६ महिनामा डेढ अर्ब कारोबार

कर्णालीमा पहिलोपटक तरकारी र बालीवस्तुको दैनिक कारोबार विवरण राखिएको हो

कर्णालीमा पहिलोपटक तरकारी र बालीवस्तुको दैनिक कारोबार विवरण राखिएको हो

कर्णाली प्रदेशमा फलफूल र तरकारी बालीवस्तुको आर्थिक कारोबारको तथ्याङ्क राखिएको छ । चालु आर्थिक वर्षदेखि प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित तरकारी तथा फलफूल व्यवसायको कारोबारको विवरण राख्न थालिएको हो । संकलित विवरणअनुसार ६ महिनाको अवधिमा एक अर्बभन्दा बढी कारोबार भएको पाइएको छ ।

कृषि विकास निर्देशनालय कर्णाली प्रदेशले तरकारी बजारमा भएको कारोबारको तथ्याङ्क संकलन गरेको छ । चालु आर्थिक वर्ष २०७७/०७८ को यो
अवधिमा तरकारी तथा फलफूलमा एक अर्ब ३६ करोड ७९ लाख दुई हजार रूपैयाँको कारोबार भएको हो । निर्देशनालयका अनुसार वर्षे तथा विभिन्न हिउँदे तरकारीको कारोबारलाई तथ्याङ्कमा समेटिएको हो ।

निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायले तरकारी बीउ, वर्षे मकै, बदाम, बेसार, अलैंची, कन्यच्याउ, लिची, आँप, सुन्तला, वर्षे तथा हिउँदे आलु, जुनार (मौसम), अदुवा र लसुनमा भएको कारोबारको विवरण संकलन गरिएको छ । ‘हामीले सुर्खेतमा पहिलो पटक यसरी कारोबारको विवरण राखेका हौं,’ उनले भने, ‘यो फलफूल र तरकारी बालीवस्तुको आर्थिक कारोबार हो ।’ उत्पादित बालीवस्तुबाट भएको आन्तरिक तथा बाह्य कारोबार कति भएको छ भन्ने कुरा यो प्रारम्भिक तथ्याङ्कले देखाएको उनले बताए । कर्णालीका अन्य जिल्लाहरूमा उत्पादित तरकारी तथा बाली वस्तुको पनि मुख्य कारोबार हुने बजार वीरेन्द्रनगर हो । पछिल्लो समय प्रदेशमा उत्पादन हुने कृषि वस्तुको निर्यात पनि राम्रो हुँदै गएको बताइएको छ ।

प्रकाशित मितिः   २८ माघ २०७७, बुधबार ०९:४६