सात हजार पाँच सय ४२ पुगेको छ । तीमध्ये सात हजार तीन सय ३७ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणका कारण ३१ जनाको मृत्यु भएको छ ।

प्रकाशित मितिः   २ फाल्गुन २०७७, आईतवार ०८:५१