प्रभावकारी प्रविधि

भौगोलिक विकटताले कर्णाली प्रदेशलाई धेरै क्षेत्रमा पछि पारेको छ । पूर्वाधार विकासमा पछि छ । स्वास्थ्य सेवामा सहज पहुँच छैन । स्वास्थ्य संस्थाहरू छन् तर सेवा सुलभ छैन । एकातिर दरबन्दी अनुसार चिकित्सक छैनन् भने अर्कोतिर स्वास्थ्य पूर्वाधारको अभाव उस्तै छ । भौगोलिक विकटताका कारण चिकित्सकहरूको रोजाइँमा कर्णाली पर्दैन । दुर्गमका स्वास्थ्य संस्थामा विशेषज्ञ मात्र होइन स्वास्थ्यकर्मी भेट्नसमेत मुस्किल छ । यी यावत समस्याहरूकै कारण कर्णालीका नागरिक विकटतासँगसँगै रोगसँगको संघर्षमा सधैं रहने गर्दछन् ।

कयौं यस्ता बस्ती छन् जहाँ विशेषज्ञ सेवाको त कल्पना गर्न समेत सकिदैन । आधारभूत स्वास्थ्य सेवा समेत पुगेको छैन । कतिपय स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीको संख्याभन्दा बढी रिक्त दरबन्दी संख्या बढी छ । विशेषज्ञ चिकित्सकहरूको उपलब्धता अझ न्यून छ । तथ्याङ्क नै हेर्ने हो भने पनि प्रदेशमा ६६ प्रतिशत स्वास्थ्यकर्मीको दरबन्दी रिक्त छ । एक सय ३३ जना विशेषज्ञ चिकित्सकहरूको दरबन्दी रहेकोमा हाल २८ जना चिकित्सक मात्र कार्यरत छन् । यस हिसाबले सामान्यतया प्रदेशमा एक जना चिकित्सकले झण्डै आठ हजारलाई सेवा दिनुपर्ने अवस्था छ । चिकित्सकसँगै नर्स, पारामेडिक्स र महिला स्वास्थ्य स्वयम्सेविकाहरूको कर्णालीमा निकै अभाव छ ।

कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्रको सुधार अपरिहार्य छ । यसका लागि गर्नुपर्ने काम धेरै छ । तर केही सकारात्मक संकेतहरू पनि देखिएका छन् । स्वास्थ्य जनशक्ति र पूर्वाधारको समस्या झेल्दै आएको प्रदेशमा पछिल्ला दिनमा भने वैकल्पिक माध्यमबाट चिकित्सकीय सेवा दिन थालिएको छ । जनशक्ति अभावमा स्वास्थ्य सेवा लिनबाट वञ्चित नागरिकहरूलाई लक्षित गरी टेलिमेडिसिन सेवा दिन थालिएको हो । दुर्गमका स्वास्थ्य संस्थामा आउने बिरामीले केही समययता भर्चूअल माध्यमबाट विशेषज्ञ सेवा पाउन थालेका हुन् । दूरीका हिसाबले चिकित्सक टाढा भए पनि उनीहरूले इन्टरनेट र टेलिफोनको माध्यमबाट दुर्गमका बिरामीलाई सेवा दिइरहेका छन् । टेलिमेडिसिन सुरू भएपछि बिरामीलाई सहज भएको र स्वास्थ्य सेवाको पहुँचमासमेत वृद्धि हुँदै गएको चिकित्सकहरूले बताएका छन् ।

स्वास्थ्य सेवामा पहुँच बढाउन तथा बिरामीको सहजताका लागि थालिएको अभियान टेलिमेडिसिन सेवा प्रभावकारी बन्दै गएको छ । प्रविधिको प्रयोगबाट सबै नागरिकले स्वास्थ्य सेवा लिन पाउने अवस्था भने अझै पनि छैन । चिकित्सक अभावमा विशेषज्ञ सेवा लिनबाट वञ्चित केही नागरिकलाई भए पनि राहत मिलेको छ । सरकारले दुर्गममा रहेका सीमान्तकृत समुदायलाई लक्षित गरी प्रदेश अस्पतालकै जसरी विशेषज्ञ सेवा दिने उद्देश्यले टेलिमेडिसिन सुरू गरेको थियो । अहिले यो सेवा दिन कर्णाली प्रदेश अस्पतालसँग ६ जिल्लाका दश वटा स्थानीय तह जोडिएका छन् । भौगोलिक विकटताका साथसाथै थोरै जनशक्तिले धेरै नागरिकलाई सेवा दिन सजिलो छैन । विकट ठाउँमा विशेषज्ञ चिकित्सक अभावमा नागरिकले सेवा नपाउने समस्या छ । यो प्रविधिले नागरिकले आफू बसेकै ठाउँबाट सेवा लिन सक्छन् । त्यसैले पनि कर्णालीमा मेडिसिन सेवा प्रभावकारी हुने देखिन्छ ।

प्रकाशित मितिः   २९ माघ २०७७, बिहीबार ०९:३१