स्वास्थ्य सेवा सुधारमा जोड

स्वास्थ्य सेवामा नागरिकहरूको पहुँच अझै पनि सन्तोषजनक नभएको सरोकारवालाहरूले बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेशले शुक्रवार वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन् । मानवअधिकार आयोगले अहिले कर्णालीका विभिन्न जिल्लामा स्वास्थ्य अवस्थाको पहुँचको विषयमा अनुगमन गरिरहेको छ । मुख्यगरी दरबन्दी अनुसार जनशक्ति पदपूर्ति हुन नसक्दा स्वास्थ्य समस्या हुने गरेको पाइएको छ । पछिल्लो समय कोरोनाका कारण झनै नागरिकहरूले सहज रूपमा सेवा लिनबाट वञ्चित भएको आयोगले जनाएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काले कर्णालीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिँदै यहाँ सबैभन्दा ठूलो समस्या जनशक्तिको रहेको बताए । दरबन्दी अनुसार पदपूर्ति हुन नसक्दा सेवा प्रवाहमा समस्या रहेको उनी बताउँछन् । प्रदेशमा एक सय ३३ चिकित्सकहरूको दरबन्दी रहेकोमा हाल २८ जनाको मात्रै पदपूर्ति भएको उनले जानकारी दिए । यस्तै अवस्था अन्य स्वास्थ्यकर्मीहरूको दरबन्दी पदपूर्तिमा पनि रहेको उनको भनाइ छ ।

प्रदेशमा स्वास्थ्यकर्मीहरूको एक तिहाई दरबन्दी मात्रै पदपूर्ति भएको छ । निर्देशनालयका अनुसार ६२ प्रतिशतले स्वास्थ्य संस्थामा आएर प्रसूति सेवा लिने गरेका छन् । समयमै उपचार नपाएर ज्यान गुमाउने सुत्केरीको संख्या अझै पनि धेरै छ । चालु आर्थिक वर्षमा मात्रै १० जना सुत्केरीको ज्यान गएको निर्देशक खड्काले बताए । बाल स्वास्थ्य, न्यूमोनिया र झाडापखाला नियन्त्रणमा कर्णाली प्रदेश निकै पछि रहेको छ । स्वास्थ्य क्षेत्रमा केही सुधारका प्रयासहरू भने भएको सरकारी अधिकारीहरूले बताएका छन् । सबै नागरिकलाई स्वास्थ्य सेवाको सहज पहुँचमा ल्याउन सरकारले लगानी बढाउनुपर्ने सरोकारहरूले बताएका छन् ।

यस्तै, आयोगको कार्यालय कर्णाली प्रदेशका प्रमुुख बुद्धनारायण साहानीले प्रदेशमा विशेषज्ञ चिकित्सक निकै कम भएको पाएको बताए । कार्यालयले हाल प्रदेशमा स्वास्थ्य अधिकारको विषयमा अनुगमन गरिररहेको जानकारी दिँदै अनुगमन पश्चात तीनै तहका सरकारलाई आवश्यक सुझाव दिइने उनले बताए । आयोगको टोलीले मुगु, हुम्ला र डोल्पाबाहेक प्रदेशका सात वटा जिल्लामा स्वास्थ्य अधिकारको अनुगमन गरिसकेको छ । अनुगमनका क्रममा स्वास्थ्य जनशक्तिको अभावले नै सेवा प्रवाहमा समस्या देखिएको पाइएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, प्रदेश आयुर्वेद अस्पतालका प्रमुख डा. शंकरप्रसाद रिजाल, नागरिक समाजका अगुवा पीताम्बर ढकाललगायत सरोकारवाला निकायको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः   २४ माघ २०७७, शनिबार ०८:४१