स्थापना दिवसमा विविध कार्यक्रम

कर्णाली प्रदेश सरकार स्थापना भएको तीन वर्ष पुगेको छ । यस अवसरमा सरकारले विभिन्न कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाउन सुरू गरेको छ । सरकारले दिवसका अवसरमा सम्मान तथा विभिन्न प्रतियोगिताहरू सञ्चालन गर्ने भएको हो । दिवसमा शहिदका परिवार तथा कोभिड रोकथाम र नियन्त्रणमा खटिने व्यक्तिलाई सम्मान गरिने छ भने फुटबल तथा ब्याटमिन्टन प्रतियोगितारू सञ्चालन हुनेछन् । प्रदेश सरकारले ३ फागुनमा औपचारिक समारोहको आयोजना गर्ने भएको छ ।

सोही अवसरमा शुक्रवार प्रदेश सरकार र खेलाडीहरूबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको थियो । वीरेन्द्रनगरस्थित नवनिर्मित रंगशालामा भएको खेलमा एन्फा–११ ले कर्णाली सरकारलाई ३–१ गोल अन्तरले हराएको छ । खेलमा प्रदेश सरकारका मुख्यमन्त्री मेहन्द्रबहादुर शाही, मन्त्रीहरू, पूर्व राष्ट्रिय फुटबल टिमका कप्तान तथा एन्फा उपाध्यक्ष उपेन्द्रमान सिहंसहित अन्य राष्ट्रिय र स्थानीय खेलाडीहरूको सहभागिता रहेको थियो ।

कोभिड–१९ पछि सुस्ताएको फुटबल गतिविधिलाई चलाएमान बनाउन मैत्रीपूर्ण प्रतियोगिता आयोजना गरिएको जनाइएको छ । कोरोना कहरका कारण गत चैत १० देखि बन्द भएका खेलकुद गतिविधि पुनः सञ्चालन गर्न थालिएका पनि जिल्ला फुटबल संघ सुर्खेतले जनाएको छ ।

प्रकाशित मितिः   १ फाल्गुन २०७७, शनिबार ०९:०७